३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

अरुका ग्राहक तान्ने रणनीतिमा एनसेल

काठमाडौं, साउन १८ (नागरिक) - अन्य दूरसञ्चार कम्पनीका ठूला कर्पोरेट मोबाइल ग्राहकलाई तान्न निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले 'मेरो नयाँ नम्बर' नामको स्किम सुरु गरेको छ।
यो योजनाअन्तर्गत अरु मोबाइल कम्पनीका ग्राहकले एनसेलको पोस्टपेड नम्बर लिएपछि नियमित सम्पर्क हुनेलाई आफ्नो नयाँ नम्बर टिपाउनुपर्दैन। पुरानो नम्बरमा कल गर्दा स्वतः आफूले कल गरेको व्यक्तिको नयाँ नम्बर प्राप्त गर्नेछन्। उदाहरणका लागि, नेपाल टेलिकमको मोबाइल प्रयोग गरिरहेको 'ए' नाम गरेको व्यक्तिले एनसेलको पोस्टपेड नम्बर लिएको खण्डमा उसको सिस्टमले नै कल गर्ने 'बी' नाम गरेको व्यक्तिलाई 'ए' को नयाँ नम्बरको जानकारी दिन्छ।

'यो नयाँ सेवा हामीले कर्पोरेट ग्राहकलाई लक्ष्य गरेर उनीहरुको सजिलोका लागि सुरु गरेका हौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सञ्जु कोइरालाले भनिन्। दुईवटा मोबाइल सेट बोकिरहनुपर्ने झण्झटलाई अन्त्य गर्न यस्तो प्रविधि सुरु गरेको उनले बताइन्।
धेरैले अहिले नेपाल टेलिकम र एनसेलका नम्बर लिएर चलाइरहेका छन्। एनसेलले आफ्नो सेवामात्र प्रयोग गर्न ग्राहकलाई मनोवैज्ञानिक प्रेरित गर्न यो नयाँ स्किम ल्याएको हो।

मेरो नयाँ नम्बर स्किमअन्तर्गत एनसेलको पोस्टपेड मोबाइल लिएपछि ग्राहकले आफूले बोकिरहेको तर भविष्यमा विस्तारै हटाउन चाहेको नम्बर टिपाउनुपर्छ। त्यसो हुँदा पुरानो नम्बरमा कल गर्नेले त्यो ग्राहकको फेरिएको नयाँ नम्बर आइभिआर (इन्टरएक्टिभ भ्वाइस रेकर्डर) र एसएमएस मार्फत थाहा पाउनेछन्। पहिले प्रयोग गरेको नम्बरलाई ब्लक नै गरेको अवस्थामा भने यो सेवा एक्टिभ गर्न नमिल्ने एनसेलका अधिकारीहरुले बताएका छन्।

'पुरानो नम्बर धेरै ठाउँमा वितरण भइसकेको हुने हुँदा सितिमिति कसैले पनि फेर्न नचाहेको देखियो,' कोइरालाले भनिन्, 'यो प्रविधिबाट पुरानो नम्बरमा कल गर्ने सबैले फेरिएको नयाँ नम्बर थाहा पाउने हुँदा कुनै पनि महत्वपूर्ण टेलिफोन कलहरु छुट्दैनन्।'
अरु कम्पनीका सेवा लिन छाडेर एनसेलमा प्रवेश गर्न खोजेकालाई यो सजिलो हुनेछ। सेवा बन्द गर्न खोजेको नम्बरमा आगमन कल रोकिए पनि कल गर्न भने मिल्ने जनाइएको छ।

आक्रमक रुपमा ग्राहक विस्तार अभियानमा लागेको एनसेलको पछिल्लो यो रणनीतिको सबैभन्दा ठूलो प्रभाव नेपाल टेलिकमलाई पर्नेछ। एनसेलका अधिकारीहरुले टेलिकमलाई असर पर्ने बारे सिधै स्वीकार नगरेपछि टेलिकममा रहेका ठूला कर्पोरेट ग्राहकलाई तान्ने रणनीति नै हो। एनसेलका अधिकारीहरुले भने आफ्ना ग्राहकलाई सुविधा दिनमात्र यो स्किम ल्याएको दाबी गरेका छन्।

धेरै ठाउँमा वितरण भइसकेको हुने कारणले मोबाइलका उपभोक्ताले आफूले पहिलेदेखि नै प्रयोग गर्दै आएको नम्बर छाड्न चाहदैनन्। विकसित देशहरुमा नम्बर नफेरिकन नै सेवा प्रदायक कम्पनी फेर्न सकिने 'नम्बर पोर्ट्याबिलिटी' सेवा सञ्चालनमा आइसकेको छ। तर नेपालमा भने यो प्रविधि महँगो हुने र त्यसतर्फ कम्पनीहरुले त्यति रुचि देखाएका छैनन्।

'नम्बर पोर्ट्याबिलिटी' नै नभए पनि एनसेलले सुरु गरेको यो सेवाले वर्षौंदेखि एउटा कम्पनीको मोबाइल लिइरहेको ग्राहकलाई आफ्नोमा आकर्षित गर्ने आक्रामक बजार रणनीतिको रुपमा लिइएको छ।

नेपाल टेलिकममात्र होइन युटिएल, स्मार्टसेलका ग्राहकले पनि एनसेलको पोस्टपेड मोबाइल लिँदा यस्तो सुविधा पाउनेछन्। निशुल्क उपलब्ध गराइएको यो सेवा अन्तरगत हरेक पटक कल गर्नेले नयाँ एनसेलको नम्बरको जानकारी पाउनेछन्।

प्रकाशित: १८ श्रावण २०६९ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App