२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

टेलिकमको सामाजिक सञ्जाल, युनिफाइड कम्युनिकेसनमा एउटैमात्र टेन्डर

काठमाडौं, कात्तिक १७ (नागरिक) - सरकारी स्वामित्वको नेपाल टेलिकमले सञ्चालनमा ल्याउने तयारी गरेको युनिफाइड कम्युनिकेसन सिस्टमका लागि एउटैमात्र टेन्डर परेको छ।

बिहीबार टेन्डर खोल्दा एउटैमात्र कम्पनीको प्रस्ताव परेको हो। 'भारतीय कम्पनीसँग मिलेर स्थानीय जगदम्बा इन्टरनेसनलले प्रस्ताव बुझाएको छ,' टेलिकम स्रोतले भन्यो।

नयाँ सिस्टम भएकाले सूचना प्रविधिकै क्षेत्रमा कार्यरत कम्पनीहरुले समेत नबुझेको हुँदा एउटैमात्र प्रस्ताव परेको अनुमान टेलिकम अधिकारीहरुको छ। युनिफाइड कम्युनिकेसन सिस्टमले एउटै वेबसाइटमात्र टेलिकमका सबै प्रकारका सेवा प्रयोग गर्न मिल्ने प्रविधि सञ्चालन गर्ने लक्ष्य टेलिकमले लिएको छ।

एउटैमात्र टेन्डर परे पनि आर्थिक र प्राविधिक रुपमा योग्य छ भने टेलिकमले स्वीकृत गर्न सक्छ। एउटैमात्र टेन्डर परेकाले तिहारअघि नै मूल्यांकन भइसक्ने स्रोतले बतायो।
यो सेवाअन्तर्गत सामाजिक सञ्जालका एप्लिकेसन लगायत टेलिफोन, भिडियो च्याटसमेत जस्ता एप्लिकेसन छन्। डेढ वर्षअघि टेलिकमले फेसबुकजस्तै सामाजिक सञ्जाल 'एनटी चौतारी' बनाएको थियो। त्यतिखेर परीक्षणकै क्रममा टेलिकम सञ्चालक समितिका तत्कालीन पदाधिकारी र कर्मचारीले सञ्चालनमा ल्याउन रोक लगाएका थिए।

संसारभरिका ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहकलाई सजिलो बनाउन विभिन्न एप्लिकेसनहरु बनाएर त्यसबाटै सेवा दिन्छन्। इन्टरनेटमा स्थानीय विषयवस्तु (कन्टेन्ट) हरु दिन सकेमा डलर तिरेर किनेको ब्यान्डविथ बचत हुने भएकोले टेलिकम यो काममा अघि बढेको हो।

अहिले नेपालका दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायकले किनेको ब्यान्डविथको झन्डै आधा फेसबुकका लागि मात्र खर्च भइरहेको छ।

ब्यान्डविथ खर्च कम गर्न र टेलिकमका सेवाहरु एकीकृत रुपमा एउटै साइटमार्फत दिन यो सेवा सुरु गर्न लागिएको टेलिकमका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए।

स्रोतका अनुसार यो सेवा ६ महिनाअघि नै सञ्चालनमा ल्याउने गरी तयारी भएको थियो। तत्कालीन सञ्चालक समितिका अध्यक्ष अवनिन्द्रकुमार श्रेष्ठले टेलिकमले यस्तो वाहियात सेवा चलाउने हो भन्दै निर्णय हुनबाट रोकेका थिए।

अहिले श्रेष्ठको ठाउँमा सूर्य सिलवाल सञ्चालक समितिका अध्यक्ष छन्। यस्तो प्रकारको नयाँ सेवा सुरु गर्नुपर्छ भन्नेमा सिलवाल सकारात्मक देखिएपछि टेलिकमले सिस्टम किन्न प्रक्रिया अघि बढाइसकेको छ।

आउँदो जनवरीभित्र सञ्चालन गर्ने लक्ष्य लिएर टेलिकम यो काममा अघि बढेको हो। टेन्डर प्राप्त गर्ने कम्पनीले वेबसाइट, कन्टेन्टको डिजाइन गरेर टेलिकमलाई उपलब्ध गराउनुपर्ने हुन्छ। यसका लागि टेलिकमले झन्डै १२ करोड रुपैयाँ बजेट राखेको छ।

'एउटै कम्पनीको प्रस्ताव परेपनि हाम्रो बजेटभित्रै, प्राविधिक रुपमा समेत उपयुक्त भएमा टेन्डर स्वीकृत हुन बन्देज छैन,' टेलिकमका अर्का एक नायब प्रबन्ध निर्देशकले भने।

ल्यान्डलाइन, मोबाइल, एडिएसएल, वाइम्याक्स सेवा लिने ग्राहकलाई दिइने यस्तो एप्लिकेसन कम्प्युटर र मोबाइल दुवैमा सञ्चालन हुने गरी तयार गर्ने योजना टेलिकमको छ। ग्राहकले वेबसाइट वा एप्लिकेसनबाट दैनिक रुपमा तोकेर निशुल्क वेब एसएमएससमेत गर्न दिने तयारी टेलिकम छ।

मोबाइल फोनबाटै वेब एसएमएस लगायत अरु सुविधा प्रयोग गर्न पाएपछि ग्राहकहरु आकर्षित हुने अपेक्षा टेलिकमको छ। वेबसाइटमा 'नेपाली कन्टेन्ट' बनाउनेबीच प्रतिस्पर्धा गराउने तयारीमा टेलिकम छ। 'हामी विदेशी कन्टेन्टमै भरपर्दा हाम्रो रकम नजानिँदो हिसाबले विदेशतिर गइरहेको छ, यसलाई रोक्न जरुरी भइसकेको छ,' भट्टराईले भने।

प्रकाशित: १६ कार्तिक २०६९ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App