२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

दशैँमा साढे दुई करोड एसएमएस

काठमाडौँ, कात्तिक ११ (नागरिक) - यस वर्ष दशैँको उपलक्ष्यमा साँढे दुई करोडले एसएमएसमार्फत शुभकामना आदानप्रदान गरेका छन्। दशैँको मौका छोपेर टेलिकमले जिएसएम मोबाइलबाट आदानप्रदान हुने छोटा सन्देश (एसएमएस) का लागि आधा छुट दिने निर्णय गरेको थियो, जसका कारण शुभकामना दिनेको संख्या साँढं दुई करोड नाघेको नेपाल टेलिकमले जानकारी दिएको छ।  
'दशैँको मुख्य ४ दिनमा २ करोड ४ लाख एसएमएस आदानप्रदान भएको छ,' जिएसएम सेवा निर्देशनालय प्रमुख सुरेन्द्रप्रसाद थिकेले भने। यसबाट टेलिकमले १ करोड २५ लाख रुपियाँ आम्दानी गरेको छ। गत वर्ष दशैँको फूलपाती,अष्टमी, नवमी र दशमीमा गरी ४ दिनमा १ करोड २८ लाख शुभकामना आदानप्रदान भएको थियो।

यसपालि फूलपातीको अघिल्लो दिन ४१ लाख, फूलपातीमा ५० लाख, अष्टमी र नवमीमा ५४/५४ लाख, टीाको दिन ४६ लाख एसएमएस आदानप्रदान भयो। 'वितेका वर्षहरूमा टिकाको दिन बढी एसएमएस आदान प्रदान हु"न्थे। तर, यसपटक त्यो क्रम घटेको छ', थिकेले भने।
टेलिकमले नेपालीहरूको महान् चाड विजयादशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदानका लागि असोज २९ गतेबाटै एसएमएस शुल्कमा आधा कटौती गरेको थियो। गत वर्ष दशैँको चार दिनअघि मात्र दिइने छुट सुविधा, यसपटक छठ (मंसिर ५ गते) सम्मलाई कायम राखिएको छ।

सामान्य समयमा एउटा एसएमएसका लागि एक रुपियाँ २४ पैसा खर्च लाग्छ। टेलिकमले आधा छुट दिएपछि ६२ पैसामा शुभकामना आदानप्रदान गर्न सहज भएको थियो। विगतमा कार्डबाट शुभकामना आदानप्रदान गर्ने उद्योगी, व्यावसायी पनि यसपालि टेलिकमले दिएको सुविधाको फाइदा उठाउन व्यस्त रहे। उनीहरूलाई एउटै कार्ड छपाइबापत कम्तीमा १० रुपियाँ खर्चिनु पर्ने बाध्यता थियो।

'कार्ड छपायो, पठाउने मान्छे चाहियो। फेरि कहाँ पठाउने? सबै तनाव झेल्नुभन्दा एसएमएस धेरै सजिलो,' कमर्ज एन्ड ट्रष्ट बैंकका वरिष्ठ सञ्चालक पवनकुमार भिमसरियाले भने। उनले दशैँमा मात्र ६ हजार २ सय ३३ जनालाई एसएमएसबाट शुभकामना पठाएको बताए।
टेलिकमका अनुसार दशैँ र तिहारमा एसएमएस आदानप्रदान ४ गुणाले बढेको छ। सामान्य अवस्थामा एसएमएसबाट दैनिक १० देखि १२ लाख एसएमएस आदानप्रदान हुन्थ्यो। टेलिकमको सीडीएमएतर्फ दशैँको अवसर पारेर एसएमएस गर्नेको संख्या ४/५ गुणाले बढेको सीडीएमए निर्देशनालयका प्रमुख अनुपरञ्जन भट्टराई बताउ"छन्। 'सबै विवरण प्राप्त भइसकेको छैन। तर, दशैँमा ४/५ गुणाले बढेको छ,' उनले भने। सीडीएमएबाट मात्र दैनिक ४० हजार एसएमएस हुने गरेको छ। सीडीएमएका उपभोक्ता गाउँमा अधिक छन्। पछिल्लो समय उच्च गतिको इन्टरनेट (इभिडियो) सेवा सुरु भएपछि सीडीएमएतर्फ सहरी क्षेत्रका ग्राहक पनि आकर्षित हुन थालेका छन्। नेपालमा जीएसएम मोबाइलका झन्डै ६५ लाख उपभोक्ता छन्। यस्तै, सीडीएमएतर्फ यो संख्या नौ लाख छ।

दशैँमा निजी दूरसञ्चार कम्पनीले एसएमएस छुट योजना ल्याएका थिएनन्। छुट नदिए पनि दशैँमा शुभकामना आदा प्रदान २५ देखि ३० प्रतिशतले बढेको सम्बन्धित कम्पनीको दाबी छ।

 

 

प्रकाशित: १० कार्तिक २०६९ २२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App