१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

कसले ढाल्दैछ सरकार ? कसले भित्र्याउँदै छ विदेशी सेना ? यसो भन्छन् देव गुरुङ

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भइरहेको खुलासा गरेका हुन्।

विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाईरहेको र तीनै शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भईरहेको दाबी गरेका हुन्।

उनले भने ‘विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ। यहाका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन्। कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफु सधैं सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन्। कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ।’

नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको पनि उनले उल्लेख गरे। नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उनले गरे।

उनले भने ‘नेपाल अब विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्तान जस्तो मात्रै हुनेवाला छैन्। दक्षिण कोरिया मात्रै हुनेवाला छैन। दुईवटा छिमेकी राष्ट्रको बीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन? त्यो दिशातर्फ जादै छ।’

पश्चिमा शक्तिले फेरी पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्धालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए।

शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उनले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले पश्चिमा शक्तिकेन्द्रहरु नेपालमा शान्ति कायम हुन नदिने जसरी पनि द्धन्द्ध मच्चाउने र द्धन्द्धका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे।  नेपालमा फेरी पनि द्धन्द्ध निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क थियो। यही उद्देश्य पुरा गर्नका लागि द्धन्द्धकालिन समयका मुद्धालाई अड्काउने काम भएको दाबी उनले गरे।

विगतमा मुद्धा लगाईएका कयौलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिब्र हुदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताए।

हालै संयुक्त राष्ट्रसंंघसमेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताए। संयुक्त राष्ट्रसंघ नेपाल पक्षधर हुँदा हुदै कुटनीतिक मर्यादा उलंघन गरेर नौ वटा मुलुकसँग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनले गरे।

उनले भने ‘यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ।’

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हँुदै उनले एकाधिकार दलाल पूँजीवाद भुमि व्यवस्थापनको मुख्य चुनौति रहेको बताए। बहुराष्ट्रिय कम्पनीले बैकसँग ऋण लिने र घरजग्गाको कारोबार गर्ने र सो कारोबार मार्फत ठुलो परिमाणमा जमिन एकाधिकार दलाल पूँजीवादको कब्जामा जाने गरेको भन्दै उनले त्यसैमा केन्द्री भएर भुमिसुधार मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १ असार २०७६ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App