नेपाल टेलिकमबाट प्रवाह हुने सेवाको गुणस्तरमा तत्काल ल्याउन सकिने सुधारका विषयमा मन्त्रालयका सचिव, दूरसञ्चार प्राधिकरणका पदाधिकारी, टेलिकमका कार्यकारी निर्देशक एवम् जिएसएम निर्देशनालयका निर्देशकसँग सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित छलफलका क्रममा मन्त्री पौडेलले सो निर्देशन दिएका हुन्।
छलफलमा हाल दूरसञ्चार कम्पनीले प्रदान गर्ने सेवाबारे उठेका जनगुनासा, कम्पनीले सामना गर्नुपरेका समस्या र समाधानका लागि तत्काल दिन सकिने राहत एवम् गर्न सकिने सुधारका विषयमा कार्यक्रम बनाइ बढीमा १५ दिनभित्र पेस गर्न निर्देशन दिनुभएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
मोबाइल सेवामा सुधारको प्रयास गरिरहेका छौं : टेलिकम
नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको गुणस्तर वृद्धि गरी सेवालाई अझ भरपर्दो तथा विश्वसनीय बनाउनका लागि विभिन्न किसिमका उपायहरू अवलम्बन गरेको जनाएको छ। टेलिकमद्वारा बिहीबारै जारी विज्ञप्तिमा मुलुकको विद्यमान ऊर्जा सङ्कटका कारण मोबाइल सेवाको गुणस्तरमा परिरहेको प्रभावलाई न्यूनीकरण गर्न बढी ऊर्जा खपत गर्ने पुराना उपकरणलाई कम ऊर्जा खपत गर्ने उपकरणहरूबाट प्रतिस्थापन गर्ने कार्यलाई कम्पनीले निरन्तरता दिएको छ।
सो कार्यबाट सम्बन्धित बिटिएसहरूमा खपत हुने ऊर्जामा ६० प्रतिशतले कमी आई मोबाइल सेवाको उपलब्धता वृद्धि गर्न सफलता मिलेको टेलिकमले जनाएको छ। यस्तैगरी कम्पनीले मोबाइल सेवाको गुणस्तरमा सुधार ल्याउन मुलुकभरका कम क्षमताका पुराना ब्याट्रीलाई उच्च क्षमताका नयाँ ब्याट्रीबाट प्रतिस्थापन गर्दै आएको स्पष्ट गरेको छ।
यस आर्थिक वर्षको प्रथम आठ महिनामा २५० बिटिएस साइटमा उच्च क्षमताको ब्याट्री जडान सम्पन्न गरिएको छ। साथै यस आर्थिक वर्षको अन्त्यसम्ममा थप १५० स्थानमा उच्च क्षमताका नयाँ ब्याट्री जडान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
मोबाइल सेवाको क्षमता र पहुँच विस्तार गर्न कम्पनीले मुलुकका सहरी एवम् ग्रामीण क्षेत्रहरूमा बिटिएस जडान कार्यलाई निरन्तरता दिँदै यस आर्थिक वर्षको फागुन महिनासम्ममा १५० भन्दा बढी बिटिएस टावर जडान गरी सेवा सञ्चालन गरिन लागेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं उपत्यकाको मोबाइल सेवाको मर्मत कार्यलाई प्रभावकारी बनाइ सेवाको गुणस्तर अभिवृद्धि गर्न मर्मततर्फ हरेक दिन १२ घण्टा कार्य गर्न आवश्यक व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ। रासस
प्रकाशित: १५ चैत्र २०६९ १२:४१ बिहीबार





