अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट आठ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-४ सुकेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३३ वर्षीय सुनिल थपलियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कैलाली, गोदावरी नगरपालिका-६ बडेहा बस्ने २५ वर्षीय सुनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
सुनसरी, इटहरी उपमहानगरपालिका-१० मुसहर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र डाइक्लोमाइन ८ सय १० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने १९ वर्षीय प्रभात सरदार र १९ वर्षीय जितेन्द्र ऋषिदेव रहेका छन्। इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहा, लहान नगरपालिका-३ लहान बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ४० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ६२ हजार ५ सय ५० रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका २३ वर्षीय अजित कुमार मण्डल र सोही ठाउँ बस्ने धनगढीमाई नगरपालिका-४ धनगढी घर भएकी २४ वर्षीया लक्ष्मी कुमारी चौधरी रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट समेतबाट खटिएको प्रहरीले अजितको कोठा तलासी गर्दा ब्राउनसुगर ३ ग्राम ७ सय ७५ ग्राम तथा लक्ष्मीको भान्सा कोठाबाट ब्राउनसुगर ९ ग्राम ३ सय ९० मिलिग्राम र डिजिटल तराजु २ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल र बुप्रेनोर्फिन २१ एम्पुल सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट पुष्पलाल चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १३:४३ बिहीबार





