पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन थालेका छन्। कैलाश मानसरोवर जान शनिबार १२ भारतीय पर्यटक यहाँ आइपुगेका हुन्।
यस वर्ष पहिलोपटक विदेशी पर्यटक कैलाश मानसरोवर दर्शनका लागि आएका सिमकोट विमानस्थलमा राजस्व सङ्कलनमा खटिएका दिपेन्द्र भण्डारीले जानकारी दिए। उनीहरू काठमाडौंबाट केरुङ नाका भएर हुम्ला आइपुगेका हुन्। राजस्व सङ्कलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार एक सय सङ्कलन गर्ने गरिएको छ।
हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर अर्को दिन सिमकोटबाट चीनसँग जोडिएको सीमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर बढी विदेशी पर्यटक आउने अनुमान गरिएको छ। रासस
प्रकाशित: २५ जेष्ठ २०८२ ०६:४१ आइतबार





