यस प्रदर्शनीमा टोयोटा तथा अडीले गुगलको सहयोगमा स्वचालित गाडीलाई अगाडि बढाएका छन्। यस प्रविधिलाई अन्य गाडी निर्माताले पनि उपयोग गर्ने अनुमान गरिएको छ। प्रदर्शनीमा टोयोटाले इलेक्ट्रोनिक उपकरणले भरिएको लेक्सस सेडानलाई प्रस्तुत गरेको छ र यस गाडीको चारैतिर के छ भन्ने थाहा पाउन यसमा सूचक तथा क्यामरा जोडिएको छ।
टोयोटा नर्थ अमेरिकाका व्यवस्थापक जिम पिजले यो गाडी आफै सञ्चालन हुनसक्ने तर यसका लागि अनुमति नदिइएको बताउनुभयो। गुगलले यसमा इलेक्ट्रोनिक सामग्री उपयोग गर्न सहयोग गरेको छ र यो संस्था नक्साको क्षेत्रमा निकै शक्तिशाली देखिएको छ। टोयोटाले सुरक्षा तथा एकीकृत व्यवस्थामा ध्यान दिएको छ। हाल यी गाडीहरू चालकविहीन रूपमा अनुसन्धान केन्द्रहरूमा सञ्चालन भइरहेको बताइएको छ।
यस्तै गाडीहरूलाई लस भेगासको प्रदर्शनमा विभिन्न आठ संस्थाले प्रस्तुत गरेको बताइएको छ। जर्मनीको गाडी निर्माता उल्रिच होफम्यानले आउँदो पाँचदेखि आठ वर्षमा यी गाडीहरू बजारमा आउने र हाल यसका विषयमा कानुनी व्यवस्थाहरू बनिनसकेको उल्लेख गरेको छ।
हाल गुगल कारको अवधारणाबाट प्रभावित भएर राजनीतिज्ञहरूले पनि यस विषयमा बोल्न थालेपछि अमेरिकी गाडी निर्माता फोर्डले धेरै अगाडि छोडेको यस्तो गाडी बनाउने योजनालाई पुनः अगाडि बढाएको छ।
गत सेप्टेम्बर महिनामा क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले स्वचालित गाडी सडकमा चलाउन दिने कानुनमा हस्ताक्षर गर्नुभएको थियो। यसले यस प्रविधिलाई सडकमा परीक्षण गर्न दिन सहयोग गर्नेछ। नेभेदाले गुगलको स्वचालित गाडीलाई आफ्नै नम्बर प्लेट राखेर सडकमा सञ्चालन गर्न दिने अवस्था सिर्जना भएको छ।
प्रकाशित: २६ पुस २०६९ ००:३८ बिहीबार





