११ कार्तिक २०७७ मंगलबार
भिडियो

गीत चल्न दिलको 'ट्रेन्डिङ'मा आउनुपर्छ : हेमन्त शर्मा

नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– हेमन्त शर्मा। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना/कला प्रस्तुत गरिसकेका छन्। दुई दशकभन्दा बढी समयदेखि गीत–संगीतमा क्रियाशील गायक शर्माका माया साह्रै महंगो, आउँदै गर मालती, मुल हौं भने रसाईदेउ , जाली रुमाललगायत दर्जनौं गीत स्रोताको मन जित्न सफल छन्।  

यसैबीच भर्खरै उनले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले ‘तिमीबाहेक मेरो कोही छैन’ बोलको गीत बजारमा ल्याएका हुन्। उनै गायक हेमन्त शर्मासँग लकडाउन अनुभव कोरोना कहरले सांगीतिक क्षेत्रमा पारेको प्रभाव, नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर नागरिककर्मी पवन बराइलीले गरेको कुराकानी :  

कोराना महामारीबीच नै गीत बजारमा ल्याउनुभयो, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ? 

यो गीतको गर्भधारण लकडाउनभन्दा पहिले नै भएको थियो। यो फुर्सदिलो समयमा रेकर्ड गराएँ। ‘तिमी बाहेक मेरो कोही छैन’ त संसारमा धेरैले भने होलान्। ‘हुनेवाला कोही छैन’ पनि कसैले भनिदिए हुन्थ्यो नि जस्तो लागेर आफैंले लेखेको गीत हो। राम्रो प्रतिक्रिया आइरहेका छन्। संगीत पनि आफैंले भरेको छु। सफ्ट रोमान्टिक गीत हो। यसमा उफ्रेर नाच्न मिल्दैन। जिन्दगीको यात्रामा आफूले मन पराएको मान्छेलाई भनिएको गीत हो। अहिले धेरैले रुचाइदिनुभएको  छ।  

हरेक महिना देश–विदेश पुग्नुहुन्थ्यो। दर्शक, स्रोतासँग साक्षत्कार गरिहनुहुनथ्यो। अहिले यसरी लामो समय खुम्चिएर बस्नुपर्दा कस्तो हुँदोरहेछ?  

लकडाउनको सुरुवाती दिनमा निकै आनन्द महसुस भएको थियो। सुरुका सात दिनजति आराम पाएजस्तो भएको थियो। त्यो बेला स्टेज कार्यक्रमले गर्दा निकै व्यस्त भइन्थ्यो। पुस र माघ– कार्यक्रम हुने सिजन हो। गायक भएयता जीवनमा पहिलोपटक यस्तो अनुभूति भइरहेको छ। यतिबेला आयोजक अनि दर्शकको त्यो माया पाएका छैनौंजस्तो लाग्छ। दुई साता त पुस्तक गरें। केही सिनेमा पनि हेरें। यसरी समय बित्दै गयो। तीन सातादेखि भने दिक्क लाग्न थाल्यो। हुन त संसारभर नै यस्तो छ। कोरोनालाई आत्मसात् गर्नु नै पर्ने रहेछ।  

कोरोनाबाट जोगिँदै रेकर्डिङका काम थालियो। आफूलाई तनावमुक्त गर्न दूरी कायम गरेर आफन्तसँग भेटघाट गर्न थालें, जन्मघर त्रिवेणी पनि गएँ। हाइकिङ पनि गएँ। यसरी नै दिन बिते। केही सिर्जना पनि गरें। तर केही पहिले गरेका सिर्जना रेकर्ड पनि गराएँ। अहिले सार्वजनिक भएको गीत पनि पहिले गरेको हो। यसरी नै दिन बितिरहेका छन।

पछिल्लो समय कलाकारका लागि आर्थिक उर्पाजनको माध्यम स्टेज कार्यक्रम बनेको छ। तर कोरोना महामारीका कारण अहिले स्टेज कार्यक्रम हुँदैनन्। अहिले कलाकारका लागि अर्थापाजनको माध्यम के त?  

संसारका हरेक मानिसलाई पैसाले कहीं न कहीं बाँध्ने रहेछ। कार्यक्रम नपरे हुन्थ्यो भन्दा पनि निमन्त्रणा आउँथे। ज्यान थाके पनि मन थाक्थेन। दर्शक/स्रोतासँग साक्षात्कार हुन पाउँदा थकान मेटिन्थ्यो। कार्यक्रम जानु भनेको पैसा कमाउनु मात्रै होइन, नयाँ–नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्न अवसर पनि हो।  करोडौं कमाउनु मात्रै राम्रो भन्ने होइन। जीवनयापन आनन्द गर्न सकिने थियो। अहिले त्यो अवस्था छैन।   देश–विदेशका सबैभन्दा राम्रा ती ठाउँका घुमाइ, ती सुविधा हामी कलाकारले  उपभोग गर्न पाइरहेका थियौं। पारिश्रामिक पनि राम्रै पाइरहेका थियौं। जीवनयापन गर्न सक्ने वातवरण थियो, तर अहिले त्यो अवस्था छैन। त्यसैले समय एकनास हुँदैन भन्ने पाठ यो महामारीले सिकाएको छ। पहिले केही पैसा जोगाइएकाले अहिले जीवन चलाउन सकिएको छ।  

कुनै समय थियो, क्यासेट गीत निकालेर पनि आम्दानी गरिन्थ्यो। तर अहिले समय फेरिएको छ। क्यासेट, सिडीको युग अन्त्य भएको छ। पहिले र अहिलेको तुलना कसरी गर्नुहुन्छ?  

अहिले प्रविधिको युग हो। हत्केलामै संसार छ। त्यसैले पनि धेरै गीत गाउँछु भनेर पनि आएका छन्। समयअनुसार चल्न सक्नुपर्छ। हामीले गरेका काममा पछिल्लो पुस्ताले चित्त बुझाउन सकेन। हामीलाई अहिलेका पुस्ताले गरेका काम चित्त बुझ्दैन। तर  समयलाई स्वीकार गर्न सक्नुपर्छ। अहिले युट्युबमा जस्तो सजिलो प्लेटफर्म आएको छ। अधिकाशंले युट्युबको राम्रो उपभोग पनि गरिरहेका छन। आर्थिक उपार्जनको स्रोत कलाकार अहिले मुख्य आम्दानीको स्रोत भनेकै स्टेज कार्यक्रम हो।    

अहिले युट्युबमा ट्रेन्डिङमामा पर्ने, अझ टिकटक बनायो भने गीत चल्यो भनिन्छ। साँच्चै गीत चले नचलेको मापन युट्युबको ट्रेन्डिङले गर्ने हो?  

समयले निकै ठूलो फड्को मारिसक्यो। चल्यो भन्नलाई युट्युबमा माफन गर्न मिल्दैन। अहिले युट्युब आशिंक मापन हो। टिकटक पनि आशिंक मापन हो। केही सम्भावना छ भन्ने हो। तर अन्तिम मापना होइन। सयौं त्यस्ता गीत छन्, जुन टिकटकमा भाइरल नभएर पनि चलेका छन्। ट्रेन्डिङमा नआएका गीत पनि चलेका छन्। जुन गीत सबैले रुचाउँछन्, त्यो  छुट्टिएर निस्कन्छ। जस्तो केही गीत भीडबाट अलग्गै निस्किएका छन्। वास्तवमा गीत चल्न दिलको ट्रेन्डिङमा आउनुपर्छ।  

पछिल्लो समय नेपाल आइडल, भ्वाइस नेपालजस्ता रियालिटी सोहरु भित्रिए। हिजो तपाईंहरूको पालामा थिएन। यस्ता कार्यक्रमले साँच्चै प्रतिभा पत्ता लगाएका छन् त?  

रियालिटी सो नहुँदा पनि प्रतिभा जन्मिएकै थिए। राजु परियार, एउटा दुर्गम गाउँबाट आएर गीत गाएर स्टार बनेका हुन्। नारायण गोपाल, भक्तराज आचार्य, मार्णिक रत्न उहाँहरू पनि कुनै रियालिटी सोबाट आएका होइनन्। अहिलेका चर्चित गायक गायिका पनि रियालिटी सोबाट आएका होइनन्। रियालीटी सो भनेको सजिलो प्लेर्टफर्मचाहिँ हो। साँच्चै भन्दा सो भनेको आफैंमा व्यापार हो।  हाम्रा पालामा एक वर्षमा पनि स्टार बन्न गाह्रो हुन्थ्यो।  अहिले रातारात स्टार बन्ने समय आयो।  

तपाईंले जिम हाउस खोल्नुभयो भने कसैको ज्यान बनाइदिन्छु भनेर खोल्नु हुन्न। पैसा कमाउन खोलेको हो, शरीर पनि बन्छ। तर यसो भनेर रियालिटी सोको काम छैन भनेको होइन। राम्रा प्रतिभा पनि ल्याएको छ। धेरै राम्रो प्लेटफर्म पनि बनेको छ।  हाम्रा पालामा एक वर्षमा पनि स्टार बन्न गाह्रो हुन्थ्यो।  अहिले रातारात स्टार बन्ने समय आयो।  

प्रकाशित: २२ आश्विन २०७७ १७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App