१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:१६ अपराह्न
अपराध

महायज्ञ लगाउन दलित परिवारको उठिवास गराउने गाउँपालिका अध्यक्षसहित दुई जना पक्राउ

औरही गाउँपालिकामा महायज्ञको नाममा दलित परिवारमाथि भएको जातीय विभेदको घटनामा गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले उनीहरूसँग सोधपुछ भइरहेको बताए। पीडितबाट जाहेरी आएपछि कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

चैत १७ गतेदेखि महायज्ञ लगाउन औरही–५ का दलित दीपक मलिक (डोम) को घर फागुन १० गते भत्काइएको थियो। गाउँपालिकाको जेसीबी लिएर अध्यक्ष यादव आफैँ घर भत्काउन गएका थिए। घर भत्काएर त्यसको माटोसमेत ताछेर फालेपछि जातीय विभेदको आरोप लागेको थियो। यस घटनामा तीव्र विरोध भएको छ।

यसैबीच, घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबार मन्त्रालय फिर्ता बोलाएको छ। राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले पनि घटनाको स्थलगत अनुगमन गरेको छ। 

प्रतिनिधि सभामा सांसदहरूले यो घटनामा संसदीय छानबिन समिति गठन गरी दोषीमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। रासस

प्रकाशित: ९ चैत्र २०८१ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App