अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राजधानी कीभ र अन्य नजिकका सहरहरूलाई एक हप्ता आक्रमण नगर्ने सहमति जनाएको दाबी गरेका छन्।
‘मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई यो असाधारण चिसोको समयमा एक हप्तासम्म कीभ र अन्य सहरहरूमा गोलीबारी नगर्न आग्रह गरेको छु,’ ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा भने, ‘पुटिन यसमा सहमत भए।’
क्रेमलिनबाट भने पुटिनले यस्तो विराममा सहमति जनाएकोबारे कुनै जानकारी आएको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ऊर्जा सुविधामा हमला रोक्ने आपसी छलफलबारे टिप्पणी गर्न अस्वीकार गरे।
रुसले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा हमला गर्दै आएको छ, जसले युद्धको प्रतिरोध कमजोर बनाउने र जनतालाई जाडोमा गर्मीबिना कष्ट दिने लक्ष्य राखेको छ। कीभमा शुक्रबारदेखि कडा चिसो सुरु भएर अर्को हप्तासम्म रहने अपेक्षा छ। केही ठाउँमा तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म झर्ने चेतावनी जारी भएको छ।
ट्रम्पको दाबीपछि धेरैले ‘फोन खेर नफाल, तिमीले त्यो पाउने छैनौ’ भन्दै प्रतिक्रिया दिएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पको प्रयासको धन्यवाद दिँदै कीभ र आसपासका क्षेत्रमा रूसी सैन्य कारबाही विरामको ‘सम्भावना’ को स्वागत गरेका छन्। ‘विद्युत् आपूर्ति जीवनको जग हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।
ट्रम्पले फोनवार्ता कहिले गरेको वा युद्धविराम कहिलेदेखि लागू हुने भन्ने बताएनन्। ह्वाइट हाउसले पनि यसबारे स्पष्ट जवाफ दिएको छैन। एजेन्सी
प्रकाशित: १६ माघ २०८२ ०९:५१ शुक्रबार





