२६ असार २०८२ बिहीबार
image/svg+xml
प्रविधि

ड्रोनले बदलेको युद्धशैली

युक्रेनदेखि इरानसम्म भएका युद्धहरूमा मानवरहित विमानले आधुनिक युद्धलाई छिटोछिटो सक्न र क्रान्तिकारी बनाउन भूमिका खेलिरहेका छन्। र, यी मानवरहित विमानको नाम ड्रोन हो। यसको एक झल्को ‘अपरेसन स्पाइडरवेब’ले दिएको थियो।

गएको महिना युक्रेनबाट ट्रकमा तस्करी गरी रुस पु¥याइएका ड्रोनहरूले यति निर्मम आक्रमण गरे कि रुसभरिका पाँच वायु सेनाको आधार शिविरले कहिल्यै नदेखेको विनाश देख्नुपर्‍यो। युक्रेनको यस किसिमको सफल अपरेसनले के प्रस्ट पार्‍यो भने युक्रेनजस्तो देशले रुसजस्तो शक्तिसम्पन्न मुलुकलाई यसरी हरबर खेलाउन पनि सक्छ। यसले पश्चिमा मुलुकलाई आश्चर्यमा पार्‍यो। रोचक त गएको साता इजरायलले पनि आफ्ना हतियार र खासगरी ड्रोनलाई इराक हुँदै इरानभित्र तस्करी गरी पुर्‍यायो। र, ऐनवक्तमा इरानलाई चकित पार्दै आक्रमण गर्‍यो। यस्तो युद्ध कौशल यदि रुस र चीनले प्रयोग गरे भने के हुन्छ? अर्थात् चीन वा रुसबाट तस्करी गर्दै पश्चिमा मुलुकमा घातक ड्रोनहरू पुर्‍याउने र ती ड्रोनलाई आफ्नो आवश्यकताका बेला घातक रूपमा प्रहार गरे के हुन्छ ?

हालै केही सैन्य विश्लेषकहरूले अमेरिकी सैन्य आधार रहेका कयौं ठाउँको छेउमा चिनियाँ कम्पनीले ठूलो मात्रामा कृषि कार्यका लागि जमिन किनिरहेका छन्। के थाहा, त्यहाँ ड्रोनको खेती पनि त भइरहेको हुन सक्छ नि! यो चिन्ताका कारण डेनमार्क, जर्मनी र बेलायतका सैन्य आधार र विमानस्थल नजिकै ड्रोनहरू पनि देखिएको रिपोर्ट आउन थालेका छन्। त्यसैले पनि पश्चिमा मुलुकहरू ड्रोनका मामिलामा गम्भीर हुन थालेका छन्।

युक्रेनले रुसविरुद्धको युद्धमा अधिकांशतः ड्रोन प्रयोगलाई नै महत्त्व दिइरहेको छ। उसले ८० प्रतिशत आक्रमण ड्रोनबाटै गरेको छ। ड्रोनले ८० हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेर रुसीहरूलाई आच्छुआच्छु पारेको छ। ती ड्रोनलाई एआईबाट निर्देशन दिइन्छ। ती निर्देशन यति सटिक थिए कि रुसभित्रै छिरेर ड्रोनहरूले विनाशकारी आक्रमण गर्न सफल भए। ठिक यस्तै आक्रमण इजरायलले इरानमा गरेको थियो। ड्रोन सस्तो र सजिलै आवश्यकताअनुसार परिवर्तन गर्न सकिने हुनाले आधुनिक युद्धमा यसले क्रान्तिकारी भूमिका खेल्दैछ। यसले संसारका शक्तिशाली सेनालाई पनि हरबर खेलाउन सक्छ।

त्यसो त, मानवरहित यस्ता रिमोट नियन्त्रित विमानहरू अमेरिकी सेनाले भियतनामदेखि नै प्रयोग नगरेको होइन। तर वास्तविक ड्रोनको पहिलो आक्रमण २००१ मा गरिएको मानिन्छ। ती अमेरिकी फिक्स्ड–विङ युएभी (अनम्यान्ड एभिएसन भेहिकल)हरूको क्षमता चाहिँ मिसाइलसमेत प्रहार गर्न सक्थ्यो। अफगानिस्तान र पाकिस्तानका कतिपय क्षेत्रमा अमेरिकी सेनाले त्यो बेला नै तालिबान र अलकायदाका तालिम केन्द्रहरूमा युएभीबाट आक्रमण गरी सफल प्रयोग गरेको थियो। पछि यही कुरालाई टर्कीले पनि नक्कल गर्‍यो। उसले बनाएका कयौं मोपेड ड्रोनहरूलाई रुसले किनेर युक्रेनविरुद्ध प्रयोग गरिरहेको छ।

युद्धका क्रममा अहिले बढीजसो चल्तीमा रहेका युएभी छन्। ती साना आकारका छन्। यसमा चारदेखि आठ वटा पंखा हुन्छन्। तिनमा एउटा क्यामेरा जडान गरिएको हुन्छ। कुनै अलग्गै आधार शिविरमा बसीबसी सेनाले चश्मा लगाएर यसलाई नियन्त्रण गर्ने र प्रहार गर्न सक्छ। यस्ता ड्रोनले अप्ठेरा ठाउँमा सेनालाई आवश्यक पर्ने खानादेखि अन्य आपूर्ति पनि गरिरहेका छन्।

यो सजिलोका कारण युद्ध गर्ने शैली नै परिवर्तन भइसकेको छ। ड्रोन र युएभीको प्रयोगले युद्ध पहिलेभन्दा अझ बढी खतरनाक हुन पुगेको छ। युक्रेन–रुस युद्ध सुरु हुँदा यसका पहिलो दुई वर्षको तुलनामा पछिल्लो एक वर्ष निकै घातक युद्धमा परिणत भएको छ। चार सय डलर मूल्यको ड्रोनले २० लाख डलर मूल्यको ट्याङ्कलाई ध्वस्त बनाउन थालेको छ।

युद्धभूमिलाई ड्रोनले पारदर्शी बनाइदिएको छ। माथि आकाशमा उडिरहेको ड्रोनले कुुन पक्षले कहाँ सैन्य र गाडीहरू भेला पारिरहेको छ भनी तत्काल सूचना दिन सक्ने भएकाले अचेल हुने युद्धमा ठूलो समूह र गाडीहरूको लस्करभन्दा पनि साना साना समूह बनाएर आक्रमण गर्ने शैली अवलम्बन गर्न थालिएको छ।

अचेल युक्रेनीहरू महिनौंसम्म बंकरमा बस्ने र तिनलाई ड्रोनले खाना पु¥याइदिने गरेको छ। ड्रोनका कारण युद्ध अब ‘खेल’मा परिणत भइसकेको छ। हुँदाहुँदा अब समुद्रमा लडिने युद्धमा पनि परिवर्तन आइसकेको छ। केही समयअघि युक्रेनी समुद्री ड्रोनहरूको आक्रमणले रूसी जहाजहरूलाई पश्चिमी ब्ल्याक सी (कृष्ण सागर)बाट फिर्ता लैजानुपरेको थियो।

ड्रोनहरू समयसँगै झन् भन्दा झन् घातक हुन थालेपछि त्यसबाट कसरी जोगिने भन्ने खोजी पनि हुन थालेको छ। अहिलेसम्म ड्रोनबाट जोगिन अलि गाह्रै छ। एन्टीड्रोन मिसाइलहरू दागेर तिनलाई झार्न सकिन्छ तर हाललाई यो विधि धेरै महँगो छ।

अचेल रुस र युक्रेन दुवै पक्षले लेजर हतियारहरूबाट ड्रोन खसाल्ने परीक्षण गरिरहेका छन् तर यो प्रविधि पनि प्रारम्भिक चरणमा नै छ। लडाइँको अग्रमोर्चामा ड्रोन झार्न सैनिकहरूले सटगन बोक्ने गरेका छन् तर तिनलाई झार्न पनि गाह्रो छ। सैनिकहरूले सटगन हान्ने तयारी गर्दैगर्दा ड्रोनले बिताइसक्छ। ड्रोनबाट लुक्न अहिले ‘कोप केज’ भनिने स्टिलको ग्रिड राख्ने गरिएको छ।

त्यस्तै युएभीहरू रेडियो सिग्नलबाट सञ्चालित हुने हुनाले ती रेडियो सिग्नललाई जाम गरेर निष्क्रिय पार्न सकिने देखिएको छ। गएको वर्षको अन्त्यसम्म ७५ प्रतिशत ड्रोनलाई यस्तै रेडियो फ्रिक्वेन्सी र संकेतहरूलाई जाम पारी ध्वस्त पारिएको थियो। त्यसैले अचेल फाइबर अप्टिक ड्रोनहरू बनाउन थालिएको छ।

अचेल फाइबर अप्टिक ड्रोन (एफओडी)लाई जाम गर्न सकिँदैन। तिनले जुन तस्बिर खिचेर पठाउँछन्, ती निकै प्रस्ट पनि हुन्छन्। फाइबर अप्टिक केबुलमार्फत तिनलाई पठाइने हुनाले अचेल रुसी र युक्रेनी दुवै सेनाले केबुलको स्रोत कहाँ छ भनी खोज्ने काम गर्न थालेका छन्। यी एफओडीको नकारात्मक पक्ष भनेको यी दुई किलोमिटरभन्दा पर जान सक्तैनन्। यसका तारहरू रुख र बिजुलीको तारमा ठोक्किन वा अल्झिन सक्छन्। तापनि हाललाई प्रयोगकै क्रममा भएकाले यसलाई निकै प्रभावकारी मानिँदैछ।

उसो भए यो ड्रोन युद्ध कसले जित्दैछ त? विशेषज्ञ भन्छन्, सुरुवाती चरणमा यस्तो युद्ध युक्रेनले जितिरहेको हो कि भन्ने लाग्थ्यो। युक्रेनले सन् २०२४ मा २२ लाख ड्रोनहरू उत्पादन गरेको थियो। सन् २०२५ मा ४५ लाख उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसैले युक्रेनलाई ड्रोन महाशक्ति भएको मानिन्थ्यो। त्यसमाथि रुसभित्रै छिरेर घातक आक्रमण गरेका कारण पनि उसलाई वाहवाही गरिँदै थियो। तर अहिले रुसले चीनको सहयोगबाट युक्रेन जत्तिकै ड्रोनहरू उत्पादन गर्न थालेको छ। युक्रेनले प्रतिदिन एक सय वटा लामो दुरीको ड्रोनहरू उत्पादन गरिरहेको थियो। रुसले भने तीन सय वटा उतपादन गरिरहेको छ। रुस इलेक्ट्रोनिक युद्ध र फाइबर अप्टिक्स दुवैमा अगाडि बढिरहेको छ।

के उसो भए भविष्यको युद्धको विजय ड्रोनले निश्चित गर्ने हो त ? भन्ने चर्चा पनि चल्न थालेको छ। यो सस्तो, सर्वव्यापी र एकैपटक प्रयोग गर्न मिल्ने मात्र होइन, सस्तो र प्रभावशाली भएका कारण यी ड्रोनहरू अति महँगा हतियारहरू ट्यांक, जेटलगायतका विकल्पका रूपमा उदाइरहेको छ। त्यसैले पनि विभिन्न देशका रक्षा विभागले ड्रोनमा ठुलो लगानी गरिरहेका छन्।

ड्रोन युद्धको त यो सुरुवाती चरण मात्र हो। यो युद्ध परिष्कृत हुँदै जाँदा अझ घातक र प्रभावशाली हुँदै जानेछन्। अहिले तिनलाई कति प्रभावकारी बनाउने भनेर युद्धभूमिमा प्रयोग भइरहेकाले आउँदो परिदृश्यमा नजर राख्दै विकसित मुलुकहरूले यसमाथि ठुलो लगानी गरिरहेका छन्।

संसारभर धेरै ड्रोन उत्पादकमा अहिले नै चीनले सबैलाई उछिनिसकेको छ। त्यसै पनि चीनले दुर्लभ खनिज पदार्थमा नियन्त्रण जमाएका कारण लिथियम आयन ब्याट्री, फाइबर अप्टिक्स र इलेक्ट्रिक मोटर उत्पादन गर्न उसलाई सजिलो छ।

समग्रमा अबको युद्ध साना आकारका ड्रोनले नियन्त्रण गर्ने दिन आउँदैछ। र, यसलाई बनाउने कच्चा पदार्थमा चीनको पहुँच निकै सशक्त छ। त्यसैले पश्चिमा मुलुकहरू घातक हुँदै जान थालेका ड्रोनबाट चिन्तित हुन थालेका छन्।

(विभिन्न एजेन्सीको सहयोगबाट)

प्रकाशित: १४ असार २०८२ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App