१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन सरेपछि क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइयो

देशका विभिन्न स्थानमा परेको भारी वर्षा र त्यसबाट उत्पन्न असहज परिस्थितिको कारण देखाउँदै नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ।

समग्र महाधिवेशनको मिति सरेसँगै तल्लो तहमा भइरहेको क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरो र वर्षाको प्रभावलाई मध्यनजर गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने म्याद दुई दिन थप गरेको जनाएको छ।

यसअघि तय गरिएको कार्यतालिकाअनुसार आज असोज १३ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा पठाउनुपर्ने थियो। तर, नयाँ कार्यतालिकाअनुसार अब उक्त समय असोज १५ गतेसम्मका लागि थप गरिएको छ।

समितिका अनुसार भारी वर्षाका कारण कतिपय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले म्याद थप गर्नुपरेको हो।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी नेतृत्वसँगको समन्वयमा महाधिवेशनका कार्यक्रमहरूलाई परिमार्जन गरिएको समितिले बताएको छ।

संशोधित कार्यतालिकाअनुसार अब महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज १६ र १७ गते हुनेछ। १५औं महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको टुँडिखेलस्थित खुला मञ्चमा हुने तय गरिएको छ।

त्यसैगरी, महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते चल्नेछ। नयाँ नेतृत्व चयनका लागि निर्वाचनका कार्यक्रमहरू भने असोज २१ र २२ गते सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन कार्यक्रमसम्बन्धी अन्य विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने उल्लेख छ।

प्रकाशित: १३ आश्विन २०८३ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App