मोरङ, विराटनगरमा बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ लघुकथासङ्ग्रह र विराटनगरका स्रष्टा रोहिणी रसिकको ‘छन्द आराधना’ कवितासङ्ग्रहको विमर्श भएको छ।कोसी साहित्य-कला परिषद् नेपाल, माेरङको आयोजना, छन्दवाटिका नेपाल, विराटनगरको सहआयोजना र खाेटाङ सामाजिक सेवा मञ्च, विराटनगरकाे सहकार्यमा विमर्श भएको हो।
सहआयोजक संस्था छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेलको अध्यक्षता र प्राज्ञ विवश पोखरेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ र कोषाध्यक्ष चिरञ्जीवी काफ्ले सञ्चालन गरेकाे कार्यक्रममा साहित्य विभागका सहसंयोजक शारदा दाहाल भण्डारीले कार्यक्रममा सहभागी सबैलाई शब्दबाट स्वागत गरेकी थिइन्।
खोटाङ सामाजिक सेवा मञ्चको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाेखरेलले संस्थाले १ रूपैयाँबाट सुरु गरेर १ करोड पुर्याउने उद्देश्यसहित सुरु गरेको अक्षयकोष निर्माणको अभियान अन्तर्गत दान पेटिकामा रकम हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा निरज कोइराला र केशु विरहीले भण्डारीको कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। त्यस्तै डा. दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले रसिकको कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
विमर्शक विरहीले जीवनी, व्यक्तित्व र कृतित्व बिचको अन्तरसम्बन्धबारे समीक्षा प्रस्तुत गर्दै कथाकार भण्डारी साहित्य र समाजसेवामा उत्तिकै सक्रिय रहेको बताए।
विमर्शक कोइरालाले लघुकथाको सिद्धान्तबारे उल्लेख गर्दै ‘बकसपत्र’ को चिरफार गरेका थिए। केही कथामा परिवेश दोष रहे पनि सबै कथा निकै उत्कृष्ट रहेको उनले बताए।
विमर्शक बाबुराम पोखरेलले जीवनी, व्यक्तित्व र कृतित्वमाथि बोल्दै रसिकको रगतले साहित्यको विरासत बोकेको बताए। विमर्शक डा. दीपकप्रसाद न्यौपानेले रसिकको कविता कृति ‘छन्द आराधना’ को विहङ्गम समीक्षा प्रस्तुत गरेका थिए।
महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका प्रमुखसमेत रहेका विमर्शक न्यौपानेले छन्द साधना गर्दा वा छन्द मिलाउने नाममा नेपाली भाषाको मानक व्याकरण तोड्न नहुने विचार व्यक्ति गरे।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पोखरेलले कोसी साहित्य–कला परिषद् नेपालले सुरु गरेको अभियानसँग आफू जानकार रहेको बताउँदै यस अभियानमा सबैको साथसहयोग रहने बताए। दुवै स्रष्टालाई बधाई दिँदै यस्ता कार्यक्रमले लेखकलाई खारिन सहयोग पुग्ने विचार व्यक्त गरे।
कार्यक्रमका सभाध्य हरि कट्टेलले विभिन्न स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने अभियान आफैंमा सुन्दर रहेको बताए। कार्यक्रममा सहकार्य गर्न पाएकामा खुसीसमेत व्यक्त गरे।
लेखकद्वय भण्डारी र रसिकले पनि आआफ्ना धारणा राख्तै विमर्श कार्यक्रम राखी आफूहरूका कृतिको न्याय गरेकाेमा आयोजक संस्था तथा समीक्षकहरूप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई, निर्मला नेपालले विमर्श गरिएका कृतिका दुई दुई रचना वाचन गरेका थिए।
प्रकाशित: २८ पुस २०८२ ११:४९ सोमबार





