पछिल्लो बाघ गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या अघिल्लो गणनाको १२५ बाट घटेर ११२ मा पुगेको छ। चार वर्षको अवधिमा १३ वटा बाघको संख्या घटेपछि यसको वास्तविक कारणबारे विभिन्न प्रश्न उठ्न थालेका छन्। नागरिक तहमा ‘चार वर्षमै १३ वटा बाघ कसरी घटे?’ भन्ने जिज्ञासा बढ्दो छ।
संरक्षणकर्मीहरूले भने बाघको संख्या घट्नुका पछाडि प्राकृतिक मृत्यु, व्यवस्थापनका लागि अन्यत्र स्थानान्तरण तथा समस्याग्रस्त बाघको उद्धार प्रमुख कारण हुन सक्ने प्रारम्भिक विश्लेषण गरेका छन्।
उनीहरूका अनुसार प्राकृतिक कारणले आठ वटा बाघ मरेका छन्। निकुञ्जको रम्मापुर र मुख्यालय ठाकुरद्वारास्थित उद्धार केन्द्रमा गरी पाँच वटा बाघ राखिएको तथा एउटा बाघ चिडियाखानामा पठाइएको अभिलेख रहेको कर्मचारीहरू बताउँछन्।
निकुञ्जभित्र क्षेत्रीय प्रभुत्वका कारण बाघ–बाघबीच हुने संघर्षमा आठ वटा बाघको प्राकृतिक मृत्यु भएको अभिलेख रहेको संरक्षणकर्मीहरूको भनाइ छ। विशेषगरी वयस्क भाले बाघबीच क्षेत्र नियन्त्रणका लागि हुने यस्ता संघर्षलाई बाघको प्राकृतिक जीवनचक्रकै हिस्सा मानिने निकुञ्ज प्रशासनको तर्क छ।
यी तथ्यलाई आधार मान्दा अघिल्लो गणनापछि भएका प्राकृतिक मृत्यु, स्थानान्तरण र उद्धारमा रहेका बाघको संख्या जोड्दा हालको गणनामा देखिएको १३ वटाको कमी स्वाभाविक हुन सक्ने संरक्षणकर्मीहरूको निष्कर्ष छ। तर, अर्कोतर्फ पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्नु वा आहार व्यवस्थापनमा कमजोरी हुनु पनि कारण हुन सक्ने चर्चा भइरहेको छ।
मानव–वन्यजन्तु द्वन्द्व पनि चिन्ताको विषय
बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत समुदायमा खर्च गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै स्थानीय असन्तुष्ट छन्। उनीहरूका अनुसार समुदायमा न्यायोचित रूपमा आम्दानीको स्रोत परिचालन हुन नसक्दा पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ।
यस्तै, पछिल्ला वर्षहरूमा बाघको आक्रमणका घटना बढेपछि स्थानीय तहमा अर्को आशंका पनि फैलिएको छ। केही स्थानीयले चितुवाको आक्रमणलाई समेत बाघको आक्रमणका रूपमा बुझ्ने गरेका कारण बाघप्रतिको धारणा नकारात्मक बन्दै गएको बताइन्छ।
मध्यवर्ती क्षेत्रका कृष्ण चौधरीले मानव–वन्यजन्तु द्वन्द्वको दबाब कम देखाउन निकुञ्ज प्रशासनले बाघको संख्या कम देखाएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यस्तो दाबीमा कुनै सत्यता नरहेको स्पष्ट पारे।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने गणना विश्वसनीय : विभाग
प्रवक्ता ढकालका अनुसार बाघ गणना अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्यामेरा ट्र्याप, पगमार्क, बासस्थान विश्लेषण तथा वैज्ञानिक तथ्याङ्कका आधारमा गरिने भएकाले यसको विश्वसनीयता उच्च छ। उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा अपनाइने विधि र प्रविधि त्रुटिरहित मानिन्छ।
उनले करिब १०० वटा बाघको संख्या स्थायित्वको सूचक मानिने बताए। यदि संख्या सयभन्दा निकै तल झर्ने अवस्था आए मात्रै चिन्ताजनक मानिने उनको भनाइ छ।
ढकालका अनुसार बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज आपसमा जोडिएका क्षेत्र भएकाले बाघको आवतजावत स्वाभाविक हुन्छ। उनले बाँके राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनाको तुलनामा २६ वटा बाघ बढेको उल्लेख गर्दै नयाँ बासस्थानप्रति आकर्षणका कारण केही बाघ अन्यत्र सरेका हुन सक्ने सम्भावना पनि औँल्याए।
संख्या मात्रै होइन, समग्र अवस्थाको विश्लेषण आवश्यक
संरक्षणकर्मीहरूका अनुसार बाघ संरक्षणको मूल्याङ्कन गर्दा संख्या मात्रै होइन, बासस्थान, आहारा, प्रजनन अवस्था, प्राकृतिक मृत्यु र मानव–वन्यजन्तु द्वन्द्वलाई पनि समान रूपमा विश्लेषण गर्न आवश्यक हुन्छ। उनीहरूका अनुसार संख्या घट्दैमा संरक्षण असफल भयो भन्ने निष्कर्षमा पुग्न मिल्दैन।
प्रवक्ता ढकालले अघिल्लो गणना (२०१३) मा चितवनमा पनि बाघको संख्यामा उतारचढाव देखिएको स्मरण गराए।
प्राविधिक व्याख्याको माग
नेपालकै प्रमुख बाघ संरक्षण क्षेत्रमध्ये एक मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको विषयमा निकुञ्ज प्रशासन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्पष्ट प्राविधिक व्याख्या गर्नुपर्ने माग स्थानीयको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बाघको संख्या लुकाउने वा तथ्याङ्कमा हेरफेर गर्ने कुनै सम्भावना नरहेको बताए। उनले भने, “बाघ गणनाको विधि र प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुन्छ। बाघको संख्या गणना गर्दा अन्तर्राष्ट्रिय मापदण्डका विधि र प्रक्रिया अपनाइन्छ।”
प्रकाशित: १३ श्रावण २०८३ १९:४५ बुधबार



-600x400.jpg)

