पछिल्ला तीन वर्षमा ताप्लेजुङमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना बढेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटनामा साविक भन्दा बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जबरजस्ती करणीका २१ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना प्रहरीकहाँ दर्ता भए ।
आव २०८०/८१ मा र २०७९/०८० मा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका समान क्रमशः १४ र २ वटा घटना भएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ४५ वटा मुद्दा शीर्षक राखेर घटनाको बार्षिक अभिलेखीकरण गर्दै आएको छ ।
पछिल्ला तीन आर्थिक वर्षका घटनाको अभिलेख हेर्ने हो भने प्रहरीकहाँ दर्ता भएका सम्पूर्ण मुद्दाको संख्या बर्सेनि बढ्दो देखिएको छ । बस्नेतका अनुसार आव २०८१/०८२ मा जिल्ला प्रहरी कार्यालयमा १ सय ९२ वटा घटना दर्ता भएका छन् । आव २०८०/०८१ मा १ सय ८१ र आव २०७९/०८० मा १ सय ६५ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयमा घटना दर्ता संख्या वृद्धि हुनुमा प्रहरीले गाउँ–गाउँमा पुगेर नागरिक सचेतना अभियान समेत सञ्चालन गर्दै अपराध सम्वन्धी घटनाको हदम्याद र उजुरी दिने प्रकृया बारे जानकारी गराउने कार्य पनि प्रमुख कारणको रुपमा रहेको औंल्याएको छ ।
प्रकाशित: ६ श्रावण २०८२ १६:४३ मंगलबार





