काठमाडौंको प्रमुख प्रवेश नाका नागढुङ्गामा प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका १४ थान आइफोन मोबाइल बरामद गरेको छ।
चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा करिब सात लाख रुपैयाँ बराबरको ती मोबाइल फोनहरू नियन्त्रणमा लिएको हो।
बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्दा ती सामग्री बरामद भएका हुन्। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले बसको खानतलासी गर्ने क्रममा बेवारिसे जस्तै गरी राखिएको एउटा कालो झोला फेला पारेको थियो।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उक्त झोलाभित्र कुनै पनि आधिकारिक कागजात वा बिलबिजक नभएका १४ थान आइफोन फेला परेका थिए।
‘बरामद गरिएका ती मोबाइलहरूको बजार मूल्य करिब सात लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ,’ प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।
उनका अनुसार बिलबिजक विना लुकाइछिपाइ राजधानी भित्र्याउन लागिएको अवस्थामा ती सामग्री नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सबै आइफोनहरूलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
भन्सार ऐनअनुसार राजस्व छली गरी ल्याइएका सामग्री जफत गरी बिगो बमोजिमको जरिवाना र कानुनी कारबाही हुने प्रावधान रहेको छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १३:३१ बिहीबार





