२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

उड्न तयार भयो साइकल

लण्डन– हलिउडको फिल्म 'इ टी' हेर्नु भएको छ भने बिएमएक्स रेसिङ साइकलमा बालबालिका उडेको तपाईंलाई पक्कै सम्झना होला। बालबालिका उडेको देखेपछि तपाईंलाई पनि त्यसरी नै साइकलमा आफ्नो घरमाथिबाट उड्दै जूनमा उत्रन मन लागेन? फिल्मी फ्यान्टासी लाग्ने यस्तो उड्ने वायुपंखी साइकल अब वास्तविकतामा परिणत भएको छ। दुई बेलायतीले आविष्कार गरेको उड्ने साइकल 'पाराभेलो' तयार छ आकाशमा उड्न।बेलायतका दुई उडान उत्साही ३७ वर्षे जोन फडेन र ४२ वर्षे यानिक रीडले आफूद्वारा निर्माण गरेको दुई पांग्रे साइकलको 'एक्सप्लोरएयर पाराभेलो' न्वारन गरेका छन्, जुन वायुयानमा परिणत हुन्छ। बेलायती आविष्कारक द्वयले उक्त साइकल विश्वको पहिलो उड्ने साइकल भएको दाबी गरेका छन्।

पाराभेलोको गति सडकमा भन्दा आकाशमा बढी छ। पाराभेलोलाई सडकमा २५ माइल प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ भने २५ माइल प्रतिघण्टाको गतिमा उडाउन सकिन्छ। यो वायुपंखी साइकल आकाशमा चार हजार फिटको उचाइसम्म पुग्नसक्छ।

आविष्कारकमध्येका फडेन भन्छन्, 'वायुयानका आविष्कारक राइट दाजुभाइ पनि साइकल मेकानिक थिए। त्यसैले साइक्लिङ र हवाइ उडानको सुरुवातबीच निकट सम्बन्ध छ। हामीले साइक्लिङ र उडानबीचको भावनात्मक सम्बन्धलाई पाराभेलोका रुपमा वास्तविकतामा उतार्यौं ।'

झट्ट हेर्दा वायुपंखी साइकल परम्परागत साइकलजस्तै लाग्छ। तर यसमा ठूलो पंखायुक्त एउटा हलुका ट्रेलर जोडिएको छ। ट्रेलरमा इन्जिनका लागि इन्धन र दोब्र्याउन सकिने गरी पखेटाका रुपमा अरु दुई पांग्रासमेत जडान गरिएको छ। साथै पाराभेलोमा उडानका लागि एउटा प्यारासुट समेत छ। पाराभेलोको एयरफ्रेम र साइकल दुवैको निर्माण भने विमान निर्माणमा प्रयोग हुने एलुमिनियमबाट गरिएको छ।

साइकल सडकमा कुदाउनु परे ट्रेलर छुट्याउन पनि सकिन्छ। उडाउनु परे साइकल र ट्रेलर जोडेर स्वरुप बदल्दै तीन पांग्रे 'प्यारा–ट्राइक' बनाउनु पर्छ। विङका रुपमा दुई पांग्रा फैलिन्छन् र विद्युतीय स्टार्टरले २४९ सीसी इन्जिन चालु गर्छ। साइकल दौडको म्याराथुन 'टुर डे फ्रान्स'मा थाकेका बेला आफ्नोसामु उकालो ढिस्को आएका बेला सहभागीहरूले पाराभेलो चढ्ने इच्छा राख्न सक्छन्।

तर पाराभेलोलाई उडान भर्नुअघि टेक अफका लागि अवरोधविहीन लामो खुला मैदान आवश्यक पर्छ। तर एकपल्ट उडीसकेपछि भने पाराभेलो तीन घण्टासम्म आकाशमा उड्न सक्छ। वायुपंखी साइकलका दुवै आविष्कारकका अनुसार साइकललाई उडानका बेला परम्परागत पंखाबाट चल्ने प्याराग्लाइडरजस्तै नियन्त्रण गर्न सकिन्छ।

वायुपंखी साइकलमा जडित पंखासमेत खोलखाल पारी झोलामा बोकेर हिंड्न सकिन्छ। यसरी पंखा खोलेर झोलामा हाली पिठ्यूँमा बोकेपछि पाराभेलो साइकल मात्र हुन्छ। यसरी बोकेपछि तपाईंले यसलाई अमेरिका र बेलायतसहित विश्वका अधिकांश देशमा गएर पनि कुदाउन/उडाउन सक्नुहुन्छ। न कुनै उडान लाइसेन्स चाहिन्छ, न कुनै ब्ल्यु बुक नै। अँ, अमेरिकामा भने त्यहाँको युनाइटेड स्टेट्स पावर्ड प्याराग्लाइडिङ एसोसिएसनले भने प्याराग्लाइडिङ उडान प्रशिक्षण लिनुपर्ने बाध्यकारी सिफारिश भने गर्छ। प्याराग्लाइडिङ उडान प्रशिक्षण नलिएकालाई भने त्यहाँ पहाडको ढिस्कोबाट नयाँ पाराभेलोसहित हाम्फाल्न सल्लाह दिनु अनुचित हुन्छ।

सार्वजनिक यातायातको साधनका रुपमा पाराभेलो निकै सानो छ। पूरै साइकल ग्यारेजको एउटा कुनामा वा घरको माथ्लो तलामा लगेर राख्न सकिन्छ। इन्भार्नमेन्टल ट्रान्सपोर्ट एसोसिएसनका निर्देशक एन्ड्रु डेभिस भन्छन्, 'पुस्तौंदेखि यातायातका साधनमा लोकप्रिय कारलाई वायुपंखी पाराभेलोले उछिन्न सक्छ।'

सानैदेखि नै रीडसँग मिलेर फडेन वायुपंखी साइकल बनाउन चाहन्थे। फडेन भन्छन्, 'हामी दुवै लण्डनको बाहिरी भाग टेम्सनजिकै किङस्टनमा बस्थ्यौं। हाम्रो बसोबास विमान निर्माण गर्ने बेलायती कम्पनी सोपविद एभिएसनबाट दुई मिनेटको दूरीमा थियो। सोपविदले रोयल एयर फोर्सका लागि पहिलो विश्वयुद्धमा लडाकु विमान निर्माण गरेको थियो। हामी दुवै उड्ने साइकल बनाउने सपना देख्दै विमान कम्पनी वरिपरि साइकलमा डुल्थ्यौं।'

फडेन र रीडले निर्माण गरेको पाराभेलोको मोल १६ हजार अमेरिकी डलर(१० हजार बेलायती पाउण्ड) छ। दुवैले सहरभित्र डुल्नेदेखि साइकलमा घुम्नेसम्मलाई पाराभेलो मन पर्ने अपेक्षा राखेका छन्। उनीहरू पाराभेलो सीमा गस्ती र वन रक्षकका लागि कम खर्चिलो र सजिलो उडानको साधन बन्न सक्ने बताउँछन्।

वायुपंखी साइकल पाराभेलो उडानको फिल्म युट्युबमा राखिएको छ। तपाईंलाई वायुपंखी साइकलको उडान हेर्न मन लागे सर्च गर्नुस्, हेर्नुस् अनि उडाउन मन लागे पाराभेलो किनेर एउटा हेल्मेट र प्यारासुट बोक्नुस् अनि थाल्नुस् खुट्टा चलाउन पाइडलमा।

प्रकाशित: ७ असार २०७० ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App