अविरल वर्षासँगै बाढी र डुबान खेप्दै दशहारा (दसैँ) पर्व सकेका मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तिलाई बिर्सँदै दीपावली र छठसहितका मुख्य पर्वको तयारीमा जुटेका छन्।
दीपावलीमा बस्तीका सडक, ढल सरसफाइ गर्दै घर सिङ्गार्ने मैथिल परम्पराअनुसार यतिखेर यहाँका बस्तीमा पर्वको उल्लास छाउँदै छ। सबै घरमा दीपावली र त्यसलगत्तै आउने निष्ठाको पर्व छठको तयारी देखिन्छ। उज्यालोको पर्व मानिने दीपावली र छठको तयारीले मिथिला क्षेत्र पर्वमय बन्दैछ।
‘दशहारा त बाढी, डुबानबीचमै बित्यो, मन खोलेर रमाइलो गर्न पाइएन। वर्ष दिनमा आउने पर्व हुन्, अब दीपावली र छठ राम्ररी मनाउन पाइयोस् भन्ने छ,’ घररङरोगनमा व्यस्त भङ्गाहा–५ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्छिन्, ‘काममै दलिएर भए पनि रमाउने भनेको चाडपर्वमै हो।’ बस्तीमा राष्ट्रिय महत्वका यी पर्वको तयारीले मिथिला क्षेत्रमा चहलपहल निकै बढेको छ।
कार्तिक कृष्ण त्रयोदशीका दिन ‘धनतेरस’ मनाएर सुरु गरिने मिथिलाको दीपावली पर्व कात्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ मनाएर सम्पन्न गर्ने परम्परा छ। दीपावलीमा घरगाउँ झिलीमिली बनाउने यहाँको स्थापित परम्पराले केही दिन अगाडिदेखि नै पर्वको तयारी सुरु हुने गरेको छ। कार्तिक कृष्णपक्षको एकतिहाइ कटिसक्दा अब पर्वले छ्यप्पै छोपेको मैथिल बताउँछन्।
‘दीपावली र छठमा पूजाका सामग्री राखनधरनका लागि माटो मुछेर बनाइएका र बाँसको कप्टेराले बुनिएका नयाँ भाँडाको प्रयोग गरिने चलन छ। मैथिल यस प्रयोजनका लागि आवश्यक पर्ने माटाका तौला, छ्याँची, कलशको अङ्खरा, दीपमालिका गरिने दियौरी तथा बाँसको कप्टेराले बुनिएका ढाकी, छिटी, नाङ्लो, चाल्नोसहितका सामानको जोहोमा लागेका छन्।
‘पवनी (पर्व) त अब आइ नै सक्यो माटाका भाँडा बनाउने कुम्हाल र बाँसको कर्ची (कप्टेरा)ले छिटीसहितका सामग्री बुन्ने बिनहरूसँग सम्पर्क गरेर टुङ्गो गरिसकेकी छु,’ मटिहानी–९ बहुअर्बाकी गृहिणी उषा ठाकुर भन्छिन्, ‘अब घर लिपपोत र रङरोगन थालिहाल्नु छ।’ पर्वको तयारीसँगै बाढीले लडाएका धानका बोट उठाउने, तरकारी बाली स्याहार्ने धमाधमले यतिखेर मैथिल व्यस्त देखिन्छन्। खासगरी तरकारीखेतीका किसानलाई भ्याइनभ्याइ छ।
‘चाडपर्वले छोपिसक्यो, कामहरू भ्याइनभ्याइ छन्,’ भङ्गाहा–४ का किसान गङ्गाराम महतो भन्छन्, ‘भाण्टा र भिण्डी (रामझिगनी) दुईदुई दिनको पालोमा टिपेर बजार लानपर्छ, एक दिन ढिला भए छिप्पिन्छ।’ चाडपर्वको मेसो पनि यिनै फसल बेचेर त मिलाउन पर्ने हुँदा झन् बढी व्यस्त हुनुपरेको महतोको भनाइ छ। मैथिलका खेतीपातीदेखि सबै व्यावसायिक काम अहिले पर्वकेन्द्रित बनेका छन्।
यहाँ बर्खेधान खेतमा पाकेर पहेँलपुर छ। यो धान दीपावलीअघि थन्क्याइसक्नुपर्ने हुन्छ। दीपावली र छठका लागि बजार लगिनुपर्ने तरकारी बालीको स्याहार किसानको नियमित तालिकाकै काम हुन्। दीपावली र छठमा कतिपय कृषिउपज विधिमै उपयोग गरिने परम्पराले किसान अहिलेदेखि नै त्यसको तारतम्य मिलाउन लागिपरेका छन्। खासगरी छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितका बोट, ज्यामिर र अन्य कन्दमूल पूजा सामग्री नै हुन्छन्। छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुने गरिबका उत्पादनले पनि बजार पाउँछन्।
यसैगरी बाँसको चोया र कप्टेराले बुनिने डाला, छिटी, नाङ्लो र चाल्नोसहितका राखनधरनका सामग्री बनाउने बिन र डोम समुदायलाई अहिले कामको चटारो छ। यसैगरी माटाका भाँडा बनाउने कुम्हाल रातदिन नभनी काममा जुटेका छन्। अब अन्य बेला कम प्रयोग हुने यस्ता भाँडा दीपावली र छठमा मात्र बिक्री हुने हुँदा अहिले यिनीहरूको व्यस्तता बढेको हो।
ससाना नानीहरूको रहर मेट्न पनि अभिभावकले दीपावली र छठ भनेर थुमथुम्याएका हुन्छन्। यसले बालबालिका र किशोरकिशोरी यो चाड कहिले आउँला भनेर पर्खेका हुन्छन्। उमेरले १५ वर्ष नाघेका किशोरकिशोरी रमाइलोका लागि पिङ बनाउने र चङ्गा उडाउने तयारी गर्दैछन्। पर्वको उमङ्ग किशोरवय टेक्दै गरेका बालबालिका, किशोर र युवामा बढी देखिन्छ। बस्तीमा सडक, ढल सरसफाइमा बस्तीका बासिन्दा आफैँ जुटेका छन्। जताततै पर्वले मिथिला उमङ्गित देखिएको छ। रासस
प्रकाशित: २६ आश्विन २०८२ ०९:५६ आइतबार





