१६ चैत्र २०८० शुक्रबार
प्रविधि

भूउपग्रह सञ्चालन गर्न नयाँ प्रस्ताव आह्वान

  नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ। गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो।      

प्राधिकरणले बुधबार सूचना जारी गर्दै अन्तरराष्ट्रिय दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको कक्षमा भूउपग्रह स्थापनाको तयारी गर्दै अन्तरराष्ट्रिय परामर्शदाताबाट आशयपत्र मागेको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार आशयपत्रमा ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा परामर्शदाता छनोट गरिनेछ। परामर्शदाताले भूउपग्रह नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, भूउपग्रह स्थापनाको बोलपत्र आह्वान गर्दा स्पेसिफिकेसन तयार पार्नुपर्ने, भूउपग्रहको व्यावसायिक सम्भाव्यताको खोजी गर्नुपर्ने र स्थापना भएपछिको नियमनको परामर्श सेवा दिनुपर्ने उनले जानकारी दिए।  

सन् २०२२ भित्र आफ्नै भूउपग्रह सञ्चालनमा ल्याउने जनाउँदै गत असारमा भूउपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो। यसअघिको आशयपत्रमा नेपालको आफ्नै भूउपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले भूउपग्रह राख्न रुचि देखाएका थिए।      

चीन, भारत, थाइल्याण्ड, सिङ्गापुर, जापान, दक्षिण कोरिया, साउदी अरब, इजरायल, क्यानडा, फ्रान्स, रुस र अमेरिका गरी २२ कम्पनीले नेपालका लागि भूउपग्रह राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए। दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भूउपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ। रासस      

 

 

प्रकाशित: ३ पुस २०७७ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App