२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

एनपीएल मिनी अक्सन : सुजन र ऋत सर्वाधिक महँगा, पहिलो बिक्री हुने सचिन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार सम्पन्न मिनी अक्सनमा क्याटगोरी ‘सी’बाट सचिन भट्ट पहिलो बिक्री हुने खेलाडी बनेका छन्।

उनलाई सुदूरपश्चिम रोयल्सले आधार मूल्य दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो।

अहिले क्याटेगोरी ‘सी’ बाट यस अक्सनमा सबैभन्दा महँगा खेलाडी विराटनगर किंग्सले अनुबन्ध गरेका सुजन थपलिया बने। विराटनगरले उनलाई ४ लाख २५ हजार रुपैयाँमा आफ्नो टोलीमा भित्र्यायो।

त्यस्तै, जनकपुर बोल्ट्सले ऋत गौतमलाई ४ लाख ४५ हजार रुपैयाँमा अनुबन्ध गर्दै अक्सनको उच्च मूल्यका खेलाडीमध्ये एक बनाए।

पोखरा एभेन्जर्सले सुदीप अर्याललाई ३ लाख रुपैयाँ, विवेक रानामगरलाई २ लाख ७५ हजार रुपैयाँ तथा सन्नी बिकलाई २ लाख रुपैयाँमा अनुबन्ध गर्यो। सुदूरपश्चिम रोयल्सले अयुब भण्डारीलाई पनि २ लाख रुपैयाँमा टोलीमा समेट्यो।

लुम्बिनी लायन्सले अरनिको यादवलाई २ लाख रुपैयाँमा अनुबन्ध गर्दा चितवन राइनोजले अपराजित पौडेल, अशोक धामी र विपिन रावललाई समान २ लाख रुपैयाँ तथा मौसम ढकाललाई ३ लाख रुपैयाँमा अनुबन्ध गर्यो।

जनकपुर बोल्ट्सले सन्तोष कार्कीलाई ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। कर्णाली याक्सले सूर्य तामाङलाई २ लाख रुपैयाँमा टोलीमा भित्र्यायो।

यस्तै, काठमाडौं गोर्खाजले प्रसिद्ध जैसी र दयानन्द मण्डललाई समान २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएलको तेस्रो संस्करणका लागि सुरुमा ३४७ खेलाडीले नाम दर्ता गराए पनि अन्तिम अक्सन सूचीमा १५५ खेलाडी मात्र समावेश भएका थिए। यसअघि आठवटै फ्रेन्चाइज टोलीले ५२ खेलाडीलाई रिटेन गरिसकेका छन्।

क्यानले यस संस्करणमा प्रत्येक टोलीले अक्सनमार्फत अधिकतम दुई विदेशीसहित आवश्यक संयोजन पूरा गर्दै कुल ५२ खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरेको छ।

अक्सनअघि जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रुपैयाँ बजेट रहेको थियो। विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२ लाख तथा काठमाडौं गोर्खाजसँग ३४ लाख रुपैयाँ अक्सन बजेट उपलब्ध रहेको थियो।

प्रकाशित: २२ असार २०८३ १८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App