२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतमा भएका कमजोरी सच्याएर यसपटक धाँधलिरहित निर्वाचन गराइने बताए। उनले शान्तिपूर्ण र निर्धक्क वातावरणमा मतदान सम्पन्न गराउनेगरी आवश्यक व्यवस्था मिलाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन्। 

निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या र दुष्प्रचारयुक्त सूचनाबाट सचेत रहन र आफ्नो–आफ्नो क्षेत्रमा तयारीलाई तीव्रता दिन सरोकारवालालाई आग्रह गरे। 

आज बिहान मन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले मतदान केन्द्रको अनुगमन गर्नुका साथै निर्वाचन सुरक्षाबारे छलफल गरेको थियो। 

अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र गाउँपालिका अध्यक्ष छवि लामा सहभागी थिए। 

सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा विसं २०७९ को स्थानीय तह तथा प्रतिनिधिसभा निर्वाचनको अनुभव समीक्षा गर्दै आगामी निर्वाचनका लागि सुरक्षा योजना प्रस्तुत गरिएको थियो। विगतमा देखिएका संवेदनशीलता र समस्यालाई ध्यानमा राखेर विभिन्न नाकामा सुरक्षा कडाइ गरिएको जनाइएको छ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। प्रमुख निर्वाचन अधिकृत न्यौपानेले सुरक्षा निकायबीच समन्वय भइरहेको र विगतमा अवरोध सिर्जना गर्ने समूहहरूमाथि निगरानी बढाइएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।  

बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन्। त्यहाँ १८ हजार ४२२ मतदाता रहेका छन् भने विगतमा ९० देखि ९५ प्रतिशतसम्म मत खस्ने गरेको तथ्यांक छ। 

प्रकाशित: १५ फाल्गुन २०८२ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App