अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बिचमा मन्दिर । नाकै ठोक्किने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तव्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको वास । मालिका, रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मालिकाधुरीमा रघुगंगा गापा– ६ ठाडाखानीकी थममाया पाइजा मन्दिर बनाउन जंगलमै वास बसिरहेकी छन् । म्याग्दी जिल्लाकै प्रख्यात धार्मिकस्थल मालिकाधुरीमा बिहानैदेखि अबेरसम्म मन्दिर निर्माणमै व्यस्त हुन्छिन् ।
हिउँ कुल्चिँदै मालिकाधुरीमा उक्लिएकी रेशु पाइजाले पनि जंगलमै वास बसेर मन्दिर बनाउन लागेको पाँच महिना पुग्यो । परिवारको एकल लगानीमा स्थानीयलाई नै रोजगारी दिएर आमा–छोरीले मालिका, कालिका, जालपा, शिव मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । मालिकाधुरीमा दिन–रात नभनी मन्दिर बनाउन खटिएकी थममायाँलाई अमेरिकामा रहेका पति मोतीबहादुर पाइजाले साथ दिएका छन् ।
मन्दिर बनाउन अहिलेसम्म २२ लाख खर्च भएको र अब तीन लाख खर्च हुने अनुमान गरिएको थममायाँको भनाइ छ । ‘मालिकाधुरीको जंगलमा रात बितेको धेरै भयो, अब हाम्रो परिवारको सपना पूरा हुँदै छ’, थममायाँले भनिन् । त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ वर्षौंदेखि मालिकाधुरी पुग्ने गरेकोमा अहिले मन्दिर तथा आसपासका क्षेत्रमा भक्तजनलाई सहज हुने गरी काम गरिरहेको बताइन् । मन्दिरनजिकै चट्टानमा गणेशको मन्दिरसमेत मर्मत गरिएको छ । घरायसी काम तथा रासनपानी ल्याउन आमा–छोरी आलोपालो गाउँ जान्छन् । बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीले जाडोयाम, मुसलधारे वर्षासहितको चट्याङ, वन्यजन्तुको समेत प्रवाह नगरी आमा–छोरीले मन्दिर बनाउन थालेपछि मन्दिरमा पुग्ने भक्तजनसमेत दंग छन् ।
‘मन्दिर बनाउँदै गर्दा धेरै भक्तजनले खुसी मान्नुभएको छ । उहाँहरूको मनोकामना पूरा होस् भन्दै प्रार्थना गर्छौं’, छोरी रेशु पाइजाले भनिन् । उनले आमा–बुबाको मन्दिर बनाउने योजना बनाएपछि साथ दिएको बताइन् । उनले दैनिकजसो मन्दिरमा भइरहेको काम अमेरिकामा बुबालाई भिडियो र फोटो पठाउँछिन् । मन्दिरसँगै आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन आगामी दिनमा पनि श्रमदान गर्ने बताइन् ।
मालिकाधुरीमा नयाँ मन्दिर बनेपछि चिटिक्क देखिएको छ । मन्दिर बनाउन जंगलमा बसेर आमा–छोरीले गरेको काम प्रशंसनीय रहेको रघुगंगा गाउँपालिका– ६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । ‘उहाँहरूको लगानी र मेहनतको जति नै प्रशंंसा गरे पनि कमी हुन्छ । धार्मिक क्षेत्रका लागि धेरै गर्नुभएको छ’, गाउँपालिकाका प्रवक्तासमेत रहेका शेरपुञ्जाले भने । समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा बर्सेनि आउने भक्तजनलाई सडक सञ्जाल, सत्तलसहितको सुविधाले सहज भएको छ ।
मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले सतीदेवीको मृत शरी बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बिचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाका रूपमा पुजिन्छ । मन्दिरबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ«े, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौं हिमशृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेचा देखिन्छन् ।
मालिकाधुरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाका अनुसार चण्डिपूर्णिमा, जेष्ठ पूर्णिमा, भाइटीकामा पूजाआजा हुन्छ । एकदशक अगाडिसम्म पूजाआजाका लागि पुग्ने भक्तजन ओढार र खुला आकाशमा रात बिताउने गरेकोमा अहिले सत्तल, खानेपानी र शौचालयको सुविधाले सहज भएको छ । कम्तीमा तीनपटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ ।
विगत लामो समयदेखि पूजा गरिँदै आएको भए पनि २०२५ सालमा मात्रै मालिकामा सामान्य मन्दिर बनाइएको थियो । मालिका र रघुगंगा गाउँपालिकाले एकसाथ मालिकाधुरीलाई लक्षित गरी सडक सञ्जाल विस्तार गरिरहेको छ । रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाइवाङ, हिँदी र मालिका गाउँपालिकाको दरबाङ, उपल्लो दुखु हुँदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ–पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुँदै सडक पुगे पनि सबै क्षेत्रबाट करिब डेढ घन्टाको यात्रा गरेपछि मालिका पुगिन्छ ।
प्रकाशित: ९ जेष्ठ २०८२ २०:३७ शुक्रबार





