२४ असार २०८३ बुधबार
image/svg+xml
अपराध

अशक्त महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका-२ पितमारीमा शारीरिक रूपमा अशक्त एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका काकालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार करिब २७ वर्षीया शारीरिक रूपमा अशक्त महिलामाथि उनका ५० वर्षीय काकाले इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटना पीडित महिलाकै घरको कोठामा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। घटनापछि पीडितकी बहिनीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएपछि प्रहरी सक्रिय भयो। 

जाहेरी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थल पुग्यो। प्रहरीले आरोपितलाई सोही राति करिब १० बजे उनकै घरबाट नियन्त्रणमा लिएको बताएको छ। पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य छ। आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई बहिनीको जिम्मा लगाइएको छ। थप स्वास्थ्य परीक्षण तथा प्रमाण संकलनको प्रक्रिया पनि अघि बढाइएको प्रहरी स्रोतले बताएको छ। 

शारीरिक रूपमा अशक्त महिलामाथि आफन्तबाटै यौन हिंसाको आरोप लागेको घटनाले स्थानीय समुदाय स्तब्ध भएको छ। महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा पीडितले न्याय पाउने वातावरण सुनिश्चित गर्न र दोषीमाथि कानुनी कारबाही गर्न स्थानीयले माग गरेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानका आधारमा आरोपितलाई कानुनबमोजिम अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।

प्रकाशित: २४ असार २०८३ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App