१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
प्रविधि

मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

फाइल तस्बिर

फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर गुमाएका छन्।

उनले सोमबार नै करिब ११ अर्ब डलर गुमाए। कृत्रिम बौद्धिकता (एआई) मा भइरहेको ठूलो खर्चलाई लिएर लगानीकर्तामा देखिएको चिन्ताका कारण मेटाको सेयर घटेको हो।

फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार सोमबार जुकरबर्गको सम्पत्ति १०.९ अर्ब डलर अर्थात् ४.२३ प्रतिशतले घटेर २४६.७ अर्ब डलरमा झरेको छ। यससँगै उनको सम्पत्ति २५० अर्ब डलरभन्दा तल पुगेको छ।

शुक्रबार पनि जुकरबर्गको सम्पत्ति ८.९ अर्ब डलर घटेको थियो। गोल्डम्यान स्याक्सले मेटाजस्ता कम्पनीले एआईमा गरेको लगानीबाट लागत बराबर गर्न वार्षिक करिब ३०० अर्ब डलरको एआई सेवा आम्दानी गर्नुपर्ने र उल्लेख्य नाफाका लागि १ ट्रिलियन डलर आम्दानी आवश्यक पर्ने चेतावनी दिएको थियो।

यसरी दुई दिनमा जुकरबर्गको सम्पत्ति करिब २० अर्ब डलरले घटेको छ।

एआई क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्ने योजनाअन्तर्गत मेटाले सोमबार मंगोडीबीका सिइओ चिरन्तन ‘सीजे’ देसाईलाई नयाँ प्रमुख इन्टरप्राइज प्लेटफर्म अधिकृत नियुक्त गरेको छ। उनले कम्पनी र डेभलपरका लागि मेटाका एआई मोडल, एआई एजेन्ट, कोडिङ उपकरण र एपीआई बिक्री गर्ने नयाँ व्यवसायको नेतृत्व गर्नेछन्।

सोमबार दिउँसो १२ बजेसम्म मेटाको सेयर ४ प्रतिशतभन्दा बढी घटेर प्रतिकित्ता ७१९.४४ डलरमा कारोबार भइरहेको थियो। देसाईको नियुक्तिको खबरपछि मंगोडीबीको सेयर पनि १८ प्रतिशतभन्दा बढी घटेर ३३४.५३ डलरमा कारोबार भइरहेको थियो।

यसअघि सेप्टेम्बरमा मेटाको सेयर करिब ३६ प्रतिशतले बढेको थियो। नयाँ एआई सहायक ‘म्युज’ सार्वजनिक भएपछि लगानीकर्तामा देखिएको उत्साहले पनि सेयर बढ्न सहयोग गरेको थियो। म्युजले सार्वजनिक भएको पहिलो दुई सातामै २८ लाख डाउनलोड पाएको थियो।

तर, एआई पूर्वाधारमा कम्पनीहरूले ठूलो रकम खर्च गर्नुपर्ने विषयमा गोल्डम्यान स्याक्सले चिन्ता व्यक्त गरेपछि मेटासहित माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र ओरेकलले एआईमा गरिरहेको ठूलो लगानीबाट पर्याप्त आम्दानी गर्न सक्ने हुन् कि होइनन् भन्ने प्रश्न उठेको छ।

मेटाले सन् २०२६ मा एआईसहितका पूर्वाधारमा १४५ अर्ब डलरसम्म खर्च गर्ने अनुमान गरिएको छ। यही ठूलो लगानीबाट पर्याप्त प्रतिफल आउने हो कि होइन भन्ने विषय लगानीकर्ताको मुख्य चिन्तामध्ये एक बनेको छ।

मेटाको सेयरमा हुने उतारचढावले जुकरबर्गको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो प्रभाव पार्छ। फोर्ब्सका अनुसार जुकरबर्गसँग मेटाको करिब १३ प्रतिशत सेयर रहेको छ।

प्रकाशित: १३ आश्विन २०८३ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App