राजधानीको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेकको यो १९ औ संस्करण हो। गत वर्षसम्म १८ वटा यस्ता मेला गरिसकेको क्यानले यसपालीको मेलालाई थप आकर्षक र भव्य बनाउने तयारी गरिरहेको छ। मेलामा सहभागी हुन चाहनेका लागि बुधबारदेखि क्यानले स्टल र प्रयोजकका लागि बुकिङ खुल्ला गरेको छ।
यसपटकको मेलालाई क्यानले ‘क्यान इन्फोटेक-२०१३'को नाममा सञ्चालन गर्नेछ। मेला अवधीमै सूचनाप्रविधिका विषयमा जानकारी लिने-दिने र जनचेतना फैलाउने खालको कार्यशाला पनि हुनेछ। यस्तो कार्यशालालाई क्यानले ‘क्यान आइटी कन्फरेन्स-२०१३'को नाममा सञ्चालन गर्नेछ।
स्टल र प्रयोगकका लागि बुकिङ खुल्ला गर्नुपूर्व नै धेरै कम्पनीले चासो देखाई सकेकाले मेलामा यसपटक गत वर्षको भन्दा बढी सहभागीता हुने आयोजकको अपेक्षा छ। सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको बारेमा मेलामा जानकारी दिइने छ। यसपटकको मेलामा पनि सूचना प्रविधिका नयाँ उपकरण, सेवा र विशेषताको बारेमा जानकारी दिने खालका स्टल बढी हुने क्यानका अध्यक्ष विनोद ढकालले बताए।
यसपटकको सूचना प्रविधि कार्याशालको ‘थिम' भने ‘ई-डेमोक्रेसी' रहेको छ। गत वर्ष २ सय १९ वटा स्टल र ३९ वटा प्याभेलियन रहेको क्यान इन्फोटेकमा यसपटक स्टल र प्याभेलियन अझ बढ्ने आयोजकको अपेक्षा छ। गत वर्ष ४ लाख २० हजार भन्दा बढी अवलोकनकर्ता आएको क्यान इन्फोटेकमा यसवर्ष ५ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।
अयोजकले २५ हजारभन्दा बढीलाई औपचारिक पत्रमार्फत मेलामा आमन्त्रण गर्नेछन्। स्वदेशी र विदेशी दुवैखाले अवलोकनकर्तालाई मेलामा आमन्त्रण गरिने छ। सूचना प्रविधि क्षेत्रको चासो र जिज्ञासा मेटाउने मेलाकोरुपमा यसलाई अयोजना गर्न लागिएको हो।
भृकुटीमण्डपको भित्री हलमा ब्रान्डिङका लागि स्टलहरु रहने छन् भने बाहिरपट्टि बिक्रीका स्टल रहनेछन्। मेलामार्फत सरकारलाई ‘गास, बास, कपास' जस्तै सूचनाप्रविधि पनि अत्यावश्यक वस्तु हो भनेर दबाब दिने आयोजकको लक्ष्य छ। लोडसेडिङलगायतका कारणले विकासमा अवरोध बेहोरीरहेको आइटी क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक चासो नदिएको व्यवसायीको गुनासो रहदै आएको छ। मेलाकै बिचमा हुने कार्यशालामा यस्ता विषयमा पनि छलफल हुनेछन्।
मेलाको अवसर पारेर विभन्नि कम्पनीहरुले अघिल्ला वर्षहरुमा जस्तै छुट र उपहार योजना ल्याउने छन्। नेपालमा आइनसककेका कतिपय सूचना प्रविधि सामग्रीहरु यो मेलामार्फत नै सार्वजनिक हुनेछन्। आयोजकले यो मेला बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई लक्षित गरेर अयोजना गर्न लागिएको बताएका छन्। सूचनाप्रविधिमा चासो राख्ने सबै उमेर, समुह र क्षेत्रका व्यक्तिहरुका लागि यो मेला उपयुक्त हुने ढकालले बताए।
आफ्ना १४ वटा उप-समितिमार्फत विभिन्न काम गर्दै आएको क्यानले प्रत्येक वर्ष यस्तो मेलालाई निरन्तरता दिदै आएको छ। सूचनाप्रविधि क्षेत्रको सबैभन्दा ठूलो मेला भएकाले यसमा अवलोकनकर्ताको सबैभन्दा बढी भिड हुने गर्छ।
‘जनचेतना र ब्रान्डिङलाई महत्व दिएका छौ'
विनोद ढकाल, अध्यक्ष, क्यान
हरेक वर्ष हुने क्यान इन्फोटेकको उद्देश्य के हो ?
हाम्रो मुख्य उद्देश्य भनेको सूचनाप्रविधिको बारेमा जनचेतना फैलाउनु हो। यो मेला मार्फत नयाँ-नयाँ प्रविधिको जानकारी हुन्छ। यसका साथै अवलोकनकर्ताले आफैले हेरेर, छोएर नयाँ प्रविधिको बारेमा जानकारी हासिल गर्न सक्नेछन्। यसका साथै मेलाको उद्देश्य सूचनाप्रविधि ब्रान्डलाई स्थापित गर्नु पनि हो। यसैले गर्दा हामीले यो वर्ष पनि ब्रान्डिङलाई बढी महत्व दिएका छौ। सूचनाप्रविधिको बारेमा जानकारी दिनकै लागि मेला अवधीमै हामीले कार्यशाला पनि गर्ने छौ। यसले सरोकारवालालाई घच्घच्याउने काम समेत गर्नेछ।
अघिल्ला क्यान इन्फोटेक र यसमा के फरक छ ?
अघिल्ला वर्षहरुको र यसपालीको क्यान इन्फोटेकमा खासै फरक हुदैन। तर, प्रत्येक पटकका मेलामा हामीले नयाँ प्रविधि र नयाँ जानकारीहरु राख्ने गरेका छौ। यसपटक पनि यसले निरन्तरता पाउने छ। विभिन्न कम्पनीले नयाँ सामग्रीहरु बजारमा ल्याउने छन्। यसले गर्दा हरेक वर्ष भएपनि केही फरक भइहाल्छ। सूचनाप्रविधिको क्षेत्रमा दिदैपिच्छे नयाँ प्रविधि विकास भइरहेको छ। मेलाले यस्ता नयाँ प्रविधिको बारेमा जानकारी दिनेछ।
मेलाको लक्षित अवलोकनकर्ता को हुन् ?
यो मेला सुचनाप्रविधिको विषयमा चासो राख्ने सबैका लागि हो। अहिले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले सूचनाप्रविधिमा चासो राख्छन्। यो मेलाले यस्ता सबै अवलोकनकर्तालाई समेट्ने प्रयास गर्नेछ। विशेषत गरि युवा पुस्ता र किशोर-किशोरीले सूचनाप्रविधिमा बढी चासो राख्ने भएकाले मेलामा यस्ता अवलोकनकर्ता बढी हुनसक्छन्। हामीले सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गर्दै आएका छौ। यसले यस्ता अवलोकनकर्ता बढी देखिने गरेका हुन्।
यसपटक अवलोकनकर्ता र व्यवसायीको संख्या बढ्ने सम्भावना छ ?
बुकिङ सुरु नहुदै धेरैले चासो देखाउनु भएको छ । यो मेला नेपालको सूचनाप्रविधि क्षेत्रकै सबैभन्दा ठूलो भएकाले धेरैले चासो देखाउनु स्वभाविक हो। यो मेलामा सहभागी हुन चाहने व्यवसायी र अवलोकनकर्ता वर्षेनी बढिरहेका छन्। यसपटक पनि गत वर्षकोभन्दा व्यवसायी र अवलोकनकर्ता बढ्ने अपेक्षा छ। धेरैको चासोको विषय भएकाले निश्चय पनि मेलामा व्यवसायी र अवलोकनकर्ता बढ्ने छन्।
क्यान इन्फोटेकलाई व्यवस्थित गर्न कस्तो तयारी गर्दै हुनुहुन्छ ?
हामीले चाहेर पनि नचाहेर पनि भृकुटीमण्डपमा बाहेक अन्यत्र मेला गर्ने स्थान छैन। भृकुटीमण्डप हाम्रो मेलाका लागि सानो भइसक्यो। अन्यत्र यस्तो स्थान नभएकाले हामीले सकेसम्म त्यसलाई व्यवस्थापन गरेर धेरैभन्दा धेरै प्रयोग गर्ने प्रयास गर्नेछौ। मेलामा भिड व्यवस्थापनका लागि पनि विशेष व्यवस्था हुनेछन्। गतवर्षको अनुभवलाई समेटेर स्वयंसेवकहरुको थप व्यवस्था गरिने छ। मेलालाई व्यवस्थित गर्न हाम्रा सबै समिति र उपसमितिले खटेर काम गर्नेछन्। हामीले जतिसक्दो मेलालाई व्यवस्थित र अवलोकनकर्ता मैत्री बनाउने प्रयास गर्नेछौ।
प्रकाशित: २६ मंसिर २०६९ २२:०९ मंगलबार





