२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘निर्वाचन आयोगले हामीलाई नै आधिकारिक मान्छ, रूख चिन्ह हाम्रै हो’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको संविधान र निर्वाचन आयोगले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई नै आधिकारिकता प्रदान गर्ने दाबी गरेका छन्।

संस्थापन पक्ष (देउवा समूह) ले कारबाहीको घोषणा गरेलगत्तै बुधबार भृकुटीमण्डपमा भेला भएका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले विधि, विधान र संविधानमाथिको विश्वासका आधारमा आयोगले विशेष महाधिवेशनको निर्णयलाई मान्यता दिने जिकिर गरे।

थापाले भने, ‘संविधानमाथि विश्वासको आधारमा, कानुनमाथि विश्वासको आधारमा र पार्टीको विधानमाथिको विश्वासको आधारमा यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको संविधान र निर्वाचन आयोगले उसैलाई मान्छ।’

थापाले पार्टीको झन्डा र चुनाव चिह्न (रूख) गुम्ने हो कि भन्ने चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे।

आफूहरू नै मूल पार्टी भएको दाबी गर्दै उनले भने, ‘यहाँ साथीहरूले झन्डा के होला, रूख के होला भनेर चिन्ता लिनु पर्दैन। कांग्रेस दुइटा भए पो झन्डा के होला भन्ने चिन्ता ! कांग्रेस यहीँ छ, यहीँ रहन्छ। कहाँ जान्छ ? कसले लान्छ ?’

महामन्त्री थापाले संस्थापन पक्षले वार्ता र छलफलको बहानामा आफूहरूलाई अल्मल्याउने र उता सुटुक्क निर्वाचन आयोगमा पत्र पठाउने काम गरेको आरोप लगाए।

‘हामीलाई छलफलमा अल्झाएर र अल्मल्याएर राखियो,’ देउवा पक्षप्रति आक्रोश पोख्दै उनले प्रश्न गरे, ‘हामीलाई त अल्मल्याउनु भयो, तर सिङ्गो देशभरका कांग्रेस कार्यकर्तालाई कति अल्मल्याउने हो ?’

आफूमाथि गरिएको कारबाहीलाई अस्वीकार गर्दै थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको दोहोर्‍याए।

९ कक्षामा पढ्दादेखि र २०४६ सालको आन्दोलनदेखि आफू पार्टीमा क्रियाशील रहेको स्मरण गर्दै उनले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौँ। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। कसैले हटायौं भन्दैमा हामी हट्ने होइनौं।’

प्रकाशित: ३० पुस २०८२ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App