२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
विचार

विश्वमा ट्रम्पवादको प्रभाव

अठोट

हालको विश्व राजनीति हेर्दा यस्ता घटनाक्रम देखिँदै आएका छन्, जसले विशेष गरी एक विश्व नेताको कम्तीमा भन्नुपर्दा डोनाल्ड ट्रम्पको भूमिकामाथि धेरै प्रश्न उठाउने ठाउँ निस्केका छन्। उनका पछिल्ला कदम निरन्तर रूपमा स्वेच्छाचारी र तानाशाही प्रकृतिका देखिन्छन्, जसले संयुक्त राज्य अमेरिकाले गर्व गर्ने लोकतान्त्रिक मूल्यमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।

ट्रम्पवाद एक सोच हो। यस्तो सोचले बिस्तारै अमेरिका मात्र नभई विश्वभरका विभिन्न नेताले लोकतन्त्रको नाममा झन् झन् अलोकतान्त्रिक कदम चाल्न प्रोत्साहन गरिरहेका छन्। दोस्रो विश्वयुद्धको अन्त्य भएपछि अहिलेको चरण एक भयावह चरण भएजस्तो लागिरहेको छ। पुटिनको युक्रेनमाथिको अन्तहीन आक्रमण पनि एक शक्तिशाली देशको गैरजिम्मेवार नेताका रूपमा प्रकटिँदै छ।

त्यस्तै शक्ति प्रदर्शनको अर्को नमुना प्यालेस्टिनी नागरिकको झन्डै नरसंहार भएको पनि बिर्सन हुँदैन। सिरियालगायत अन्य मुलुकमा चलिरहेको द्वन्द्व र शान्ति स्थापना गर्ने नाममा ट्रम्पको लगातार आक्रमणलाई नियाल्दा विश्व नै शान्तितर्फ होइन, युद्धतर्फ लम्किँदै गएको छ भन्न सकिने स्थिति छ।

शनिबार, १९ पुसमा राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वव्यापी सञ्चारमाध्यमहरूमा छाएका थिए। उनले अमेरिकी सेनाले भेनेजुएलामाथि ठुलो स्तरको आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको घोषणा गरे। उनीहरूलाई आतंकवाद र लागुऔषधसम्बन्धी अपराधका अभियोगमा न्युयोर्कमा अभियोग लगाइएको छ।

ट्रम्पले मादुरोलाई ‘नार्को–आतंकवादी संगठन’ सञ्चालन गरेको आरोप लगाएका छन्। आफ्नो सैन्यशक्ति परिचालन गरेर राष्ट्रपति ट्रम्पले मादुरो र उनकी पत्नीलाई उनकै देशबाट अपहरण नै गरे। यस्तो कार्यको निन्दा अन्तर्राष्ट्रिय जगत्मा हुन थालेको छ। कुनै देशमा त्यहाँका जनताले चुनेका नेतालाई त्यसरी देशबाटै अपहरण गर्ने अधिकार ट्रम्पले कताबाट पाए? यसबारे अन्तर्राष्ट्रिय ऐनकानुनले के भन्छ त?

नार्को–आतंकवादविरुद्ध कदम चाल्नु आवश्यक छ तर के यही तरिका सही हो? भेनेजुएलाभित्र मात्र होइन, विश्वभरका धेरै मानिसको भनाइ छ– यो पक्कै पनि सही बाटो होइन।

ट्रम्पले दोस्रो कार्यकाल जित्ने मुख्य रणनीति भनेकै विश्वव्यापी द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने वाचा थियो। उनले आफूलाई नोबेल शान्ति पुरस्कारको हकदार ‘शान्तिका राष्ट्रपति’ का रूपमा प्रस्तुत गर्दै आएका छन्। विभिन्न सञ्चारमाध्यमका अनुसार उनले अहिलेसम्म विश्वभर आठवटा युद्ध अन्त्य गरेको दाबी गरेका छन् तर विश्वभर ट्रम्पका गतिविधिलाई नियाल्दा उनले आफ्नो दोस्रो कार्यकालमा अहिलेसम्म कम्तीमा सात देशमाथि आक्रमण गरिसकेका छन्।

मादुरो र उनकी पत्नीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको भेनेजुएलामाथिको आक्रमण शक्तिको प्रदर्शनका रूपमा हेरिएको छ। ट्रम्पको दोस्रो कार्यकालमा विश्वभर बढ्दो सैन्य आक्रमणहरूले उनलाई ‘शान्तिका राष्ट्रपति’ भन्नु कति उचित हो भन्ने प्रश्न उठाएको छ।

अल जजिराले गैरदलीय द्वन्द्व अनुगमन संस्था ‘आम्र्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डाटा’लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०२५ जनवरी २० मा ट्रम्प दोस्रोपटक सत्तामा आएपछि अमेरिकाले ड्रोन वा हवाईजहाज प्रयोग गरी कुल ६ सय २२ वटा विदेशी बमबारी गरेको वा त्यसमा साझेदार बनेको छ।

 भेनेजुएलामाथिको पछिल्लो आक्रमणबाहेक ट्रम्प दोस्रोपटक सत्तामा आएयता नाइजेरिया, सोमालिया, इरान, सिरियालगायत देशले अमेरिकी आक्रमणको सामना गरेका छन्। अहिले उनले क्युबा, कोलम्बिया तथा अन्य देशमाथि पनि यस्तै आक्रमण गर्ने दाबी गरिरहेका छन्।

लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई जबर्जस्ती हटाउने ट्रम्पको पछिल्लो कदमप्रति अन्तर्राष्ट्रिय समुदायमा गम्भीर प्रश्नहरू उठिरहेका छन् । विश्व शान्ति पुनः स्थापना गर्नुको साटो यो कदम आफ्ना नियम नमान्ने जोकोहीमाथि शक्ति प्रदर्शन र नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ।

यससँगै ट्रम्प प्रशासनले लागु गरेका भन्सार शुल्क वृद्धिले विश्व व्यापार र आवागमनमा ठुलो असर पारेको छ। विशेष गरी ट्रम्पले आफ्ना नियमको विरोधी ठान्ने देशलाई शान्ति स्थापना होइन, बरु विश्व परिदृश्यलाई झन् द्वन्द्व र अस्थिरतातर्फ धकेलिरहेको छ।

पदभार ग्रहणदेखि अहिलेसम्म राष्ट्रपति ट्रम्प सार्वजनिक ध्यान आकर्षण गर्न सधैं अग्रपंक्तिमा देखिएका छन्। उनको रणनीति अमेरिकी मात्र होइन, विश्व नागरिकहरूको दिमागमा आफूलाई निरन्तर राखिरहने जस्तो देखिन्छ। उनले विश्वभर डरको वातावरण सिर्जना गर्न सफल भएका छन् र अमेरिकालाई पृथ्वीको सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा चित्रित गरेका छन् तर के यही शान्ति, स्थायित्व र लोकतन्त्र पुनःस्थापना गर्ने उपाय हो? ट्रम्प आफू सर्वव्यापी रहेको मान्यता स्थापित गर्न खोज्ने अमेरिकी राष्ट्रपतिजस्तो देखिन्छन्।

द न्युयोर्क टाइम्सले ट्रम्पको दोस्रो कार्यकालका पहिलो तीन सय २९ दिनको समीक्षा गर्दा दुई सय ५० भन्दा बढी सञ्चारमाध्यमको उपस्थिति, तीन सय २० भन्दा बढी औपचारिक उपस्थिति र पाँच हजारभन्दा बढी सामाजिक सञ्जाल पोस्ट वा पुनःपोस्टहरू भएको देखाएको छ। यद्यपि औपचारिक उपस्थितिको संख्यामा उनी आफ्ना पूर्ववर्तीभन्दा पछाडि छन्, तर उनले दैनिक, कहिलेकाहीं घण्टैपिच्छे आफूलाई सार्वजनिक चेतनामा राख्ने प्रभावकारी तरिका अपनाएका छन्। पदभार ग्रहण गर्नेबित्तिकै जारी गरिएका कार्यकारी आदेशहरूले अमेरिकी मात्र होइन, विश्व अर्थतन्त्र, वित्तीय क्षेत्र र स्वास्थ्य क्षेत्रसम्म असर पारेका थिए।

भेनेजुएलाको तेलसम्पन्न क्षमता र रुस ट्रम्पको दबाबमा नझुकिरहेको सन्दर्भमा भेनेजुएलामाथिको आक्रमणका निहितार्थहरूलाई बेवास्ता गरिएको छैन। शान्ति स्थापना गर्ने नाममा अपनाइएका यी स्वेच्छाचारी र अलोकतान्त्रिक अभ्यासविरुद्ध आवाज उठ्न थालेको छ।

भेनेजुएलाका राष्ट्रपति मादुरोको अपहरणपछि ट्रम्पले विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथसहित आफ्नो टोली भेनेजुएलालीहरूसँग मिलेर काम गरिरहेको र अमेरिका उक्त संकटग्रस्त देशको नियन्त्रण लिने बताएका छन्। बिबिसीसँग उनले भनेका छन्, ‘सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सम्भव नहुँदासम्म हामी देश सञ्चालन गर्नेछौं।’

यहाँ प्रश्न उठ्छ– देश सञ्चालन गर्ने भन्ने ट्रम्पको आशय के हो?

अमेरिकी सेनाद्वारा मादुरो अपहरण भएपछि भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति रोड्रिगेजलाई तत्काल कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न निर्देशन दियो। पदभार ग्रहण समारोहमा उनले भनिन्, ‘संयुक्त राज्य अमेरिकामा बन्धक बनाइएका दुई नायक राष्ट्रपति मादुरो र उनकी पत्नीको अपहरणले हामी पीडामा छौं।’

अब समय आएको छ– विशेष गरी अमेरिकीसहित विश्वभरका नागरिकहरूले डोनाल्ड ट्रम्पजस्ता नेताहरूविरुद्ध आवाज उठाउने, जसले आफूलाई उचित लागेका देशमाथि सबैभन्दा शक्तिशाली सेनाको प्रयोग गर्छन्।

अफगानिस्तान यसको उदाहरण हो। त्यहाँ अमेरिकाको नेतृत्वमा आक्रमण भएको थियो। त्यहाँ शान्ति सुरक्षा र सुशासन स्थापना गर्ने भनिए पनि देश अझै लोकतान्त्रिक दिशातर्फ अघि बढ्न सकेको छैन। बरु आज त्यो तालिबान शासनअन्तर्गत छ, जहाँ विशेष गरी बालिका र महिलाका मानव अधिकारहरू पूर्ण रूपमा समाप्त गरिएका छन्। यसरी खुला रूपमा बालिका र महिलाको हकअधिकार छिनिँदा त्यहाँ अन्तर्राष्ट्रिय जगत्ले केही गर्न नसक्ने किन?

विश्वभर देखिएका पछिल्ला घटनाक्रमहरू अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार घोषणाको मर्मविपरीत देखिन्छन्। अब विश्वका नागरिक एकजुट भई ‘ट्रम्पवाद’ अन्त्य गर्न आवाज उठाउने र साँचो अर्थमा शान्ति पुनःस्थापना गर्ने दिशातर्फ अघि बढ्ने समय आएको छ।

प्रकाशित: २५ पुस २०८२ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %