२४ पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

रौतहट : दुई दिनमा दुई हत्या

रौतहटमा दुई दिनमा दुई जनाको हत्या भएको छ। रौतहट सदरमुकाम गौरमा दुई दिनमा दुई जनाको हत्या भएको अवस्थामा शव बरामद भएको छ।  

सदरमुकाम गौर नगरपालिका क्षेत्रमा दुई दिनको अन्तरालमा दुई जनाको प्रहारले हत्या भएको हो।  

गौर नगरपालिका ५ बरहवातालमा बनेको पुलनजिक बुधबार चक्कु प्रहारबाट यमुनामाई गाउँपालिका ५ का अब्दुल लतिफ मियाको २२ वर्षीय छोरा सहाबुद्दीन मियाको हत्या भएको छ। गौर नगरपालिका ३ का नन्दु रामको २० वर्षीय छोरा सनोज रामले मियालाई चक्कु प्रहार गरी विभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले रामलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रहरीले चक्कु बरामद गरेको प्रहरीले जानकारी गराएको छ।  

हत्या भएको युवक मिया र हत्या गर्ने राम दुवै जना लागु औषध सेवनकर्ता भएको र लागु औषध सेवन गरेपछि दुवै जनामा झगडा भई एक अर्कामाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी गराएका छन्। चक्कु प्रहारबाट पक्राउ परेका रामको हातमा पनि घाउ लागेको प्रहरीको भनाइ छ।  

यसै बिच गौर नपा ५ मा रहेको नेपाल लजको २०२ नम्बर कोठामा सप्तरीका ५९ वर्षीय उपेन्द्र कुमार भगतको शव सोमबार भेटिएको थियो।  

गत साउन २९ गते नेपाल लजमा आएका सप्तरी जिल्लाको खडक नगरपालिका ७ का उपेन्द्र भगत सप्तरीको श्यामबाबा राइस एण्ड ओइल मिल प्रालिबाट आषाढ २५ गतेदेखि बेपत्ता भएको थिए। मिलको म्यानेजरका रूपमा कार्यरत भगत स ६ प ३६९४ नम्बरको मोटरसाइकल र मोबाइल छोडेर बेपत्ता भएको खबर आएपछि उनको परिवारले खोजतलासका लागि २६ आषाढमा सप्तरी प्रहरीमा निवेदन दिएको थिए।  

श्यामबाबा सप्लायर्स प्रालिका सञ्चालकसमेत रहेका भगत लालुप्रसाद अग्रवाल र श्यामसुन्दर अग्रवालसँगै कारोबार गरेको थिए। आर्थिक लेनदेनको क्रममा अपहरण पश्चात् हत्या भएको मृतकका छोरा विकासकुमार भगतले आरोप लगाएका छन्।  

मृतक भगतको जिउमा कुनै घाउचोट नदेखिएको र मृतक दुई खाटको बिचमा तल भुइँमा लडेको तथा मुखबाट रगत आएको अवस्थामा देखिएको थियो।  

मृतकका छोरा विकासकुमार भगतले बुवा हराएको दिन नै फर्मको बैंक खाताबाट ४४ लाख रुपैयाँ झिकिएको देखिएको बताएका छन्।

नेपाल लजका सञ्चालक अमित केशरीले मृतक उपेन्द्र यसअघि दुई पटक लजमा आएर बसेको बताउँदै आफू काम विशेषले लजमा नहुँदा कर्मचारीलाई लजको जिम्मा छोडेको र सोमबार आएपछि ग्राहकको रजिस्टर हेर्दा कर्मचारीलाई २०२ नम्बर कोठामा हेर्न पठाउँदा शव देखेपछि प्रहरीलाई खबर गरेको बताएका छन्।  

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि नेत्रमणि गिरीले जानकारी गराएका छन्।  

दुई दिनको अन्तरालमा रौतहटमा हत्या भएको अवस्थामा दुई जनाको शव बरामद भएपछि जिल्लामा सन्त्रासको वातावरण देखिएको छ।

प्रकाशित: ४ भाद्र २०८२ १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App