साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधामलगायत चितवनका शिवालयहरूमा बिहानैदेखि सुरु भएको छ। मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर मनाउँछन्।
धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथि पवित्र दिनको रूपमा सोमबारलाई लिइन्छ।
त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजन देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए। उनको अनुसार आइतबार साँझ आएका भक्तजनले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनको अहिले देवघाटमा घुइँचो छ।
देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर, कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरूमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजन पूजाआजामा व्यस्त छन्। यो मेलालाई बोल ओम मेलाको रूपमा पनि मनाइन्छ। महिला तथा पुरुष व्रतालु पहेँलो बस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन्।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि भक्तजन मेला भर्न आउँछन्। देवघाटमा अहिले धूमपान र मध्यपान निषेध गरिएको छ। यसवर्ष देवघाटलाई प्लास्टिकमुक्त बनाउने अभियानका साथ निषेध गरिएको निर्देशक बरालले बताए। उनले मेलामा आउँदा अबिर, अक्षता, धूपबत्ती ल्याउन प्रयोग गरिने प्लास्टिकका कारण नदी प्रदूषित बनेको भन्दै आगामी दिनमा कडाइका साथ निषेध गरिने जानकारी दिए।
देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको स्थानीय मोहन पोखरेलले बताए। साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ। यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्छन्, भने अविवाहिता महिलाले असल श्रीमानको कामना गर्छन्। यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्छन्। सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवक पनि परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।
यसवर्ष साउन महिनाभर देवघाट आउने भक्तजनको तथ्याङ्क सङ्कलनको काम पनि गरिएको समितिले जनाएको छ। रासस
प्रकाशित: ५ श्रावण २०८२ ०८:०५ सोमबार





