नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी कुनै व्यक्तिको निजी कम्पनी नभएको बताएका छन्।
बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संस्थापन पक्षद्वारा आफूसहित तीन नेतालाई निष्कासन गरिएको प्रति प्रतिवाद गरेका हुन्।
थापाले भने, ‘महामन्त्रीसहित तीनजनालाई निष्कासन गरिएको छ रे ! यो पार्टी कसैको प्राइभेट लिमिटेड होइन। म ९ कक्षामा पढ्दादेखि नेपाली कांग्रेसमा काम गरेको हुँ।’
उनले आफ्नो लामो राजनीतिक संघर्ष र लगानी कसैको एक निर्णयले समाप्त नहुने जिकिर गरे।
थापाले पार्टीमा कसैको हुकुम नचल्ने र आम कार्यकर्ताको भावना नै सर्वोपरि हुने बताउँदै आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी समेत गरे।
प्रकाशित: ३० पुस २०८२ १६:५५ बुधबार





