७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

उर्लाबारीमा एक करोड बढीको मोबाइल चोरी

<br>

मोरङको उर्लाबारी नगरपालिका–५ मा रहेको ‘मोबाइल वर्ल्ड’ नामक मोबाइल पसलमा चोरी भएको छ।

उर्लाबारी–७ निवासी योगराज कार्कीले सञ्चालन गरेको उक्त पसलमा सोमबार राति चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान कार्की पसल खोल्न जाँदा सटर फोडिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार उर्लाबारीको मुख्य बजार, पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेको उक्त पसलबाट करिब १ करोड रुपैयाँ बराबरका मोबाइल चोरी भएको अनुमान गरिएको छ।

डिएसपी जोशीले भने, ‘चोरहरूले सटर फुटाएर पसलभित्र रहेका महँगा ब्रान्डका मोबाइलहरू चोरी गरेका छन्। पसल सञ्चालक कार्कीका अनुसार करिब १ करोड रुपैयाँ बराबरका मोबाइल हराएका छन्।’ चोरी भएका केही मोबाइलका बट्टा भेटिएको र तिनको मूल्यांकन भइरहेको उनले जानकारी दिए।

हालसम्म चोरीमा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। चोरीको प्रकृति हेर्दा ठूलो गिरोह संलग्न रहेको अनुमान गरिएको छ। डिएसपी जोशीले भने, ‘सटरको ताला फुटाएर चोरी गरिएको छ। घटनाको अनुसन्धान विभिन्न कोणबाट सूक्ष्म रूपमा अघि बढाइएको छ। बाटामा रहेका सिसी क्यामेराका फुटेजलगायतका प्रमाणका आधारमा अनुसन्धानमा मद्दत हुने अपेक्षा गरिएको छ।’

चोरीमा संलग्नको खोजी तथा पहिचानका लागि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालको नेतृत्वमा अनुसन्धान जारी रहेको जनाइएको छ।

यसअघि विराटनगरको महेन्द्र चोकस्थित सनराइज मोबाइल पसलमा पनि २०७७ र २०७८ मा लगातार दुई पटक चोरी भएको थियो। तर, ती घटनाका दोषीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

उर्लाबारीको चोरी प्रकरणपछि सनराइज मोबाइल पसलका सञ्चालक मधुकुमार राईले सामाजिक सञ्जालमार्फत पीडा पोखेका छन्।

उनले लेखेका छन्, ‘केही वर्ष अघि मेरो पसलमा पनि लगातार दुई पटक चोरी भयो, तर प्रहरी प्रशासनले कुनै ठोस कदम चाल्न सकेन। ३५–४० लाख बराबरका मोबाइल चोरी हुँदा मात्र ३ थान फिर्ता भए। अब उर्लाबारी घटनामा पनि उस्तै लापरवाही नहोस्। दोषीलाई चाँडो पक्राउ गरी क्षतिपूर्ति भराइयोस्।’

चोरीको घटना बढ्दै गइरहेका बेला व्यवसायीहरूले सुरक्षाका उपायहरू कडाइ गर्नुपर्ने आवाज उठाउन थालेका छन्।

प्रकाशित: २१ माघ २०८१ १९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App