प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन्।
नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा बिहीबार उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् । संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ। निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार पुगेको थियो।
सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ। विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन्। तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ।’
टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ताहरु पनि सहभागी थिए।
प्रकाशित: १७ पुस २०८२ १८:५४ बिहीबार





