यो ७.६ मिमि पातलो हुनेछ। फोरएस मोडलभन्दा यो १८ प्रतिशत कम हो। त्यसैगरी यसको वजन ११२ ग्राम छ, जुन पुरानो मोडलभन्दा २० प्रतिशत हलुका हो। आइ फोन फाइभ शिशा र आल्मुनियमको प्रयोग गरी बनाइएको छ। एप्पलको ए६ चिप्स प्रयोग गरिएकोले यसको सीपीयु दुई गुणा छिटो हुने कम्पनीको दावी छ। वाइफाइ चलाउँदा यसको ब्याट्रीले १० घण्टासम्म धान्ने एप्पलले बताएको छ।
यसबाट खिचिने प्यानोरेमिक फोटो २८ मेगापिक्सेलको हुनेछ। अगाडि, पछाडि र मुनि गरी यसमा तीन वटा बिल्ट इन माइक हुनेछ।
यसको प्रि अर्डर शुक्रबारबाटै सुरु हुने र एक सातापछि सेप्टेम्बर २१ देखि किन्नेलाई पठाउन थालिने एप्पलले बताएको छ। आई फोन फोर एसकै मूल्यमा फाइभ पनि बेचिनेछ। एप्पलले आई फोन फोरलाई भने कन्ट्रयाक्ट फ्रिमा बेच्ने घोषणा गरेको छ।
अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, जापान, हङकङ, सिंगापुरमा यो २१ तारिखमा नै उपलब्ध हुनेछ। १०० देश र २४० क्यारिअरमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने एप्पलले बतायो।
त्यसैगरी एप्पलको नयाँ अपरेटिङ सिस्टम सेप्टेम्बर १९ मा रिलिज हुने भएको छ।
नयाँ आइपड
कम्पनीले आजै आइपड नानोको सातौँ पुस्ता पनि सार्वजनिक गरेको छ। गीतसंगीत सुन्ने उपकरणका रुपमा क्रान्ति ल्याएको आइपडको यो सातौँ पुस्ता पुरानोभन्दा ४० प्रतिशत पातलो छ। तर यसको डिस्प्ले भने साढे दुई इञ्च छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले हो नानोमा।
सात रङमा यो उपलब्ध हुनेछ भने यसको एफएम रेडियो लाइभ सुनिरहँदा 'पज' गर्न सकिनेछ। वाइडस्क्रिन भिडियो पनि भएको आइपडमा ब्लुटुथ पनि राखिएको छ। यसको ब्याट्रीले लगातार ३० घण्टा गीत सुन्न मिल्छ। १६ जीबीको नानोको मूल्य १४९ अमेरिकी डलर रहेको छ।एप्पलले नयाँ हेडफोन इयरपडको पनि सार्वजनिक गरेको छ। कानमा राखिने इयरपड हेडफोन जस्तै तर साइडमा स्पिकर भएको उपकरण हो। यसलाई छुट्टै पनि किन्न पाइनेछ र नयाँ आइफोन र आइपडमा यसलाई संलग्न गरिनेछ।
बजारमा सुनिएको चर्चा अनुसार मिनी आइप्याडबारे भने कार्यक्रममा केही पनि बताइएन।
प्रकाशित: २७ भाद्र २०६९ ११:४३ बुधबार





