६ चैत्र २०८० मंगलबार
प्रविधि

युवा वैज्ञानिक फोरम गठन

विज्ञान, प्रविधि, नवप्रवर्तन विकास तथा अनुसन्धानमा जोड दिइने

विज्ञान र प्रविधिको विकासमा युवा वैज्ञानिकको सक्रिय सहभागिता र योगदानका लागि युवा वैज्ञानिक फोरमको विधिवत् स्थापना भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा शुक्रबार गठन भएको फोरमले देशविदेशमा रहेका नेपाली अनुसन्धानकर्ताबीच समन्वय र सहकार्य गरी विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र अनुसन्धानलाई प्रवद्र्धन गर्नेछ।

नव गठित फोरमको सात सदस्यीय तदर्थ समितिको संयोजकमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वैज्ञानिक तथा अनुसन्धान प्रमुख डा. मेघनाथ धिमाल रहेका छन्। सदस्यहरूमा त्रिवि रसायनशास्त्र विभागका सह–प्राध्यापक डा. अच्यूत अधिकारी, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान प्रमुख डा. प्रमोद पौडेल, क्याटिलिस्ट टेक्नोलोजिजकी प्रमुख एवं जडिबुटी अनुसन्धानकर्ता डा. प्रतिभा पाण्डे, फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा. रामदेवी तचामो साह, इसिमोडका जलवायु विज्ञ डा. सन्तोष नेपाल र माइक्रोबाइलोजिस्ट डा. योगेन्द्र साह रहेका छन्।

शुक्रबार आयोजित भर्चुअल कार्यक्रमको औपचारिक उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फोरमले आफ्नो उद्देश्य हासिल गर्न आगामी दिनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरे। ग्लोबल योङ एकेडेमीका सदस्यसमेत रहेका फोरमका संयोजक धिमालले फोरमलाई ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको र विज्ञानबाहेक अन्य विधाका युवा वैज्ञानिकलाई फोरममा संगठित गरिनेसमेत जानकारी दिए। ‘फोरम युवा वैज्ञानिकका लागि सहयोगी प्लेटफर्म हुनेछ,’ उनले भने।

फोरम स्थापनाका लागि विभिन्न चरणमा छलफल र परामर्श भएको चर्चा गर्दै डा. धिमालले नास्टले गत वर्षको अगस्टमा फोरमका लागि कार्यविधि तयार गर्न नास्टका सहप्राज्ञ डा. निरोज पाण्डेको संयोजकत्वमा एक समिति गठन भएको बताए। नेपालमा गठन भएको फोरमलाई जर्मनीमा रहेको विश्व युवा वैज्ञानिक प्रतिष्ठानले मान्यता दिएको छ।

सरकारी स्तरमा स्थापना तथा मान्यता पाएको यो फोरमले युवा वैज्ञानिकको प्रभावकारी परिचालन गर्न उनीहरूसँग नियमित संवाद र परामर्शमा रहनेछ भने वैज्ञानिक कार्यक्रमको राष्ट्रिय डाटाबेस तयार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा शोधपत्र प्रकाशन गर्ने, प्राज्ञिक समुदायलाई निजी क्षेत्रसँग जोड्नेलगायत कार्य गर्ने उद्देश्य लिएको छ। फोरमका दीर्घकालीन लक्ष्यमा नेपाली वैज्ञानिकलाई नेपालमा काम गर्ने वातावरण तयार गर्ने, राष्ट्रिय अनुसन्धान तथा सिर्जशीलता कोषको स्थापना तथा नियमित अनुदानको उपलब्धता, सरकारी निर्णय प्रक्रियामा युवा वैज्ञानिकको सहभागिता, विज्ञान, प्रविधि तथा सिर्जनशीलतामा लगानी अभिवृद्धि तथा विद्यालय एवं विश्वविद्यालयमा साइन्स क्लब गठन गर्ने रहेका छन्।

फोरमका संरक्षकसमेत रहेका नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले फोरमले युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाएका छन्।

प्रकाशित: ११ आश्विन २०७७ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App