१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पोखराका सहकारी पीडितले सभापति थापालाई ज्ञापन पत्र बुझाए

पोखराका सहकारी पीडितहरूले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ज्ञापन पत्र बुझाएका छन्। नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभामा आएको मौका पारेर सहकारी पीडित संघर्ष समितिले थापालाई सहकारीको अपचलन गरिएको रकम फिर्ता लगायतका मागहरू रहेको ज्ञापन पत्र बुझाएका हुन्।

सो अवसरमा थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्दै २०४६ पछिको उच्च ओहोदामा रहेका सबैको एक–एक छानबिन गर्ने बताउँदै उनले भने, ‘सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरिनेछ। मन्त्री भएको गगन थापाको सम्पत्ति छानबिन हुन्छ।’

सभापति थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताएका छन्। त्यसबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेको उनको भनाइ छ। बदलिएर आएको नयाँ कांग्रेस हो यो, उनले भनेका छन्, ‘भ्रष्टाचारबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेर आएको छ।’

सभापति थापाले चुनावले दुई अतिवादलाई प्रश्रय दिन सक्ने आशंका व्यक्त गरेका छन्। यो देशका लागि खतरनाक हुने उनको भनाइ छ। भदौ २३ गतेअघि सबै ठीकठाक थियो भन्ने र भदौ २४ गते देश जलाउने र जेलबाट भाग्ने दुवै अतिवाद भएको उनको भनाइ थियो। यी दुई अतिवादको हातमा जानु देशका लागि खतरनाक हुन्छ, उनले भनेका छन्, ‘एउटा अतिवाद भदौ २३ गतेअघि देश ठीकठाक थियो भन्छ। भदौ २३ गतेको घटनालाई आकस्मिक दुर्घटना मात्रै मान्छ। अर्कोतर्फ त्यही घटनालाई मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ र जेलबाट पनि भाग्छ। यो दुवै अतिवाद हो र यो देशका लागि खतरनाक छ।’

त्यसैले यी दुई अतिवादको बीचबाट देशलाई सम्हाल्नुपर्ने अवस्थामा देश रहेको उनले बताएका छन्। भोलि पनि यो अतिवाद आउन सक्छ, उनले अगाडि भनेका छन्, ‘अबको पाँच वर्षको यो समय देशलाई सम्हाल्नु पर्नेछ। कुनै पनि खालको द्वन्द्व अब नेपालले खेप्न सक्दैन। न जातीय, न धार्मिक, न सहर गाउँ, न मधेस पहाड। त्यो कांग्रेसले सम्हाल्छ।’

सभापति थापाले रास्वपाले बिना अनुभव र जानकारी देश दौडाउने कुरा गरिरहेको आरोप लगाएका छन्। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनप्रति इङ्गित गर्दै उनले भनेका छन्, ‘कोही के भन्दैछ- म यति अद्भुत मान्छे हुँ कि गाडी आफैँ गन्तव्यमा पुग्छ। अर्को मान्छे भन्दैछ म यस्तो अद्भुत क्षमता भएको मान्छे हुँ कि मैले चलाएपछि गाडी उड्छ।’ 

यसले देश दुर्घटनामा पर्ने बताउँदै उनले भने, ‘बिना अनुभव सवारी दौडाउने भनिरहेका छन्। यो असम्भव छ। त्यसैले हामी भनिरहेका छौँ कि कुनै एक जनाले मात्रै गाडी चलाउने होइन। हामी सबै एउटै गाडीमा बस्ने हो। गाडी चलाउनेले पनि सबैको कुरा सुनेर चलाउने हो।’ कांग्रेस नेतृत्वमा अबको पाँच वर्ष देशलाई वेगसँग दौडाउने बताएका छन्। तर वेगसँगै दौडाए पनि सम्हालेर चलाउने उनको भनाइ थियो।

सभापति थापाले कांग्रेस कार्यकर्तालाई एक बराबरका १० जना मतदाता आफ्नो पक्षमा पार्न निर्देशन दिए। बदलिएर आएको कांग्रेसले देश बदल्ने बताउँदै उनले भने, ‘यतिले मात्रै चुनाव जितिँदैन। चुनाव जित्नका लागि एक जना बराबर १० जना मतदाताकोमा पुग्नुहोस्, कांग्रेसलाई चिनाउनुहोस् र बुझाउनुहोस्।’

सो अवसरमा कांग्रेस उप-सभापति विश्वप्रकाश लामिछानेले भदौ २३ गतेअघि देशमा सबै ठीकठाक थियो भन्नु र केही पनि भएन भन्नु दुवै गलत भएको बताए। देशलाई सम्हाल्ने तागत कांग्रेसमा मात्र रहेको र त्यो बदलिएको कांग्रेसले गर्ने उनको भनाइ थियो।

प्रकाशित: १५ फाल्गुन २०८२ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App