वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको वार्षिक रथयात्राका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल र भारतका हजारौं श्रद्धालु सहभागी हुने अनुमान गरिएको उक्त रथयात्रा शुक्रबार भव्यताका साथ निकाल्ने तयारी भइरहेको छ।
श्री गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिका संयोजक श्यामकुमार पोखरेलका अनुसार, नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राखिएको हो। ‘शुक्रबार मन्दिरमा विशेष पूजापछि रथयात्रा सुरु हुनेछ, यो हाम्रो साझा आस्थाको पर्व हो,’ उनले भने।

रथयात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदीले स्थलगत निरीक्षण समेत गरेका छन्।
शोभायात्राको समय तथा शोभायात्राको रुटका साथै भक्तजनले अपनाउने विधि र तरिकाबारे पनि मन्दिर संचालकसँग सल्लाह गरिएको डिआइजी चतुर्वेदीको भनाइ छ।
डिआइजी चतुर्वेदीले सबै किसिमले शोभायात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाको पर्याप्त व्यवस्था गरिएको र मन्दिर संचालक समितिसित समन्वय गरेर सुरक्षाको सम्पूर्ण तयारी गरिएको जानकारी दिए।
डीआईजी चतुर्वेदीले सुरक्षामा कुनै कमी हुन नदिन र यात्रा अवधिभर उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको बताए। ‘हामीले मन्दिर व्यवस्थापन समितिसँग पूर्ण समन्वय गरेर सुरक्षा योजना बनाएका छौं, यात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी प्रतिबद्ध छ,’ उनले भने।
पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहितको टोलीले पनि मन्दिर परिसर, रथयात्राको रुट र अन्य तयारीबारे जानकारी लिएको छ।
पर्साका प्रहरी प्रमुख एसपी मिश्रले पनि गहवामाईको शोभायात्रा आस्थाको प्रतीक भएकाले यसलाई शान्तिपूर्ण बनाउन प्रहरी संवेदनशील रहेको बताए। उनले भक्तजनहरूलाई ढुक्क भएर तथा आवश्यक सावधानी अपनाएर रथयात्रामा सहभागी हुन आग्रह गरेका छन्।
प्रकाशित: ११ असार २०८२ २१:२१ बुधबार





