झापाको शिवसताक्षीका एक जना युवकको शव शनिबार (आज) बिहान हुलाकी राजमार्गको बिरिङ पुल मुनि गाडेको अवस्था फेला परेको छ ।
एक सातादेखि बेपत्ता भएका झापाको शिवसताक्षी १० माईधारका ३३ वर्षीय सरोज शर्माको शव पुल मुनि गाडेको आवस्थामा आज बिहान भेटिएको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार झापा गाउँपालिका–५ को बिरिङ पुल मुनि गाडेको अवस्थामा शव फेला परेको हो । कालो प्लास्टिकमा बेरिएको उनको शव गाडिएको अवस्थामा फेला प¥यो । शवको बाहिर प्रकृति हेर्दा केही भएको देखिँदैन, डिएसपी खड्काले भने, ‘तर, शवमा बाहिरी चोट पटक नदेखिए पनि भित्री केही हुनसक्छ । के कसरी उनको मृत्यु भयो भन्ने अहिले भन्न सक्ने अवस्था छैन । शवको पोस्टमार्टमपछि आउने रिपोर्ट र अन्य अनुसन्धानबाट के कसरी उनको मृत्यु भयो भन्ने खुल्छ । हामी अनुसन्धान गरिरहेका छौं । चाँडै निचोडमा पुग्छौं ।’
कात्तिक ९ गते मृतक शर्मा घरबाट साथीहरुलाई भेट्ने भनेर कार लिएर निस्केपछि घर फर्किएनन् । घरपरिवारले कात्तिक १० गते सरोज हरायो खोजतलास गरी दिन प्रहरीमा निवेदन दिएपछि उनको खोजीकार्य प्रहरी र परिवारले आअआफ्नो तवरबाट गर्दै आएका थिए ।
यसैबीच, कात्तिक १३ गते दिउँसो चारआली–भद्रपुर सडक खण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र कार जलिरहेको भनेर प्रहरीमा खबर आएपछि तत्कालै दमकल र स्थानीयको सहयोगमा आगो निभाउने काम भए पनि कार जलेर पूर्ण रुपमा नष्ट भएको थियो । मुख्य सडकदेखि करिब ३ सय मिटरभित्र जंगलमा लगेर कारमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
कारसहित मानिस हराएको निवेदनका आधारमा खोजतलास गर्दै गरेको प्रहरीले जंगलभित्र कार जलेको भेटेपछि अनुसन्धान त्यसतर्फ मोडेको बताएको छ ।
डिएसपी खड्काले भने, ‘कहीँ जलेको कारसँग बेपत्ता भएका सरोजको सम्बन्ध त छैन भनेर अनुसन्धान अघि बढायौं । अनुसन्धानका क्रममा उनी सवार बा १–०३०–च ७१९४ नम्बरको कार भएको पुष्टि भयो । कार जलेर पूर्ण रुपमा नष्ट भएकाले त्यहाँभित्रका केही सामान थिएन । घटनासँग सम्बन्धित प्रमाण खोजी र घटनामा संलग्न हुन सक्ने व्यक्तिको खोजीमा टोली लागेको थियो । यसै क्रममा घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएका छौं ।’
उनले घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुको नाम बताउन मानेनन् । घटना कसरी, किन, केका लागी हत्या गरियो भन्ने खुलेको छैन, उनले भने । घटनामा अरु व्यक्ति पनि भएको हुनसक्ने भएकाले उनीहरुको नाम उल्लेख नगरेको बताए ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका मध्ये सुनील साहको घरमा स्थानीयहरुले तोडफोड गर्न थालेपछि प्रहरीले सुरक्षा दिएको छ । मृतक सरोज आइटी सम्बन्धी काम गर्दै आएका थिए । पक्राउ परेकामध्ये एक जना यसअघि मोटरसाइकल चोरी तथा लागुऔषध मुद्दामा पनि पक्राउ परेका व्यक्ति हुन् ।
प्रकाशित: १५ कार्तिक २०८२ १६:०३ शनिबार





