७ वैशाख २०८१ शुक्रबार
भिडियो

ओलम्पिकमा जान नपाएका गोपीको पिडा : सम्हालिन सकिरहेको छैन

ओलम्पिक  सहभागिता हुने सपना कस्लाई हुँदैन र ! संसारका अधिकाशं खेलाडीको सपना हुन्छ, ओलम्पिकमा सहभागि हुने । त्यस्तै नेपाली युवा म्याराथन धावक गोपी चन्द्रपार्कीको पनि ओलम्पिकमा सहभागि भएर नेपालको झण्डा फहराउने ठूलो सपना थियो ।  

दिनरात घाम–पानी नभनी उनी दैनिक ८ देखि ९ घण्टासम्म दौडिन्थे। न भोक, न तिर्खा, मात्रै उनलाई ओलम्पिकको भोक थियो । तर ओलम्पिक सुरु हुनु भन्दा २ साताअघि सहभागिताबाट वञ्चित भए, उनी ।  

‘यतिबेला म लज्जित छु, मसँग मेरो पिडा व्यक्त गर्ने शब्द छैन । गल्तीबिना पनि मैले यो पिडा भोगिरहेको छु, यो पिडा अन्य खेलाडीले भोग्नु नपरोस्’, उनले भने ।  

टोकियो ओलम्पिक २०२० को तयारी गरिरहेका पार्कीलाई  बुधबार बिहान १० बजे राष्ट्रिय टोली तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले फोन गरे । उनले पार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबारबाट टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेकाले आफ्नो लागि तयारी रहन जानकारी गराए ।  

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५ हजार मिटरतर्फका स्वर्ण पदक विजेता पार्कीको ओलम्पिक यात्रा लगभग तय भयो ।  एपिएफका जागिरे समेत रहेका उनले आफ्ना साथीभाइ र घर परिवारलाई जानकारी पनि गराए । ओलम्पिक जाने खुशी सबैसँग बाडिसकेका थिए । सामाजिक सञ्जालमा पनि शुभकामना आउन थाल्यो । तर पुनः २ बजे राईले पार्कीलाई फोन गरे। केही घन्टाअघि मात्र तयारी गर्नु भनेको राई तक्काल तयार नहुन आग्रह गर्दै यसबारे केही समयपछि विस्तृतमा जानकारी गराउने बताउँदै फोन राखे। राईसँगको संवाद पछि उनको मन चिसो पस्यो । राति उनलाई निद्रा लागेन । छटपट भइरह्यो । मनमा अनेकौं तर्कनाहरु खेलिह्यो । तर ओलम्पिक सहभागिताबारे विश्वास टुटेको थिएन, उनको ।  

‘सञ्चारमाध्यममा थुप्रै खबरहरु आयो, तर आफ्नो  ‘ओलम्पिक सहभागिताबाट म वञ्चित भएको भन्ने खबर आइरहेको थियो। मेरो सट्टा महिला सय मिटरमा सरस्वती चौधरीको सहभागिता हुने खबर आइरहेको थियो। तर त्यसबारे सम्बन्धित निकायले औपचारिक रूपमा पुष्टि गरिसकेको थिएन,’ पार्कीले भने, ‘बिहीबार पनि सामान्य अभ्यास गरें।’

त्यसपछि आफ्नो ओलम्पिक सहभागिताका बारेमा आइरहेको खबरबारे पत्ता लगाउन उनी एनओसी भवन सातदोबाटो पुगे। विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला सय मिटरमा कोटा छुट्याएको र त्यसका लागि सरस्वतीको नाम सिफारिस गरिसकेको जानकारी पाए ।  

‘मैले मेरो सहभागिताको सम्भावना समाप्त भएको जानकारी पाएँ, तर छाँगाबाट खसेजस्तै भयो’, उनले भने’, ओलम्पिकमा म योग्य भएर छनोट भएको हो । आफ्नो मेहिनेत र खेलप्रतिको लगावले ओलम्पिकमा सहभागि हुन लागेको हो । तर त्यो सपना पूरा हुन पाएन ।’

एनओसी अध्यक्ष श्रेष्ठ, राखेप सदस्यसचिव सिलवाल र एथलेटिक्सका अध्यक्ष शाहले संयुक्त रूपमा विज्ञप्ति जारी गरे।  विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला सय मिटरमा कोटा छुट्याएको र त्यसका लागि सरस्वती चौधरीको नाम सिफारिस गरिएको विज्ञप्तिमा भनिएको छ ।  

नेपालगन्जमा सम्पन्न म्याराथनमा प्रथम भएका  गोपीचन्द्र टोकियो ओलम्पिक २०२० का लागि छनोट भएका थिए।  

‘व्यक्तिगत रुपमा ओलम्पिक जाने घोषणाले गरेको होइन । उहाँहरुले उत्कृष्ट खेलाडीलाई कोटियोमा सहभागिता गराउने भनेर घोषणा गरेको हो । व्यक्ति गत रुपमा तयारी गरेँ । देशबाट त छनोट भइसके हो’, उनले भने ।  

उनी करिब ८ महिनादेखि हलचोकस्थित एपिएफको खेलमैदानमा प्रशिक्षण गरिरहेका थिए।  

‘रातको २ बजे उठेर दौडमा जान्थेँ । २ घण्टा ४५ कलोमिटरसम्म पार गरेको छु । दिनरात घाम–पानी नभनी मिहिनत गरेको थिएँ, ओलम्पिकको लागि धेरै त्याग गरेको थिएँ, त्योसब व्यार्थ भयो’ , उनले भने । १० वर्षदेखि ओलम्पिक जाने सपना बुनेका थिए ओलम्पिक सहभागि हुनको लागि २ वर्षदेखि तयारी गरेको उनी बताउँछन् ।  

‘हरेक मानिसको सपना हुन्छ । मेरो पनि ओलम्पिक जाने सपना थियो, त्यो पुरा हुन सकेन ’, उनले भने, ‘अझै मेरो सपना मरिसकेको छैन । एक दिन त्यो सपना पूरा हुनेछ भन्ने विश्वास लिएको छु।’  

प्रकाशित: २२ असार २०७८ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App