सूचना प्रविधिसम्बन्धी नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी क्यानका बारेमा आइफोन र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोनका प्रयोगकर्ताले 'एन-लोकेट' नामक एप्समार्फत जानकारी लिन सक्नेछन्। नेपवेज प्रालिले विकास गरेको यो एप्समार्फत अवलोकनकर्ताले आगामी माघ १५ पछि क्यान इन्फोटेकका सहभागी कम्पनी, सामानहरु, सामाना ब्रान्ड, सेवालगायतको बारेमा जानकारी लिन पाउने छन्।
'आफूले चाहेका सामग्री र कम्पनीको बारेमा जानकारी लिएर प्रदर्शनीमा आउन अवलोकनकर्तालाई सजिलो होस् भनेर यस्तो व्यवस्था गरेका हौ,' बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यानका महासचिव अमृतकुमार पन्तले भने, 'यसले सूचनाप्रविधि प्रयोग गर्ने संस्कृतीको पनि विकास गराउँछ।' 'एन-लोकेट'मार्फत स्मार्टफोन प्रयोगकर्ताले हाल होटल, अस्पताल, सरकारी अफिस, रेष्टुरेन्ट, मिडिया, बैंक, एटिएम, बस स्टेसन, एयरपोर्ट, आकस्मिक सेवालगायतका बारेमा जानकारी पाउदै आएका छन्।
यसैगरी स्मार्टफोन प्रयोग नगर्ने ग्राहकले पनि प्रदर्शनी गरिने सामान तथा सेवाको बारेमा एसएमएसमार्फत जानकारी पाउने छन्। यसका लागि ग्राहकले म्यासेज बक्समार्फत 'क्यान' लेखेर स्पेस दिई आफुले चाहेको सामान वा ब्रान्डको नाम टाइप गरी ५००१ पठाउन सक्नेछन्। स्प्यारो एसएमएससँगको सहकार्यमा आगामी माघ १५ गते पछि यो सेवा सुरु हुनेछ। यो कम्पनीले क्यान इन्फोटेकबाटै डिजिटल भिजिटिङ कार्ड प्रणालीको पनि सुरुवात गर्नेछ।
राजधानीको भृकुटीमण्डपमा आगामी माघ २४ देखि २९ गतेसम्म हुने क्यान इन्फोटेकको १९ औ संस्करणमा विभिन्न कम्पनीले नयाँ-नयाँ सूचनाप्रविधि सम्बन्धी सामग्री प्रदर्शन गरिने छन्। यसपटकको क्यान इन्फोटेकको शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् रहेको छ। आयोजकले यसपटकको प्रदर्शनीलाई 'मिदास क्यान इन्फोटेक-२०१३' नामाकरण गरेर सञ्चालन गर्ने भएका छन्।
यसैगरी यस संस्करणमा प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस पावर विपिई र माया एनिमेशन एकेडेमी एवं प्रिन्ट स्पोन्सरमा फोन-पे प्रालि रहेका छन्।
यसपटकको क्यान इन्फोटेकमा शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज्ले यो प्रदर्शनीमार्फत 'घोकेर होइन बुझेर पढौं' भन्ने नाराका साथ 'मिदास ई-क्लास'को सुरुवात गर्ने भएको छ। 'हामीले 'ई-क्लास'मा कक्षा एक देखि १० सम्मका सबै पाठ्यक्रमहरुलाई समेटेर अडियो भिडियोका माध्यमबाट पठाउन सकिने बनाएका छौ,' मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीले पत्रकार सम्मेलनमा भने, 'यसमार्फत बालबालिकाले कार्टुन फिल्म हेरेजस्तो गरि सिक्नसक्नेछन्।' मिदासले यसअघि नै विभिन्न खाले सूचनाप्रविधिका माध्यमबाट अध्ययन अध्यापन गराउने टुलहरु ल्याइसकेको छ।
इन्फोटेकमा प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले विन्डोज-एट अपरेटिङ सिस्टम भएका डेल ब्रान्डका ल्यापटप र ट्याब्लेट, नेपाली एप्लिकेसनहरु चल्ने विन्डोज-एट नोकिया लुमिया मोवाइललगायतका नयाँ ग्याजेट्स बजारमा ल्याउने छ। यसैगरी डायमण्ड स्पोन्सर वेेवसर्फरले इन्टरनेट प्याकेजमा विषेश छुट दिनेछ।
गोल्ड स्पोन्सर नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको बारेमा जानकारी, इ-भिडियो सेवाको बारेमा विशेष जानकारी दिनुका साथै प्रदर्शनी स्थलमा मोवाइल प्रयोगको चापलाई ध्यान दिदै मोबाइल विटिएस(टावर) भ्यान राख्नेछ। अर्को गोल्ड स्पोन्सर जेनेरेसन नेक्स्टले डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम-११० मोडेलको हत्केलामा अट्ने खालका प्रोजेक्टरहरु प्रदर्शनीमा राख्नेछ। यसले १२ कक्षा भन्दा माथि अध्ययन गर्ने विद्यार्थीका लागि डेल ल्यापटपको खरीदमा विन्डोज-एट अपरेटिङ सिस्टम निःशुल्क उपलब्ध गराउने छ।
सिल्भर स्पोन्सर एस पावर विपिइले फर्चुनर ब्रान्डका एक सय भिएदेखि देखि १५ केभिएसम्मका सोलार इन्भर्टर, एक केभिएदेखि ४ हजार ८ सय केभिएसम्मका विपिई अन लाइन युपिएस प्रदर्शनीमा विशेष छुटका साथ राख्नेछ। अर्को सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले अवलोकनकर्तालाई थि्रडी एनिमेसन फिल्म बनाउने विषयमा प्रदर्शनी स्थलमै जानकारी दिलाउने छ। प्रिन्ट स्पोन्सर फोन-पे प्रालिले आर्थिक कारोबार र किनमेललाई मोबाइल एवं इन्टरनेटको माध्यमबाट सहजीकरण गर्ने सेवाको बारेमा जानकारी दिनेछ।
यसपटकको प्रदर्शनीमा ४ लाख ५० हजार भन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ। साधारण अवलोकनकर्तालाई एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको क्यान इन्फोटेकमा विद्यार्थीलाई भने ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। माघ २८ गतेलाई 'बिजनेस डे'कोरुपमा क्यानले घोषणा गरेको छ। यसदिन पनि प्रवेश शुल्क एक सय रुपैयाँ नै तोकिएको छ। प्रदर्शनीमा सरकारी विद्यालयबाट अग्रीम लिखित अनुरोध सहित आएका विद्यार्थीलाई प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यसैगरी यसपटक प्रदर्शनीको अनलाइन टिकट खरीदको व्यवस्था समेत छ।
अनलाइन टिकट माघ १५ देखि 'क्यानडट ओआरजी डटएनपी' र 'क्यानइन्फोटेक डटओआरजी डटएनपी' वेवसाइट मार्फत लगअन गरि खरिद गर्न सक्नेछन्। अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। प्रदर्शनीमा हलभित्र ३९ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, हल बाहिर एउटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा १ सय ४४ वटा, ओपन स्पेस १३ वटा, वालमा ७ वटा र फुड स्टल १५ गरी जम्मा २ सय १९ वटा स्टल रहनेछन्।
यसपटकको प्रदर्शनीलाई थप व्यवस्थित बनाउन पहल गरिएको आयोजक क्यानका अध्यक्ष विनोद ढकालले बताए। उनले सूचना प्रविधिको विकासको बारेमा जानकारी दिन र नयाँ-नयाँ प्रविधिको ज्ञान जगाउनका लागि प्रदर्शनी गर्न लागिएको जानकारी दिए। 'भिडलाई व्यवस्थित गर्न हामीले अघिल्ला वर्षका कमजोरीलाई आत्मसाथ गर्दै उचित व्यवस्था गरेका छौ,' ढकालले भने, 'यसपटकको प्रदर्शनी सफल हुनेमा हामी विश्वस्त छौ।'
ई-डेमोक्रेसी कार्यशाला
क्यान ईन्फोटेककौ अवसरमा यसपटक भने ई-डेमोक्रेसी शिर्षकमा १३ औं सूचना प्रविधि सम्मेलन हुनेछ। क्यान इन्फोटेकको बिचमा माघ २६ र २७ गते होटेल याक एन्ड यतीमा क्यान र इन्टरनेट सोसाइटी नेपाल च्याप्टरको संयुक्त आयोजनामा सम्मेलन हुनेछ।
'सम्मेलनमा सिंगापुर, कोरिया, भारतलगायतका विज्ञहरुको पनि उपस्थिती हुनेछ,' इन्टरनेट सोसाइटीका अध्यक्ष बाबुराम अर्यालले पत्रकार सम्मेलनमा भने, 'लोकतन्त्र र सूचना प्रविधिको समन्वयका विषयमा छलफल हुनेछ।' सम्मेलनमा ई-डेमोक्रेसी ईन्स्फ्रास्ट्रक्चर, सेक्युरिटी एन्ड डाटा प्रोटेक्सन, ई-पार्टिसिपेसन इन डेमोक्रेसी प्रोसेस, फ्रिडम अफ एक्सप्रेसन अनलाइन विषयमा प्यानल छलफल हुनेछन्।
प्रकाशित: २५ पुस २०६९ १२:३७ बुधबार





