२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

बेतारे इन्टरनेटले गाउँमा सुविधा र अवसर

धुर्कोट (गुल्मी),  माघ ३ - ताररहित इन्टरनेट सेवा विस्तार भएपछि बिजुली नपुगेका जिल्लाका विकट गाउँहरूमा सूचना प्रविधिको पहुँचसँगै युवाहरूमा रोजगारीसमेत बढाएको छ।

इन्टरनेट सुविधाले विदेशमा रहेका आफन्तसँग गाउँमै बसेर कुराकानी गर्न सहज हुनुका साथै सर्वसाधरणले गाउँमै बैँकिङ सुविधा पनि पाएका छन्। वायु डट कमको सहयोगमा वर्ड लिङ्कमार्फत रेसुङ्गा नेट प्रालिले जिल्लाका विद्युत् सेवा नपुगेका र दुर्गम क्षेत्रहरूमा ताररहित इन्टरनेट सेवा पुर्‍याएको हो।

इन्टरनेट सेवासँगै गाउँका अधिकांश स्थानमा बेरोजगार युवाहरूले कम्प्युटर इन्स्टिच्युट र साइबर खोलेर ई-मेल इन्टरनेट सुविधा, नेट फोनलगायतका सुविधा दिइरहेका छन्। दिनहुँ ई-मेल इन्टरनेट प्रयोगले ग्रामीण क्षेत्रका गृहिणीदेखि विद्यार्थीसम्मलाई प्रविधि र विदेशिएकासँग नजिक बनाइदिएको छ। इन्टरनेटमार्फत हुने दैनिक विप्रेषणको कारोबारसमेत ग्रामीण क्षेत्रमा बढी छ।

प्रालिका अध्यक्ष श्याम क्षेत्रीका अनुसार जिल्लाका अर्खले, दुविचौर, बलेटक्सार, वामीटक्सार, शृङ्गा, वीरवास, शान्तिपुर, खैरेनी, मजुवा, रूपाकोट, मुसिकोट, बडागाउँ, गौंडाकोट, धुर्कोट, सिमलटारीलगायतका स्थानमा ताररहित इन्टरनेट सुविधा पुगेको छ।

"गाउँमा कहिल्यै आउलाजस्तो नलागेको इन्टरनेट सेवा आएपछि मेरो आम्दानी नै बढेको छ,"- वायरलेस इन्टरनेट प्रविधिबाट सञ्चार सेवा सञ्चालन गरेका वामीटक्सारका सञ्जीव कक्षपतिले भने,- "युवायुवतीदेखि वृद्धवृद्धासम्म कम्प्युटरमा आउने गरेका छन्।' कक्षपतिले आफूकहा" सस्तोमा विदेशमा फोन सेवासहित ई-मेल इन्टरनेटसम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध रहेको बताए।

इन्टरनेट सुविधा उपलब्ध भएपछि विदेशमा रहेका तथा गाउँका युवायुवती र वृद्धवृद्धामा बढी उत्साह थपिएको कक्षपतिले बताए। "च्याटमा अनुहार हेरेर कुरा गर्न पाउ"दा बुढापाकाहरू पनि दङ्ग पर्ने गरेका छन्," उनले भने।

गाउँमा वायरलेस इन्टरनेट प्राविधि भित्रिएपछि गाउँका सर्वसाधारणले गाउँमै बंैकिङ सुविधासमेत पाएका छन्। विकास बैंकले इन्टरनेट प्रविधिको प्रयोगबाटै शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, बलेटक्सारमा बैंकका शाखा विस्तार भएका छन्।

रेसुङ्गा विकास बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने,- "यो प्रविधिले कल्पनै गर्न नसकिने स्थानका सर्वसारधणलाई समेत सुविधा पुर्‍याएको छ।" इन्टरनेट सेवा विस्तार भएपछि गाउँमा खुलेका शाखाहरूमार्फत अन्तरबैंकिङ कारोबार सहज भएको श्रेष्ठले बताए। "यसले गाउँमा दैनिक लाखौँको विप्रेषणसमेत सजिलै भित्रिएको छ",- उनले भने।

गाउँमा इन्टरनेट जडान गर्न सुरुमा रु छ हजार र त्यसपछि मासिक रु एक हजार ६५० तिरेपछि अनलिमिटेड सुविधा पाइने गरेको ठूलापोखरामा साइबर क्याफे सञ्चालन गरेका भोजराज भुसालले बताए। 'यसबाट आफ्नो मासिक रु २० हजारसम्म आम्दानी बढेको छ'- उनले भने। रासस

प्रकाशित: २ माघ २०६९ २३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App