९ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

पालो हाइब्रिड सेटको

रामचन्द्र भट्ट- संसदको सार्वजनिक लेखा समितिका सदस्य रविन्द्र अधिकारी मोबाइलको तीनवटा सिमकार्ड चलाउँछन्। 'दुइटालाई सामसङ सेटमा राखेको छु, एउटा सिमलाई आइफोनमा,' उनी भन्छन्।

 

 मल्टिसिम सेट प्रयोग गर्ने अधिकारी एकमात्र सभासद होइनन्। अधिकांश मन्त्री, सभासद, सचिवहरूले दुईवटा मोबाइल फोन लिएका छन्। एकभन्दा बढी सिमकार्ड लाग्ने 'हाइब्रिड' सेट बोक्ने अहिले धेरै छन्।
सुरुमा चिनियाँ कम्पनीले दुई र त्यसभन्दा धेरै सिमकार्ड लाग्ने सेट ल्याएका थिए। हाल केही चिनियाँ कम्पनीले चारवटासम्म सिमकार्ड प्रयोग गर्न मिल्ने सेट पनि ल्याएका छन्। ब्रान्डबिनाका यस्ता सेटले नेपाल, भारत, बंगलादेश, अफ्रिकालगायत विकासोन्मुख देशको बजार ह्वात्तै लिएपछि नोकिया, सामसङजस्ता ठूला मोबाइल कम्पनी तर्सिए।
'अहिले सहरी क्षेत्रमा डुअल सिमकार्ड भएका सेटको माग बढ्दै गएको छ,' सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) का अध्यक्ष दीपक मलहोत्रा भन्छन्।
ब्रान्डेड सेटमा दुई वर्षअघि सामङले जिएसएम-सिडिएमए चल्ने हाइब्रिड मोबाइल ल्याएको थियो। त्यतिखेर यो सेटको झन्डै १२ हजार रुपैयाँ पर्थ्यो।

किन बढ्यो डुअल सिमको माग?
२०६२ सालसम्म मोबाइल टेलिफोनमा सरकारी स्वामित्वको नेपाल टेलिकमको मात्र एकाधिकार थियो। २०६२ असोजमा एनसेल (तत्कालीन स्पाइस नेपाल) ले मोबाइल सुरु गरेपछि दुवै कम्पनीको सेवा लिने क्रम बढ्यो।
सुरुमा एनसेलको महसुल तुलनात्मक रूपमा टेलिकमभन्दा महँगो थियो। अहिले प्रतिस्पर्धामा टेलिकम र एनसेलमात्र छैनन्। जिएसएमतर्फ स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र एसटिएम टेलिकमले सेवा सुरु गरिसकेका छन्। सिडिएमए प्रविधिमा भने युटिएलले सेवा सुरु गरिसकेको छ।
'सबै ठाउँमा सबै कम्पनीको नेटवर्क त्यत्ति राम्रो नटिप्ने भएकाले सबैका सेवा लिनु परेको हो,' सभासद अधिकारी भन्छन्। उनीसँग नेपाल टेलिकमको जिएसएम र सिडिएम अनि एनसेलको जिएसएम सिमकार्ड छ। टेलिकमको जिएसएम र सिडिएमएलाई सामसङको डब्ल्यु-२५९ मोडेलमा राखेका छन्। एनसेलको जिएसएएम पोस्टपेडलाई भने आइफोनमा राखेर चलाउँछन्।
डबल सिम भएको मोबाइल लोकप्रिय हुनुमा गाउँमा सिडिएम सेवा प्रभावकारी हुनु र जिएसएमप्रति रहेको मोह अर्को कारण हो। सिडिएमको बिटिएस (टावर) टाढा भए पनि जिएसएमभन्दा प्रभावकारी हुन्छ। त्यसले गर्दा फोन प्रयोग गर्न गाउँमा सिडिएमए निकै लोकप्रिय भएको छ। तर, उपभोक्तामा जिएसएम मोबाइलप्रति निकै मोह भएकाले दुइटा सिमकार्ड राख्ने लहरै चलेको छ।
सदरमुकाम क्षेत्रमा भने नेपाल टेलिकम र एनसेलको प्रतिस्पर्धा छ। सुरुमा प्रिपेड मोबाइल सुरु हुँदा १ हजार ७ सय रुपैयाँ पर्नेमा अहिले टेलिकमले समेत ३ सयमै दिन थालेको छ। एनसेलले ९९ मा ५० रुपैयाँ टक टाइमसहितको सिम दिन थालेपछि एकाएक मल्टिसिम सेटको माग बढेको छ।
'चिनियाँ डुअल सिम सेटको मूल्य ब्रान्डेड सिंगल सिमभन्दा पनि सस्तो भएकाले निकै माग बढेको हो,' मोबाइल बिजनेस अर्गनाइजेसनका अध्यक्ष पुरुषोत्तम बस्नेत भन्छन्। बजारमा ब्रान्डेड सेटको मूल्य सालाखाला ४ हजार रुपैयाँभन्दा बढी नै पर्छ। तर, चिनियाँ डुअल वा टि्रपल सिमको मूल्य ४ हजार रुपैयाँभन्दा बढी पदर्ैैन।
सेवा प्रदायक थपिनु र उनीहरूले कल गर्दा, डाटामा दिने सुविधा फरक-फरक हुनाले डुअल सिम सेटको माग बढेको हो। केही सेवा प्रदायकले रिचार्ज नगरे पनि ६ महिनामा एकपल्ट कल रिसिभ गरे पनि सिम डिसेबल नहुने सुविधा दिएपछि मल्टिसिम प्रयोगकर्ता थपिन सहयोग पुगेको छ।
भारतीय कम्पनी आक्रामक
दुई वा यो भन्दा बढी सिमकार्ड लाग्ने मोबाइल सेटलाई विस्तार गर्न यतिखेर सबैभन्दा बढी भारतीय कम्पनीहरु अघि बढेका छन्।
भारतीय कम्पनीहरु कार्बन, म्याक्स, लाभा, स्पाइस, माइक्रोम्याक्स, विनकम, भि-बेस आक्रामक रुपमा अघि सरेका छन्। ब्राण्डेडको भन्दा यस्ता सेटहरु सस्तो छन्। 'हामीले बेच्ने कार्बनका मोबाइल सेटहरु पुर्ण रुपमा मल्टिमिडिया र ठूलो स्त्रि्कन भएकोले निकै रुचाइएकामा परेका छन्,' कार्बन मोबाइल बिक्री गर्दै आएका एलाइड ट्रेड लिङ्कका प्रवन्ध निर्देशक मनिष राजभण्डारीले भने।
एकहजार आठसयदेखि लिएर १८ हजार रुपैयाँसम्म मूल्यका भारतीय सेटहरुमा एन्ड्रोइडको सफ्टवयर, टचस्त्रि्कन, मेमोरीकार्ड सुविधाले गर्दा निकै लोकप्रिय हुँदै गएका छन्।
लाभा मोबाइल बिक्री गर्दै आएको प्रिज्मा टेक्नोलोजीका विकास शाहले दुईहजारदेखि चारहजार रुपैयाँ मूल्यका भारतीय सेटले नेपालमा राम्रो बजार लिएको छ। व्यबसायीक व्यक्तिका लागि लाभाको बी-८ मोबाइलको मूल्य ७ हजार तीनसय ५० रुपैयाँमात्र पर्छ। लाभाको मोबाइल बिक्री गर्दै आएको प्रिज्मा टेक्नोलोजीका बिक्रम साहले सस्तो मूल्यमा दुई सिमकार्ड राख्न मिल्ने र ब्राण्डेड फोनकै स्तरको भएको हुँदा लोकप्रिय हुँदै गएका हुन्।


 सामसङ र नोकियाको प्रवेश
मोबाइल सेटको बजार हिस्सामा संसारमै एक नम्बरमा नोकिया रहेको छ। यसका प्रमुख कार्यकारी अधिकृत स्टेफन इलोपले तीन वर्षअघि डबल सिमकार्ड लाग्ने चिनियाँ सेटप्रति व्यङग्य गर्दै भनेका थिए, 'नोकियाको आफ्नै विशेषता र बजार छ, यस्ता सस्ता योजनामा हामी छैनौं।'
त्यसको दुई वर्ष पनि नपुग्दै गत सेप्टेम्बरमा भारतमा डबल सिमका तीन सेट सार्वजनिक गर्दै इलोपले घोषणा गरे, 'भारत हाम्रो आम्दानी बढाउने एउटा सम्भावित ठूलो बजार हो।' नोकियाले डबल सिमअन्तर्गत भारतीय बजारमा २ हजार रुपैयाँ पनि नपर्ने एक्सवान-०१ मोडेल सार्वजनिक गरेको छ। मध्यमस्तरका उपभोक्ता लक्ष्य गरेर 'सिटु-०३' जस्ता टचस्त्रि्कन सेट पनि ल्याएको छ। विकसित देशमा स्मार्ट फोनमा एप्पलको आइफोन र सामसङ ग्यालेक्सीले बजार कब्जा गरेपछि नोकिया अहिले विकासोन्मुख देशमा स्थानीय मागअनुसार सामान्य र टचस्त्रि्कन सिरिजमा डबल सिमयुक्त सेटको बजार विस्तारमा लागेको छ।
बैंककमा गत साता भएको 'सामसङ फोरम २०१२' मा यो वर्ष दक्षिण एसियाली बजारमा ल्याउने मोबाइल सेट सार्वजनिक गरिएको थियो। जहाँ यो क्षेत्रका लागि डबल सिमकार्ड भएका सेटलाई विशेष महत्व दिइएको थियो। स्टार सिरिज, चाम्प, मेट्रोअन्तर्गत डबल सिम सार्वजनिक गरेको थियो। भारतीय बजारमा ३ हजार रुपैयाँ पर्ने यी सेट नेपालमा पनि छिट्टै भित्रिँदै छन्।
'दुवै जिएसएम सिम लाग्ने सेट निकै सस्तो भइसेकेका छन्,' सामसङका आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष मलहोत्रा भन्छन्।
नोकियाले नेपाली बजारमा डबल सिमकार्ड लाग्ने ६ मोडेलका सेट भिœयाइसकेको छ। नोकियाको आधिकारिक बिक्रेता नियोटेरिकको डिलर आइलाइफका अनुसार ३ हजार ३ सय ६० देखि ७ हजार १ सय ७० रुपैयाँमा डबल सिमकार्डवाला सेट नेपालमा बिक्री भइरहेको छ।
सिङ्गल सिमवाला सेटको खोलमा एक प्रकारको डिभाइस राखेर डबल सिमकार्ड राख्न मिल्ने बनाउने प्रविधि पनि नेपालमा आइसकेको छ। आइफोनका पारखीले यही डिभाइस जोडेर डबल सिम राख्ने बनाएका छन्।
३ हजार ५ सय रुपैयाँ खर्च गरेर आइफोनमा यस्तो डिभाइस राख्न सकिन्छ। ब्रान्डेड सेटमा अर्को चर्चित एलजीले पनि डबल सिमकार्ड राख्ने सेट ल्याइसकेको छ।
सेवा प्रदायकपिच्छे गुणस्तर र सेवा झन्डै समान रहेको अवस्थामा अहिले उपभोक्ताहरू तिनका सेवा प्रयोग गरिरहेका छन्। भविष्यमा कम्पनीपिच्छे गुणस्तर, प्रविधिमा आउने भिन्नताले सबैका सेवा मोबाइलमा चाख राख्नेले लिने पक्का छ। त्यसका लागि जति खल्ती त्यत्ति मोबाइल सेट होइन, एउटै सेटमा सबैका सेवा लिन सक्ने प्रविधिले बजार लिनेछ। हिजोका दिनमा डुअल सिमकार्डलाई चासो नदिने नोकियासमेत आक्रामक रूपमा आइरहेको समयमा अबको समय भनेको यस्ता मल्टिसिमकार्डयुक्त सेटकै हो। सस्तो भइकन पनि प्रविधिमैत्री यी सेटले नेपालमा बजार लिने भएकाले सबै कम्पनी त्यतातिर केन्द्रित छन्।

प्रकाशित: १५ चैत्र २०६८ २३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App