जबर्जस्ती करणीको अभियोग लागेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव विशेश्वर प्रसाद साह (बिपी) धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत धनुषाले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएपछि उनी थुनामुक्त भएका हुन्।
जिल्ला न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले थुनछेक बहसपछि साहलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतले माग गरेको धरौटी रकम बुझाएर उनी सोमबार नै रिहा भएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाकी २८ वर्षीया एक महिलाले दिएको जाहेरीका आधारमा साहविरुद्ध २०८१ चैतमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो।
मुद्दा दर्ता भएको करिब ९ महिनासम्म फरार रहेका साहले गत मङ्सिर २३ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए। उनी करिब एक महिना प्रहरी हिरासतमा रहेपछि अदालतको आदेशमा छुटेका हुन्।
धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर घर भएका ३४ वर्षीय साह डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव हुन्।
उनीविरुद्ध करणीको मुद्दा दर्ता भएको समाचार सार्वजनिक भएपछि पार्टीले उनलाई जिम्मेवारीबाट हटाएको थियो।
जनमत पार्टी अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरीले गत भदौ २९ गते सूचना जारी गर्दै साहलाई अनुसन्धान अवधिभरका लागि पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका थिए।
प्रकाशित: २४ पुस २०८२ १६:३० बिहीबार





