२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अपराध

दालमा विष मिसाएर ह*त्या

सांकेतिक तस्बिर

मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले दालमा विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु भएको छ । ससुराको अवस्था गम्भीर भएको मोरङ प्रहरीले जनाएको छ ।  

दालमा (खाना) विष मिसाएर खुवाएको आरोप ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।  

उनका अनुसार भतिजी बुहारी सुनिताले बिहान खाना दिँदा दालमा विष मिसाएर खुवाउँदा सासुको मृत्यु भएको छ भने ससुरा गम्भीर अवस्थामा भई उपचार भइरहेको छ । पक्राउ परेकी बुहारी सुनिता कार्की राई दम्पतीकी भतिजी बुहारी हुन् ।

७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भए पनि हाल स्वास्थ्य अवस्था सुधार हुँदै आएको डिएसपी चौधरीले बताए ।  

शनिबार दिउँसो भक्तबहादुरलाई घर नजिकको खोल्सामा बेहोस अवस्थामा स्थानीयले देखेपछि उद्दार गरेर घरमा ल्याउँदा उनकी पत्नी इन्द्रमायासमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन् । घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिएको थियो ।  

स्थानीयहरुले तत्कालै बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी चौधरीले भने, ‘इन्द्रमायाको उपचारका क्रममा शनिबार राति पौन ११ बजेतिर मृत्यु भयो । घटनाको खबर आउनासाथ प्रहरी टोली पुगेर घटनास्थलको प्रकृति हेर्दा खानामा विषादी प्रयोग भएको जस्तो देखिएको थियो । प्रारम्भिक अनुसन्धानबाट सुनिताले सासू र ससुरालाई खानामा (दाल) विष मिसाएर खुवाएको पत्ता लागेको छ । वृद्ध दम्पतीले आफूले खाएर उब्रिएको खाना कुखुरालाई खुवाएका थिए । त्यसले खुकुरा पनि मरेको पाइएको छ ।’

विष हालेको खाना दिएपछि कार्की माइततिर गएकी थिइन् । घटनापछि उनलाई माइतबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर ‘कर्तव्य ज्यान’ मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

भक्तबहादुर र इन्द्रमाया राईका सन्तान छैनन् । दुवै जना भतिजो प्रशान राई र उनकी श्रीमती सुनिता कार्कीसँग बस्दै आएका थिए । प्रशान घर बाहिर रहेका बेला सुनिताले वृद्ध अवस्थाका सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि फेला पारेको छ ।  

बट्टा अँगेनोमा हालेर जलाइएको अवस्थामा भेटिएकाले खानामा कुन विष मिसाइएको हो भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीको प्रयोगबारे प्रयोगशाला जाँचपछि मात्रै वास्तविक कारण पुष्टि हुने र विषादी कसरी र किन प्रयोग भयो भन्ने अन्य अनुसन्धानबाट खुलेपछि मात्रै यर्थाथ आउने डिएसपी चौधरीले बताए ।  

खानामा विष मिसाएपछि उनले विषको बट्टा अगेनामा डढाएको र जलेको बट्टा प्रहरीले फेला पारेको छ । विष खुवाउने कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: २२ मंसिर २०८२ १५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App