२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

ग्रिनेड पड्केर दुई सैनिक घाइते

तालिममा असावधानीले ४२ दिनमै दुई घटना

कैलालीमा तालिम अभ्यासका क्रममा ग्रिनेड पड्काउँदा एक सैनिकले ज्यान गुमाउनु परेको ४२ दिन नबित्दै त्यही प्रकृतिको घटना दोहरिएर दुई सैनिक घाइते भएका छन्।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित बनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको नियमित सैन्य तालिम अभ्यासका क्रममा बिहीबार बिहान ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई जना सैनिक घाइते भएका हुन्।

बिहिबार बिहान करिब ८ः१० बजे देवदल गणको सैन्य तालिम अभ्यास गर्ने क्रममा ह्याण्ड ग्रिनेड विस्फोट भएको नेपाली सेनाले जनाएको छ।

तालिम अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले बताएका छन्।

विस्फोटबाट ३० वर्षीय सहायक सेनानी विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु घाइते भएका छन्। सहायक सेनानी कार्कीको दाहिने हात र अनुहारमा तथा सैनिक रञ्जित थारुको दाहिने हातमा चोट लागेको छ।

विस्फोटमा परेर घाइते भएपछि दुवै सैनिकलाई बोराडाँडीस्थित नेपाली सेनाको अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घटनाबारे नेपाली सेनाले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

धनगढीस्थित नेपाली सेनाको बोराडाँडी ल्याइएको थियो। घाइते दुवै जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ स्थित नेपाली सेनाको अस्पताल छाउनीमा लगिएको प्रहरी निरीक्षक विष्टले बताएका छन्।

कैलालीमा तालिम अभ्यासका क्रममा असावधानीका कारण ग्रिनेड विस्फोट भएर घटना घटेको डेढ महिना नपुग्दै यो दोस्रो पटक हो।

यस अघि गत असार ११ गते तालिम अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए।

सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे बाट ब्यारेकबाट फाइरिङ अभ्यासका लागी मोहन्याल गाउँपालिका ७ जालपा सामुदायिक वन क्षेत्रमा उनीहरू खटिएका थिए।

मोहन्याल गाउँपालिका ७ जालपा सामुदायिक वन क्षेत्रमा फाइरिङ अभ्यास गर्ने क्रममा असार ११ गते बिहान ग्रिनेड पड्कदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम बिष्ट र  सह सेनानी हिमराज जोशी घाइते भएका थिए।

गम्भिर घाइते भएका बिष्टको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको थियो।

घाइते सह सेनानी जोशीलाई थप उपचारका लागी हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो। ग्रिनेड पड्काउने क्रममा विस्फोट भएको थियो।

प्रकाशित: २१ श्रावण २०८३ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App