२९ मंसिर २०८२ सोमबार
image/svg+xml
प्रविधि

थ्रीजी सिममा विशेष आकर्षण

काठमाडौं - सूचना र प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्न चहानेहरुका लागि काठमाडौंको भृकुटी मण्डप प्रदर्शनीहल उपयुक्त गन्तब्य बनेको छ। बुधकारदेखि शुरु भएको क्यान सफ्टटेक २०१३ मेलामा विशेषगरी यूवावर्गको उलेख्य भीड देख्न सकिन्छ। मेलामा सूचना, प्रविधि सञ्चार र समाधानसँग सम्बन्धित सबै खाले सेवा तथा समाग्री उपलबध रहेको क्यानका महासचिव अमुत कुमार पन्तले बताए। विशेषगरी मेलामा नेपाल टेलिकमको इभीडीओ, वाइम्याक्स, जिएसएम थ्रीजी सेवा, युवावर्गाका लागि प्रमुख आकर्षण बनेको छ। त्यस्तै ल्यापटप, कलर्सको स्मार्टफोनलगायत इन्टरनेट सेवा प्रदायक सुविसु, भायानेटको स्टलमा पनि यूवाको बाक्लै भीड देख्न सकिन्छ। पहिलो दिनमै ३४ हजार २ सय ११ र दोश्रो दिन २४ हजार ७ सय २२ दर्शकको उपस्थिती रहेको पन्तले बताए। मेलामा सूचना प्रविधि सम्वद्ध नयाँ उपकरण सहित वैंक एवं वित्तिय, कम्प्युटर सुरक्षा, शिक्षा, स्वस्थ्य क्षेत्रका उपयोगी सफ्टवेयर प्रदर्शन गरिएको छ। नेपाल टेलिकम, डिसहोम लगायतका सेवाप्रदायक कम्पनीले आफ्ना सेवा सुविधामा विशेष छुट अफर समेत सार्वजनिक गरेका छन्। मोवाइल, ल्यापटप, ट्याब्लेट, टेलिभिजन आदिको पछिल्ला संस्करणहरु मेलाका थप आकर्षण बनेको पन्तले बताए। 

काठमाडौंका विशाल खतिवडा इन्टरनेट सेवा प्रदायक सुविसुको स्टलमा भेटिए। सुविसुको फाइबर अप्टीक डेटा केबल इन्टरनेटको सेवाका लागि उनी जानकारी लिँदै थिए। वेव डेभलपर, डिजाइनर, र सूचना प्रविधिसँग सम्बन्धित विभिन्न कार्य गर्दै आएको बताएका उनले हरेक वर्ष सफ्टटेक मेला भ्रमण गर्दै आएका छन्। 'यस वर्ष भने उही उत्पादनमा नयाँ प्रविधि सहितको अफर रहेछ।' त्यहाँे स्मार्ट फोन तथा अन्य विभिन्न सफ्टवेयर प्रविधिबारे बुझ्न पाएको उनले बताए। उनका अनुसार सूचना तथा प्रविधिको विकास नेपालका अन्य स्थानमा पनि आवश्यक छ। प्रविधिसँग सम्बन्धित यस्तो मेला काठमाडौं केन्दि्रतमात्र नभएर अन्य ठाउँमा पनि पुर्‍याउन सक्नुपर्ने उनले बताए। हरेक नेपालीलाई प्रविधिबारे जानकारी हुनुपर्ने भएकाले यस्तो प्रविधिको जानकारी तथा सेवा पुर्‍याउन सक्नु पर्ने उनको धारणा छ। 
त्यस्तै सफ्टटेक परिसरमै भेटिएका अर्जुन पन्थीले पनि प्रविधिले तानेर आफू त्यहाँ आइपुगेको बताए। काठमाडौं बर्नहार्ट कलेजबाट स्नातक परिक्षा सकेका किर्तीपुरका अर्जुन पन्थीका लागि नेपाल टेलिकमको इभीडीओ डेटा प्याकेजले आकर्षित बनायो। नयाँ नयँा प्रविधिको बारेमा जानकारी लिन रुची राख्ने पन्थीले त्यहाँको थ्रीडीले पनि आफू निकै प्रभावित भएको बताए। 
केही दिन अघिमात्र इभीडिओ डेटा प्याकेजको विक्री शुरु गरेको नेपाल टेलिकमका लागि यो प्रडक्ट प्रबर्दन गर्न सफ्टटेक राम्रो थलो बनेको छ। अन्य स्टलमा भन्दा नेपाल टेलिकमको स्टलमा मानिसहरुको विशेष भीड देख्न सकिन्छ। इभीडीओ, वाइम्याक्स र जिएसएम थ्रीजीमा नयाँ अफर ल्याएको टेलिकमका मार्केटिङ अफिसर युवराज ज्ञवालीले बताए। सबैभन्दा बढी जिएसएम थ्रीजीमा युवावर्ग आकर्षित भएको उनको अनुभव छ। बाहिर पाइने मूल्य भन्दा आधा मूल्यमा स्काई रिम र जिएसएम थ्रीजी सो मेलामा विक्री भइरहेको उनले जानकारी दिए। 
त्यस्तै काठमाडौंकी शैलिना श्रेष्ठ पनि जिएसएम थ्रीजीको सिम लिन लामबद्ध थिइन्। इन्टरनेट जहिल्यै पनि आवश्यक हुन्छ त्यसैले सय रुपैँयामा सयकै टकटाइम पाइने भएकाले पनि सिम लिन लागको उनले बताइन्। उनका अनुसार यूवापिढीले यस्तो प्रविधिमूलक मेलामार्फत धेरै जानकारी पाउन सक्छन्। त्यसैले वर्षको एक पटक नभई यस्तो मेला पटक पटक भइरहनुपर्ने उनले बताइन्। 
दाङबाट प्लस टु सकाएर आएकी सिमरन भट्टराईका लागि भने क्यान सफ्टटेक विलकुलै नयाँ अनुभव भएको छ। 'अहिलेसम्म यस्तो मेलामा आएकी थिइन, निकै उत्साही भएकी छु ' उनले भनिन्। उनी पनि टेलिकमको थ्रीजी सिम लिनेहरुकै भीडमा मिसीन पुगिन्। 


विशेषगरी प्रविधिमा विशेष रुची भएका जोकोहीले पनि अवलोकन गर्न सक्ने यस मेलामा ७० प्रतिशतभन्दा बढी यूवावर्ग भएको उनको अनुमान छ। उनका अनुसार सूचना तथा प्रविधिका पछिल्ला विकासबारे जानकारी दिने, प्रविधिलाई आम जनतामाझ पुर्‍याउने र प्रविधिबारे जनचेतना फैलाउने मेलाको मुख्य उद्देश्य रहेको उनले बताए। प्रविधिबाट अछुतो रहन नसक्ने युवावर्गलाई लक्षित गरेर यसमेलालाई प्रविधिमैत्री बनाउन तत्पर रहेको उनले सुनाए। 
विभिन्न कम्पनीको लागि आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्ने थलो समेत बनेको छ क्यान सफ्टटेक। यसै मेलामा लेजर इन्फोटेकले 'टचकोन' ब्रान्डको मोवाइल सार्वजनिक गरेको छ। १८ हजारदेखि २४ हजार ९ सय रुपैया बराबरको यि स्मार्टफोन मेलामा विशेष छुटमा खरिद गर्न सकिने बताइएको छ। कम्पनीले टि–९०७ र टि ९०९ मोडलको छुटाछुटै ट्याब्लेट पनि प्रदर्शनीमा राखेको छ। मेलामा व्रेन डिजिट आइटी सोलुसनले 'होटल रिजर्भेसन सिस्टम' नामक एप्लिकेसन सार्वजनिक गरेको छ भने जिल इन्टरप्राइजेजले इन्टेक्स ब्रान्डको रेवाइ ट्याब्लेट सार्वजनिक गरेको छ। त्यस्तै शक्तिव्य ट्रेड कर्न्सन प्रालिले 'एन्टि रेडिएसन एन्ड बायो इनर्जी' उत्पादनहरु मेलामा राखेको छ। 


मेलामा मेगाटेकले सिसिटिभी र जिएसएम राउटरलाई केन्द्रित बजार प्रवर्द्धन गरिरहेको छ। मेगाटेकले विद्यालय, क्याम्पसका लागि उपयोगी इन्ट्रयाक्टिभ बोर्ड ल्याएको छ। एस–पावर बिपिइ प्रालिले एउटै कम्प्युटरलाई १० देखि १ सय जना सम्मले चलाउन सक्ने क्षमताको राउटर प्रदर्शन गरिरहेको छ। उसले एसजि–टिसी–एन ८००० एच, एसजी–टिसी–३०० एमएम, एइसजी–टिसी–एक्स ८६र एसजी–टिसी–एलआर१ एन३ युु मोडलको राउटरहरु विशेष छुटमा विक्री गरिरहेको छ।

प्रकाशित: २० भाद्र २०७० २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App