एक दशकअघि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल रिटर्न’ आज पनि युवा पुस्तामाझ उत्तिकै लोकप्रिय छ। यही चलचित्रमार्फत दर्शकमाझ चिनिएका कलाकारमध्ये एक हुन् अभय राज बराल। ‘कुमार’ पात्रमार्फत उनले दर्शकको मन जितेका थिए।
विदेश जाने योजना बनाएर पनि अन्ततः नेपाली चलचित्र उद्योगलाई नै कर्मथलो बनाएका बराल अहिले अभिनय, लेखन र निर्माणमा सक्रिय छन्। चलचित्र विषयमा अध्ययन गरेका उनी २० वर्षको उमेरदेखि नाटकमार्फत अभिनय यात्रामा लागेका थिए। चलचित्र ‘लुट’ मा छोटो भूमिकामा देखिएका बरालले आफ्नो औपचारिक डेब्यु भने ‘अध्याय’ बाट भएको मान्छन्।
हाल उनी अभिनीत चलचित्र ‘लालीबजार’ प्रदर्शनको तयारीमा छ। बरालले अभिनयय गरेको चलचित्र ‘झिंगेदाउ २’ र ‘पोखरेली मसिनो’ यस वर्ष प्रदर्शनको तयारीमा छन्। उनी लेखन तथा निर्माणमा पनि उत्तिकै व्यस्त छन्। प्रस्तुत छ, कलाकार अभय राज बरालसँग नागरिककर्मी अमृता कुशवाहाले गरेको कुराकानीको सम्पादित अंशः
अभिनय यात्रा कस्तो रह्यो ? यसलाई कसरी सम्झनुहुन्छ ?
मलाई सानैदेखि अभिनयमा रुचि थियो। स्नातक पढ्दै गर्दा २० वर्षको उमेरदेखि नाटकमा काम गर्न थालेँ। चलचित्र ‘लुट’ मा मेरो सानो भूमिका थियो। त्यसपछि ‘अध्याय’ बाट अभिनय यात्रा औपचारिक रूपमा सुरु भयो।
मेरो तेस्रो चलचित्र ‘होस्टेल रिटर्न’ थियो, जसले मलाई लोकप्रियता दियो। त्यसपछि विभिन्न चलचित्रमा काम गर्ने अवसर पाएँ। अहिले मेरो अभिनय रहेको चलचित्र ‘लालीबजार’ प्रदर्शनको तयारीमा छ।
दर्शकले तपाईंलाई कसरी चिनून् भन्ने चाहनुहुन्छ ?
मलाई केवल कलाकारका रूपमा मात्र होइन, चलचित्रलाई माया गर्ने, चलचित्र पढेको, अभिनयसँगै लेखन, निर्माण र समग्र प्रक्रियामा काम गर्ने व्यक्तिका रूपमा चिनून् भन्ने चाहना छ। म सिर्जनालाई चलचित्रमार्फत अभिव्यक्त गर्ने मान्छे हुँ।

‘होस्टेल रिटर्न’ देखि ‘लालीबजार’ सम्म आउँदा आफूलाई कसरी चिनाउने प्रयास गर्नुभयो ?
‘होस्टेल रिटर्न’ पछि साथीहरूले मलाई हास्य कलाकारका रूपमा लिन थाले। मलाई पर्दामा देख्नेबित्तिकै हाँसो उठ्छ भन्ने प्रतिक्रिया आउँथ्यो। उनीहरूले म कमेडी गर्न सक्छु भनेर हौसला पनि दिए।
‘होस्टेल रिटर्न’ को करिब १० वर्षपछि म फेरि स्वस्तिमा खड्कासँग ‘लालीबजार’ मा देखिँदैछु। रोचक कुरा के छ भने ‘होस्टेल रिटर्न’ को छायांकन भाइटिकाको दिन सकिएको थियो। यसपटक ‘लालीबजार’ मा मेरो र स्वस्तिमाको दृश्य पनि भाइटिकाकै दिनबाट सुरु भयो। जहाँबाट यात्रा सकिएको थियो, त्यहीँबाट फेरि सुरु भएको जस्तो लाग्यो। ‘होस्टेल रिटर्न’ हिट भएको थियो, ‘लालीबजार’ पनि सफल हुन्छ भन्ने आशा छ।
‘लालीबजार’ रिलिजअघि रोकिँदा कस्तो लाग्यो ?
वादी समुदायका केही विषयलाई लिएर विवाद उठ्यो। हामीले कुनै पनि समुदाय वा जातिलाई सम्मानजनक ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छौँ। हरेक शब्द र दृश्य निकै ध्यान दिएर राखेका छौँ।
चलचित्र सेन्सर पास भइसकेपछि पनि अदालतबाट रोक लगाइँदा चिन्ता लागेको छ। सिर्जनालाई यसरी रोकिनु परिपक्व निर्णय जस्तो लाग्दैन। स्वतन्त्रता भाषणमा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ। राज्यले विधि बनाओस्, तर सिर्जनालाई सम्मान गर्नुपर्छ।
राज्य प्रणालीको कमजोरी कसरी ?
सम्बन्धित निकायले अनुमति दिएको चलचित्र फेरि रोकिनु भनेको प्रणालीमै कमजोरी देखिनु हो।
‘लालीबजार’ रोकिँदा व्यक्तिगत रूपमा कस्तो असर पर्यो ?
आफूले मेहनत गरेर बनाएको सिर्जना बाहिर नआउँदा मानसिक तनाव त हुन्छ नै। हामी सबैले यो उद्योग धानेका छौँ, तर सरकारले यो क्षेत्रलाई महत्व नदिएको जस्तो लाग्छ।
कहिलेकाहीँ लाग्छ, मैले यो क्षेत्रमा देखेको सपना पूरा हुन्छ कि हुँदैन ? तर मेरो मन भने यही क्षेत्रमा छ।
सिर्जनाको इज्जत भनेर के कुरालाई संकेत गर्नुभएको ?
संसारभर सिनेमा बन्छन्। संवेदनशील विषय भए काटछाँट पनि हुन्छ। त्यो प्रक्रिया ठीक हो। तर बिना स्पष्ट कारण रोक्नु अपरिपक्वता हो।
जब सिर्जनाले इज्जत पाउँछ, तब मात्रै सरकार, जनता र देशले पनि इज्जत पाउँछन्।
कलाकारबारे आउने गसिपलाई कसरी लिनुहुन्छ ? तपाईंमाथि पनि आएको छ ?
पहिले गसिप के हो भन्ने पनि थाहा थिएन। पछि वास्तविकतासँग मेल नखाने कुरा सुनियो। त्यस्ता कुरा सुन्दा हाँसो लाग्छ। म धेरै ध्यान दिन्नँ।
नयाँ पुस्ताले चलचित्र क्षेत्रमा आउन के गर्नुपर्ला ?
नेपालको चलचित्र क्षेत्रले लामो इतिहास बोकेको छ। धेरैले यहाँ सपना देखेका छन्। नयाँ पुस्तालाई मेरो सुझाव-पहिले यो क्षेत्रलाई बुझेर आउनुहोस्।
केवल पर्दामा देखिने, चर्चित हुने वा क्षणिक रमाइलोका लागि मात्र होइन, योगदान दिने सोचका साथ सिकेर आउनुपर्छ।
मनोरञ्जन उद्योगको विकासका लागि कसको के भूमिका हुन्छ ?
मानिसको जीवनमा मनोरञ्जन अत्यावश्यक छ। २४ घण्टामध्ये काम, विश्राम र मनोरञ्जन । तीनै पक्ष महत्त्वपूर्ण छन्। नाचगान, चलचित्र, खेलकुद, सामाजिक सञ्जाल सबै मनोरञ्जनका माध्यम हुन्।
खुसी रहन पनि मानिसलाई मनोरञ्जन चाहिन्छ। त्यसैले यो उद्योगमा समाज, दर्शक र राज्य सबैको लगानी आवश्यक छ।
दर्शकलाई तपाईंको सन्देश ?
‘लालीबजार’ केही समयका लागि रोकिए पनि पछि अवश्य हेर्नुहोस्। नेपाली चलचित्र कुनै समुदायलाई चोट पुर्याउने उद्देश्यले बन्दैन।
म कुनै व्यक्ति वा समुदायलाई अपमान गर्ने चलचित्रमा काम गर्दिनँ। म सधैँ सकारात्मक सन्देश दिने चलचित्रमा काम गर्न चाहन्छु। यही उद्योगमा जीवन बिताउने मेरो चाहना छ।
प्रकाशित: १७ वैशाख २०८३ २०:२७ बिहीबार





