‘पञ्चायती सत्ताको भयले सत्यलाई दबाउन खोजिएको समय गणतन्त्रको आवाज बनेर उभिनुभएको नाम हो– सहिद दुर्गानन्द झा। नागरिक अधिकार, पहिचान र न्यायको प्रश्न उठाएका कारण आजकै दिन फाँसी दिइयो। उहाँको सहादत केवल एक व्यक्तिको अन्त्य होइन, यो मौनताविरुद्धको प्रतिरोध थियो र गणतान्त्रिक चेतनाको अमिट दस्ताबेज। आज उहाँको सहादत दिवसमा निडर विचार, असहमति र लोकतान्त्रिक साहसका प्रतीक सहिद दुर्गानन्द झाप्रति हार्दिक श्रद्धाञ्जली।’ नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन कुमार थापाले बिहीबार सहिद दुर्गानन्दलाई यसरी सम्झे। बिहीबार (माघ १५ गते) झाको ६२औं स्मृति दिवस थियो।
नगराइन नगरपालिका–९ जटहीमा सहिद दुर्गानन्द झाको नाममा प्रवेशद्वार निर्माण गरिएको छ र द्वारको माथिल्लो भागमा उनको प्रतिमा राखिएको छ। नगराइन नगरपालिका धनुषा–३ मा पर्छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेकी जुलीकुमारी महतो, जनता समाजवादी पार्टी (जसपा) नेपालका परमेश्वर साह, राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का मनीष झालगायतले जटही पुगेर सहिद दुर्गानन्द झालाई नमन गरी उनको योगदानबारे चर्चा गरेका थिए। यसअघि यतिका उच्च नेताहरू स्मृति दिवस पारेर झालाई सम्झेको यस भेगका जनतालाई थाहा छैन। संयोग नै मान्नुपर्छ, उनको स्मृति दिवस चुनावी समयमा पर्न गयो। यही बहानामा उपल्ला नेताहरूले झाको सम्झना गरे।
को हुन् दुर्गानन्द झा?
नेपालमा गणतन्त्रको बिगुल फुँक्ने पहिलो व्यक्तिका रूपमा दुर्गानन्द झालाई लिइन्छ। स्वर्गीय दुर्गानन्दले २०१८ सालमा तत्कालीन राजा महेन्द्रको गाडीमा बम फ्याँकेर पहिलो पटक नेपालमा गणतन्त्रका लागि आवाज उठाएका थिए। त्यसैलाई कसुर मान्दै तत्कालीन पञ्चायत प्रशासनले २०२० माघ १५ गते दुर्गानन्दलाई फाँसी दिएको थियो।
दुर्गानन्दले यसरी बलिदान दिएको ४५ वर्षपछि मात्रै देशमा गणतन्त्र आयो। देशमा गणतन्त्र आए पनि उनको बलिदानको सम्बोधन हुन सात वर्ष लागेको थियो। २०७२ फागुन १९ गते मात्रै राज्यले दुर्गानन्दलाई सहिद घोषणा गरेको थियो। दुर्गानन्दलाई सहिद त घोषणा गरियो तर गणतान्त्रिक सरकारको प्राथमिकताबाट भने अझै पनि ओझेल पर्दै आएका छन्। गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे, मधेसवादी दलहरूले सरकार चलाए तर दुर्गानन्दको परिवारले सहिद परिवारसरहको सम्मान पाउनबाट पनि ओझेल पारिएको अवस्था छ।
त्यतिबेला दुर्गानन्दले गणतन्त्रको माग गर्दै बम प्रहार गरे पनि राजा महेन्द्रको ज्यान नै लिन त्यसो नगरेको जानकारहरू बताउँछन्।
राजाको खिलाफमा चुइँक्क बोल्ने साहससम्म नगर्ने समयमा राजा चढेको गाडीमै बम खसालेर गणतन्त्रको बिगुल फुक्ने व्यक्तिको योगदानको सोसरहको कदर नहुनु दुःखद रहेको पुराना राजनीतिज्ञ खुसीलाल मण्डल बताउँछन्। ‘मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो, जसले नेपालमा गणतन्त्रको शंखघोष गरे, त्यसैको बलिदानको कदर गणतान्त्रिक मुलुकमा नहुनु विडम्बना हो,’ उनी भन्छन्, ‘त्यो बेला राजाबिनाको ‘तन्त्र’कल्पना गर्नु पनि अपराध करार हुने समय थियो। त्यसैमा राजामाथि नै बम फ्याँक्नु कम्ती साहस थिएन,’ मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्यतिबेला नै प्रदर्शन गरेका थिए।’ मधेसी भएकै कारण दुर्गानन्द सहिद घोषणा हुन ढिलाइ भएको उनको दाबी छ।
दुर्गानन्दको जीवन संघर्ष
१९९९ वैशाख १४ मा धनुषाको जटही गाउँमा (हाल नगराइन नगरपालिकाÞ–९) दुर्गानन्दको जन्म भएको थियो। उनी पिता देवनारायण र माता सुकुमारी देवी झाका एक्ला सन्तान थिए। दुर्गानन्दको पढाइ भारतको उमगाउँस्थित दिनदयाल हाई स्कुलमा भएको थियो। आमाबुवाले २०१७ सालमा दुर्गानन्दको विवाह मेट्रिक पढ्दै गर्दा काशीदेवी झासँग गरिदिए। दुर्गानन्द विवाहको वर्षगाँठ मनाएलगत्तै गर्भवती पत्नीलाई आमासँग छाडेर लोकतन्त्रको संघर्षमा होमिएका थिए। दुर्भाग्य उनको पहिलो सन्तान नै मृत जन्मियो।
२०१८ माघ १९ गते राजा महेन्द्र जनकपुर भ्रमणमा आए। त्यहीँ दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका थिए। कडा सुरक्षा पहरामा रहँदा पनि दुर्गानन्द महेन्द्र चढेको गाडीमाथि बम फाल्न सफल भएका थिए तर बम पड्केन।
२०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेर प्रजातन्त्रको हरण गरे। त्यसको विरोधमा कांग्रेसले आन्दोलन सुरुआत गरेको थियो। प्रजातन्त्रमाथि ‘कु’ गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्द आक्रोशित बने। यसै क्रममा दुर्गानन्द भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगेका थिए। त्यही उनले राजा महेन्द्रको जनकपुर आउँदा बम प्रहार गर्ने योजना बनाएका थिए।
२०१८ माघ १९ गते राजा महेन्द्र जनकपुर भ्रमणमा आए। त्यहीँ दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका थिए। कडा सुरक्षा पहरामा रहँदा पनि दुर्गानन्द महेन्द्र चढेको गाडीमाथि बम फाल्न सफल भएका थिए तर बम पड्केन। गाडीको सिसामा क्षति पुग्यो। त्यतिबेला बम प्रहार गरेर दुर्गानन्द त्यहाँबाट सकुशल भागेर उम्कन सफल भएका थिए। घटनाको दिन उनी जनकपुरमै सुरक्षित बसे। बिहानै उठेर भारतको उमगाउँ पुगेका थिए। त्यसरी भागेका दुर्गानन्दलाई उनकै नजिकका व्यक्तिले राजाबाट माफी दिलाइदिने भनेर बोलाएका थिए। जयनगरबाट रेल चढेर जनकपुर आउने क्रममा दुर्गानन्द बाटोबाटै गिरफ्तार भए। पक्राउ परेको भोलिपल्ट दुर्गानन्दलाई परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौं पठाइयो। काठमाडौंमा उनी केन्द्रीय कारागार चलान भए।
त्यतिबेला राज्यले जनकपुर बम काण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो। प्रतिवेदनअनुसार दुर्गानन्दमाथि मुद्दा चल्यो। राज्यले राजा माथि गाथगादी हालेको (राजालाई मार्ने उपक्रम) गरेको अभियोग दुर्गानन्दमाथि लगायो।
विशेष अदालतले २०१९ भदौ १९ गते कुनै सुनुवाइ नगरी मृत्युदण्ड (फाँसी) दिने फैसला सुनायो। न्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो। त्यतिबेला अदालतले दुर्गानन्दसहित उनका सहयोगी अरविन्द ठाकुर र दलसिंह थापालाई मृत्युदण्ड दिने सजाय सुनाएको थियो। २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले उक्त फैसला सदर गरे।
दुर्गानन्दलाई त्यो बेला राज्यको कानुनी व्यवस्थाविपरीत फाँसीको सजाय तोकिएको जानकारहरू बताउँछन्। ब्राह्मणलाई त्यो बेलाको कानुनी व्यवस्थाअनुसार मृत्युदण्डको व्यवस्था थिएन तर दुर्गानन्दको हकमा कानुन नै संशोधन गरेर फाँसी दिइएको राजनीतिक मण्डल बताउँछन्।
बिन्तीपत्र लेखेर राजासमक्ष माफी मागे दुर्गानन्दलाई पनि मृत्युदण्ड मिनाहा हुने प्रस्ताव राज्यले राखेको मण्डल सुनाउँछन्। ‘अन्तिमसम्म पनि राज्यले बिन्ती पत्र लेख्न भनिरह्यो। दुर्गानन्द झुक्न तयार हुनुभएन। माफी माग्नुभन्दा मृत्यु स्विकार्नुभयो,’ उनले भने। दुर्गानन्द हाँसाहाँसी फाँसी चढेको उनी बताउँछन्।
‘ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन नै संशोधन गरेर यो देशमा फाँसी पाउने पहिलो व्यक्ति दुर्गानन्द हुन्,’ उनी भन्छन्, ‘२०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो। जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।’
दुर्गानन्दलाई फाँसी दिँदा उनका दुई सहयोगी ठाकुर र थापा भने जोगिए। २०२० पुस १० गते राजदरबारबाट प्रेषित पत्रअनुसार ठाकुर र सिंहलाई मृत्युदण्डको सजाय संशोधन गरी जन्मकैद निर्णय गरिएको थियो। राज्यले दुर्गानन्दको अन्तिम संस्कारका लागि पार्थिव शरीरसमेत परिवारलाई दिएन। परिवारले भारतको गया गएर कुशको शव बनाई अन्तिम संस्कार गरे।
प्रकाशित: १६ माघ २०८२ १०:१२ शुक्रबार





