कालीकोटमा आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम आहार एवं वस्तुहरूको बिक्री-वितरण रोक्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले बजार अनुगमन तीव्र पारेका छन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालय र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले संयुक्त रूपमा मान्म बजार, मोल्फा, पिली, गाल्जे र नाग्मलगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा बजारका विभिन्न औषधि पसल तथा अन्य पसलहरूमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्टोजिन, कृत्रिम निप्पलजस्ता वस्तुहरू प्रदर्शनमा राखेको र सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्ने गरेको पाइएपछि ती वस्तुको बिक्री-वितरण रोक्न निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले आमाको दूध प्रतिस्थापन गर्ने (वस्तु बिक्री-वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ को पालना गराउन र आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न बजार अनुगमन गरिएको बताए।
उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट यस्ता वस्तुको विज्ञापन र प्रदर्शन नगर्न व्यवसायीहरूलाई सचेत गराए।
खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले बजारिया दूध यसको विकल्प हुन नसक्ने बताए। उनले बजारमा प्रतिबन्धित यस्ता वस्तु फेला परेकाले तत्काल बिक्री–वितरण रोक्न व्यवसायीहरूलाई सुझाव दिइएको बताए।
अनुगमनमा सहभागी खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीले आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम आहार बेच्ने कार्य रोक्न कडाइका साथ निर्देशन दिइएको जानकारी दिए।
स्थानीय सरकारले ऐन विपरीतका यस्ता वस्तुको बिक्री-वितरण गरेको पाइए कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ।
प्रकाशित: २२ असार २०८३ १८:२३ सोमबार





