युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमण नहुँदै विवाद भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ।
प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन।’
संस्थाले आफ्नो नाम, ईआईएन नम्बर र डिजिटल पहिचानको दुरुपयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ।

यस्ता गतिविधिले संस्थाको साखमा आँच पुग्ने र गम्भीर कानुनी तथा आर्थिक जोखिम निम्त्याउने चेतावनी दिँदै सर्वसाधारणलाई आधिकारिक माध्यमबाट आएका सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ।
मन्त्री गुप्ता माघ ३ गते एनआरएनएसँग सम्बन्धित भनिएको युवा कार्यक्रममा सहभागी हुन अमेरिका जाने तयारीमा छन्। उनको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत पनि गरिसकेको छ। अहिले एनआरएन विभाजित भएका कारण अर्को समुहले मन्त्री गुप्तालाई आमन्त्रण गरेको बुझिएको छ।
प्रकाशित: २५ पुस २०८२ १०:०९ शुक्रबार





